|

सल्यान : धेरै पढेर डाक्टर, इन्जिनियर र अधिकृत बन्नुपर्छ भनेर गाउँघरदेखि शहर बजारसम्म अभिभावकले आफ्ना छोराछोरीलाई भन्ने गर्छन्। कतिपय शिक्षित भनिएकाहरू स्वरोजगार हुनेभन्दा विदेशमा गएर तल्लो स्तरको काम गर्न तयार हुन्छन्।

तर यसबीचमा यस्ता युवा पनि छन् जसले स्नातकोत्तरसम्म पढेर पनि मूर्ति बनाउने पेशालाई निरन्तरता दिएर मनग्ये आम्दानी गरी रहेका छन्।

सल्यानको बागचौर नगरपालिका ९ मा जन्मिएका टोपेन्द्र डाँगीले मूर्ति बनाउने पेशालाई व्यावसायिक बनाएका छन्। सरस्वती पूजाका बेला उनलाई मूर्ति बनाउन र शिलालेख बनाउन भ्याइ-नभ्याई छ। जिल्लामा शिलालेख लेख्ने उनी एक मात्र मूर्तिकार हुन्। बागचौरमा उनले टोपेन्द्र कला केन्द्र खोली काम गर्दै आइरहेका छन्। 

मासिक ५० हजार आम्दानी 

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट स्नातकोत्तर गरेका डाँगीले मूर्ति र शिलालेखबाट मासिक ५० हजारभन्दा बढी आम्दानी गर्दै आइरहेका छन्। उनले भने, 'सल्यानमा मूर्ति र शिलालेख बनाउने म मात्रै हो। विभिन्न विद्यालय सार्वजनिक स्थलमा मूर्ति बनाउन धेरै ठाउँबाट माग हुने गरेको छ।' 

बिहान ७ बजेदेखि राति अबेरसम्म मूर्ति बनाउनमै व्यस्त रहने गरेको उनले बताए। आफनो दैनिकी अधिकांश समय मूर्ति बनाउनमै जाने गरेको उनको भनाइ छ। मूर्ति, आर्ट र शिलालेखबाट सबै खर्च कटाएर वार्षिक ६ लाख बढी हुने गरेको बताउँदै उनले एउटा मूर्ति १५ हजारदेखि ५० हजारसम्म बिक्री हुने गरेको बताए। उनले भने, 'मूर्तिको साइजअनुसार १५ हजारदेखि ५० हजारसम्म बिक्री गर्दै आइरहेको छु।' 

दुईजनालाई रोजगारी 

स्वदेशमा रोजगारी नपाएको भन्दै धेरै युवा विदेश पलायन भइरहेको अवस्थामा डाँगीले दुई जनालाई रोजगारी दिएका छन्। आफू स्वरोजगार हुनुका साथै दुई जनालाई रोजगारी दिएको उनको भनाइ छ।

पेसा व्यवसाय सानो ठूलो नहुने बताउँदै उनले सामान्य खालको पेसा व्यवसायबाट पनि मनग्य आम्दानी गर्न सकिने उनको भनाइ छ। विदेशमा गएर श्रम खर्च गर्नुभन्दा आफ्नो सीप कला स्वदेशमै प्रयोग गर्न सके बेरोजगार भएर भौतारिनु नपर्ने डाँगीको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.