त्यो को हो जो आफू मरेर पनि जीवित छ?
त्यो को हो जो अब फेरि जन्म मृत्युको चक्करमा हुने छैन?
त्यो त मेरा लागि, मेरो देशका लागि
शहादत दिएको शहीद हो जो मभित्रै जीवित छ
जो व्योमविहारबाट नेपालको रक्षा गरिरहेको छ
भन्न त भनियो ऊ छैन तर
ऊ कहाँ गएको छ र?
किनभने ऊ हामीभित्रै जीवित छ
ऊ मेरो माटोको सुवास हो
ऊ मेरो वनको बास्नादार फूल हो
ऊ त्यो साना साना बालकको तोते बोलीमा बोल्छ
ऊ ती वैज्ञानिकहरूको खोजीमा देखिन्छ
ऊ त्यो सगरमाथाको चुचुरोमा बसेर नेपालको चियो गर्छ
अनि नेपालको भलोमात्र चाहने कल्पना गर्नेलाई प्रेरणा दिन्छ
हो ऊ त्यही शहीद हो जो म, तिमी, तपाईं र हामीभित्र नेपाल भएर बाँच्छ
यो देशको स्वतन्त्रता-जसको ऊ नै पूजारी हो र कर्ता हो
यो देशको प्रजातन्त्र-जसको मुख्य लक्ष्यमा स्थापना भएको थियो
यो देशको विकास-जसको कल्पनामा अमिट छाप रहेको थियो
र त ऊ त्यही सपना साकार गराउन
निर्भयताका साथ शहादत दिन लालायीत भएको थियो
अनि ऊ निःस्वार्थ यो माटोका रक्षाका लागि
यो माटोका सुरक्षाका लागि
यहाँका जनताको भविष्यका लागि अगाडि बढ्यो निडर भएर
त्यसपछि ऊ मेरो देशको शहीद भयो
भन्दछन्-८४ लाख योनी घुमेर मात्र मानव चोला पाइन्छ
भन्दछन्-त्यस्तो मानव जीवनलाई पनि मानवता र मुलुकका लागि न्यौछावर गर्ने
महामानव नै त शहीद कहलाउँछन्
हे शहीदहरू हो-वर्षमा एकदिनमात्र तिमीहरुलाई सम्झेका होइनौँ
हामी त सधैँ तिमीलाई सम्झेरमात्र आफ्नो दिनको सुरुवात गर्छौँ
तिमीलाई सम्झेरमात्र जीवनको महत्वलाई पानीको फोका भन्दा पनि
मुलुकको लागि कसरी समर्पण गर्न सकिन्छ भनेर
प्रेरणाको श्रोत मानेका छौँ त्याग र तपस्याको प्रतिमूर्तिका रूपमा
ती शहीदहरूलाई सलाम छ
नमस्कार छ, लाख लाखपटक
जसले जीवनको बलिदान दिएर
फेरि अमर जीवन बाँच्न सकेका छन्
ती शहीदहरूलाई सलाम छ
ती शहीदहरूलाई फेरि पनि सलाम छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।