|

बुटवल : प्रदेश ५ सरकारले आगामी वैशाख ५ गते रुपन्देहीमा लगानी सम्मेलनको आयोजना गर्दै छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको तर्फबाट पेस भएको लगानी सम्मेलनको अवधारणा पत्र स्वीकृत गर्दै लगानी सम्मेलन आउने बैशाख ५ गतेका लागि तय गरेको हो।

प्रदेशको दिगो विकासको लक्ष्यसहितको समग्र आर्थिक विकासका लागि आवश्यक श्रोतको पहिचान तथा परिचालन गर्न लगानी सम्मेलनको आयोजना गरिएको प्रवक्ता चौधरीले बताएका थिए। नीजि क्षेत्रको सहभागितालाई बढाई आवश्यक लगानीको स्रोत सुनिश्चित गर्नु लगानी सम्मेलनको उद्देश्य रहेको उनको भनाइ थियो।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गर्ने सम्मेलनमा स्वदेशी, विदेशी लगानीकर्ता, नेपाल सरकारका सरोकारवाला निकाय तथा प्रतिनिधि, निजी क्षेत्रका छाता संगठनहरु, विकास साझेदार संस्थाका प्रतिनिधिहरू, गैरआवासीय नेपालीहरू, विषय विज्ञहरू, जनप्रतिनिधिलगायतलाई सहभागी रहने छन्।

लगानी सम्मेलनलाई व्यवस्थित गर्न मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलको संयोजकत्वमा निर्देशक समिति गठन भएको छ। मूल समितिमा सबै मन्त्री, प्रमुख सचिव, योजना आयोगका उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष, नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका प्रदेश अध्यक्ष, घरेलु तथा साना उद्योग महासंघका प्रदेश अध्यक्ष सदस्य रहका छन् भने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य सचिव रहेका छन्।

साथै बैठकले लगानी सम्मेलन व्यवस्थापन तथा सहजीकरण गर्नका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको संयोजकत्वमा प्रमुख सचिव, मन्त्रालयका सचिवहरू, प्रदेश योजना आयोगका सदस्यसमेत सदस्य र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य सचिव रहेको उपसमिति बनाएको छ। 

त्यस्तै, भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीका संयोजकत्वमा परियोजना तयारी समिति गठन पनि गरेको छ। जसको सदस्यमा प्रदेश योजना आयोगका उपाध्यक्ष, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना आयोगका सचिव, निजी क्षेत्रका प्रदेश स्तरीय प्रतिनिधिहरू रहनेछन्। प्रदेश योजना आयोगका सदस्यहरु सदस्य सचिव रहने छन्। यो समितिले लगानी सम्मेलनमा योग्य परियोजनाहरु छनौट गरि ‘प्रोजेक्ट बैंक’को निर्माण गर्ने प्रवक्ता चौधरीले जानकारी दिएका थिए।

लगानी सम्मेलनको प्रचारप्रसार गर्नका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रीको संयोजकत्वमा मुख्यमन्त्रीका प्रेस सल्लाहकार, पत्रकार महासंघका प्रदेश अध्यक्ष, राष्ट्रिय समाचार समितिका प्रदेश प्रमुख र सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक सदस्य रहेको प्रचार प्रसार समिति गठन भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.