सपना पूरा भए मात्र शहीदको सम्मान

|

हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए

बन्दैन मुलुक  दुईचार सपूत मरेर नगए…

कवि भूपि शेरचनको कवितामा भनेजस्तै दिनहुँ नभका नक्षत्रहरू झरेर सूर्यको दीपकको पर्दापणसहित मुलुक निर्माणका खातिर हरेक ऐतिहासिक कालखण्डमा नेपाली वीर सपूतहरूले आफ्नो ज्यानको उत्सर्ग गरेका छन्।

आफ्नो व्‍यक्तिगत जीवन, परिवार र समग्रमा आफ्नै ज्यानलाई शूलमा अड्याएर स्वतन्त्रता, समानता र सार्वभौमिकताका निम्ति अविचलित यात्रामा संघर्ष गर्दागर्दै आफ्नो देहत्यागेको  सम्मान र सम्झनाको दिन हो माघ १६।

 नेपालका प्रथम शहीद लखन थापासहित गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द ठाकुरलाई प्रजातन्त्रको पक्षमा वकालत गरी जनतामा भ्रम छरेको अभियोगमा टेकुको शुक्र वृक्ष, सिफलको रूख, खरीको रूख, शोभाभगवती लगायतका स्थानहरूमा निर्ममतापूर्वक हत्या गरिएको थियो ।

शहीद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदानी भएर लोकहितका निम्ति आफ्नो जीवन समर्पण गरेका इतिहासको पानामा र प्रत्येक देशभक्त नगरिककको मन – मनमा  बस्न सफल अमर ब्यक्तिहरूलाइ बुझिन्छ, शहीद शब्द आफैमा गौरवपुर्ण ईतिहास बोकेको देशको स्वाधीनता, अखण्डता एवं लोकतन्त्रका लागि आत्मबलिदान गर्ने वीरत्व गुणयुक्त साथै शहीद आत्मत्सर्ग, निष्ठा, आदर्श, चेतना, बिरता, साहास र समर्पण जस्ता गुण र ती अनुसारका कर्मको पर्यायवाची शब्द हो। 

शहीदको सम्मानका लागि माल्यार्पण र मौनधारणले मात्र पुग्दैन। शहीदको सम्मान तब हुन्छ जब उनीहरूले देखेको सपना पूरा हुन्छ। तर, सबैलाई ज्ञान छ हाम्रो देश शहीदका सपनाअनुसार परिवर्तन हुन सकेको छैन,

सर्वप्रथम मुलुकमा समुल परिवर्तन ल्याउनका लागि भाबी पुस्ता र देशको समग्र सकारात्मक आयाम बदल्नको निम्ति आफ्नो जीवनको कुर्वानी गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरूप्रति हार्दिक सम्मान र नमन छ।

नेपालको प्रजातान्त्रिक इतिहास अनि राणा शासनकाविरुद्ध प्रजातन्त्र बहालीका निम्ति थुप्रै शहीदहरूले बलिदानी दिएका छन्।

२००७ सालमा आएको प्रजातन्त्रपछि पुन: निर्दलीय व्‍वस्थालगायत ०३६ सालको जनमत संग्रह, ०४६ सालमा भएको संवैधानिक राजतन्त्र अनि बहुदलीय प्रजातन्त्रको पुनःस्थापना हुँदै ०६२/०६३

सालको जनयुद्धको समाप्तीसम्म आइपुग्दा नेपाल आमाका धेरै सन्तानहरू शहीद भएका छन्। सरकारले ०६७ असार ९ गते शान्ति तथा पुन: स्थापना मन्त्रालयको सिफारिसमा  (एक हजार छ सय उन्नाईस) १,६१९० जनालाई शहीद घोषणा गरेको थियो।

त्यसपछि विभिन्न कालखण्डमा भएका सशस्त्र  अनि हिंसाको फेरिहस्त लामो छ, अझै पनि धेरै नेपालीहरू बेपत्ता पारिएको सूचीमा छन्। पछिल्लोपटक विभिन्न झै–झगडा  र दुर्घटनामा ज्यान गुमाएका व्‍यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र १० लाख रुपैयाँ आर्थिक सहयोगका लागि दबाब दिने प्रचलन बढेको छ। यसले वास्तविक शहीदको भावनामा ठेस पुगेको छ, शहीदप्रति अपमान भएको छ।

 शहीद दिवस र सप्ताहमा आयोजना हुने विविध कार्यक्रमहरूमा हामी शहीद र बेपत्ता योद्धाहरूको सपना पुर  होस्, क्रान्ति पूरा होस् धोका नहोस्,जनताको सत्ता प्राप्ति होस्, नेपाली जनताले अधिकार पाऊन्। देश स्वाधीन बनोस् भनेर नि:सन्देह यी सम्पूर्ण साझा सुझावहरू छर्ने गर्छौं, यी सुझावहरू पूर्णतः सही भएता पनि यी सुझावहरूलाई प्राप्ति गर्ने मार्गमा हामी छौँ कि छैनौँ त्यो मूलकुरा हो।

हामीले भाषणमा शहीदका सपनालाई पूरा गर्छौ भनिरहँदा वास्तममा शहिदहरूका सपना के थिए? ती सपनाहरू अहिले कहाँ अल्मलिएका छन्? तिनीहरूलाइ पूरा गर्ने दायित्व बोध गर्न हामी कहानेर चुक्यौँ?

ती सपनालाई पूरा कसरी गर्न सकिन्छ? शहीदका सपनाहरू पूरा गर्ने बाटोमा थप शहीद भएकाहरूको योगदानको कहाँ र कति कदर भयो? सामजिक बनोटमा असमानता र विभेद कायम रहेको कुरा यथार्थ हुँदाहुँदै विपन्नता र पराधीनता किन हाम्रो नियति बनिरह्यो? यस्ता प्रश्नहरू आजको आवश्‍यकता हो।

मेरो विचारमा शहीदका सपनाहरू आजको पुँजीवादी, दलाल पुँजीवादी समाजलाई परिवर्तन गर्नु, देशमा नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद स्थापना गर्नु, जनतालाई अधिकार सम्पन्न बनाउनु, देशलाई स्वाधीन बनाउनु र विश्वका जनताका मुक्तिका निमित्त आन्दोलनलाई सहयोग पुर्‍याउनु हो।

शहीदको सम्मानका लागि माल्यार्पण र मौनधारणले मात्र पुग्दैन। शहीदको सम्मान तब हुन्छ जब उनीहरूले देखेको सपना पूरा हुन्छ। तर, सबैलाई ज्ञान छ हाम्रो देश शहीदका सपनाअनुसार परिवर्तन हुन सकेको छैन। आज पनि देशमा पुँजीवादी व्‍यवस्था चलाउन खोजिँदै छ शहीदको त्यागमा खरानी हुँदै गइरहेको प्रतिक्रियावादीहरू पुन: जीवित हुन खोज्दै छन्।

महान् शहीदको मुटु छिया–छिया हुनेगरी गोली लाग्‍नेहरू र क्रान्तिलाई आतंकवाद भन्नेहरू नै परिवर्तन, गणतन्त्र र समृद्धिको भाषण गरिरहेका छन्, जनतालाई उही सडेगलेको पुँजीवादी व्‍यवस्थाभित्र कैदी बनाएर अधिकार पाएको हल्ला फिजाइरहेका छन्।

हिजो दशक अगाडिका प्रायः विभेद, शोषण र दमन अत्याचारका विभिन्न रूपहरू जारी छन्, तिनीहरूले आजसम्म आइपुग्दासम्म साइज त बदले होलान् तर सोच बदलिएको छैन। त्यसैले आज शहीदलाई सम्झने प्रक्रियामै परिवर्तन गर्नेतर्फ सोच्न लाग्ने कि भन्नेहरूको बहुमत देखिन्छ।

जुन बेला जुन परिस्थितिमा जसले देशको उज्यालो पक्षको निम्ति ज्यान बाजी लगाए उनीहरूलाई राज्यले उचित रूपमा सम्झन जरुरी छ, उनका आश्रित परिवारलाई भरणपोषण, शिक्षादीक्षा र उनको योगदानको उचित मूल्यांकन गर्नु आजको आवश्‍यकता हो।

शहीदका सपनालाई साकार पार्ने जिम्मेवारी अब युवा पुस्ताको हो, वर्तमान सन्दर्भमा राष्ट्रियताको विषयमा भिन्नभिन्न खालका बहसहरू चलिरहँदा राष्ट्रिय प्रतिरक्षा नै देशभक्त नागरिकको उच्च अभिव्यक्ति हो, युवा पिढीको सबैभन्दा पवित्र जिम्मेवारी पनि हो।

अब युवा विद्यार्थीले आर्थिक किल्ला निर्माण गर्ने मेरुदण्ड बन्नुपर्छ, आर्थिक श्रम लाग्ने र कठिनाइका क्षेत्रमा स्वयंसेवी  भएर काम गर्न सक्ने ल्याकत राख्नुपर्दछ र उन्नत क्षेत्रमा नया उपलब्धि हासिल गर्नुपर्दछ।

२१ औँ शताब्दीको युवा पिढीले यस सच्चाईलाई उच्च सम्मानमा राख्‍नुपर्दछ, आफ्नो मातृभूमिका लागि आफ्नो युवावस्थालाई समर्पित गर्दै आफ्नो पुस्ताको जिम्मेवारीलाई इज्जतका साथ पूरा गर्न सशक्त तरिकाले राष्ट्रिय प्रतिरक्षाको अग्रमोर्चामा उभिनु नै शहीदप्रतिको उच्च सम्मान हो।

सरकारले गरेका राम्रा काममा पूर्ण समर्थन र साथ दिँदै नराम्रा र देशलाई हानि गर्ने निर्णयका विरुद्धमा आवाज बुलन्द गरेर पूर्णरूपमा सफल हुन नदिन युवापुस्ताले नै महत्वपूर्ण भूमिका निर्वाह गर्ने संकल्प गर्नुपर्दछ।

समृद्ध समाजवादी राष्ट्र निर्माण नै जनताको रगतको मूल्यमा रक्षित देशलाई अझ समुन्नत बनाउन र नेपाली जनताका सुन्दरतम आदर्शलाई यथार्थततामा रूपान्तरण गर्न संघर्षमा गौरवमय जोश प्रदर्शन गर्न वर्तमान युगका युवाको सबैभन्दा ठूलो सम्मान र गौरवको विषय पनि हो।

अब युवा विद्यार्थीले आर्थिक किल्ला निर्माण गर्ने मेरुदण्ड बन्नुपर्छ, आर्थिक श्रम लाग्ने र कठिनाइका क्षेत्रमा स्वयंसेवी  भएर काम गर्न सक्ने ल्याकत राख्नुपर्दछ र उन्नत क्षेत्रमा नया उपलब्धि हासिल गर्नुपर्दछ। राष्ट्रनिर्माणको क्रममा रहेका धेरै ठूला आकारका तथा प्रकृति पुनर्निर्माणका परियोजनाका क्षेत्रहरूमा पराक्रम देखाउनुपर्दछ।

 युवाहरूलाई स्वदेशमै विज्ञान र प्रविधिको तीव्रतम युगलाई समेत उछिन्ने र अगाडि  बड्न सक्ने सुनौलो अवसर र व्‍यवस्था राज्यले मिलाउनुपर्छ, आफ्नो सृजनात्मकता, बौद्यिकता तथा प्रतिभालाई पूर्णतामा विकास गर्ने युवा विज्ञान प्रविधिको अभियानमा लगाउनुपर्दछ।

हामी युवा विद्यार्थीहरू समुन्नत नेपालका स्तम्भहरू हौँ, हामीले वैज्ञानिक तथा प्राविधिक शक्ति तथा प्रतिभावान राष्ट्रको रूपमा देशको भविष्यलाई डोर्‍याउने कामको जिम्मा लिँदै उत्पादन, उद्धमशिलता  तथा विविध सामाजिक, राजनीतिक क्रियाकलापमा सक्रियताका सहभागी  हुनुपर्छ, सैद्धान्तिक  तथा व्‍यावहारिक क्षमता र बिल्कुलै सिपयुक्‍त क्रान्तिकारी श्रमिकको रूपमा आफूलाई तयार पार्नुपर्दछ।

 अन्त्यमा गणतन्त्र स्थापनाको निम्ति हाम्रा शहीदहरूका मार्गहरू अनुशरण गर्दै हजारौँ वीरंगनाहरूले ज्यानको आहूति त्यसै दिएका छैनन्, आजसम्म देशमा भएका राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणको श्रेय पूर्णत: शहीदहरूलाई जान्छ।

शहीदको सपना र समर्पणलाई हामीले कति साकार पार्यौँ र कति अधुरै छन् भन्ने हामी सबैले मनन गर्न जरुर छ, शहीदका परिवार अनि घरहरूको अवस्था दुरदराजमा कस्तो अवस्थामा छ? विचार गर्न जरुरी छ, शहीदको सङ्कल्पको छत्रछाया राज्यलाई सधैँ प्राप्त होस, शहीदका सपनालाई साकार पार्न युवापुस्ता अग्रपंक्तिमा रहेर देशप्रतिको आफ्नो जिम्मेवारीलाई इमानदारी पूरा गर्न कम्मर कसौं शहीदहरू एक कर्मठ देशभक्त नागरिकका लागि मर्यादा हुन्, विश्वास हुन्।

लेखक आचार्य (अनेरास्ववियू) की केन्द्रीय सदस्य हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.