|

रुकुम : सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा अघि सारेको छ। पर्यटन मन्त्रालयले २०२० को जनवरी १ मा काठमाडौंको दशरथ रंगशालासहित ७ वटै प्रदेशमा विशेष कार्यक्रमको आयोजना गरेर भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको छ।

आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि गरेर प्रचारप्रसार तथा दीर्घकालीन रूपमा आर्थिक समृद्धिको लक्ष्य राखिएको छ। यसअघि पनि नेपाल पर्यटन बोर्डलगायत विभिन्न निकायहरूले देशमा पर्यटक भित्र्याउन काम गरिरहेका थिए। तर, सन, २०२० लाई भ्रमण वर्षको रूपमा मनाएर नेपालको प्रचारप्रसार र धेरैभन्दा धेरै पर्यटक भित्र्याउन देशभर विभिन्न कार्यक्रमहरू भइरहेका छन्।

देशका विभिन्न ठाउँमा भएका पर्यटकीय क्षेत्रहरूको पहिचान गर्ने, प्रवर्द्धन गर्ने र प्रचारप्रचारको काम पनि व्‍यापक तरिकाले भइरहेको छ। जसअनुसार नयाँ जिल्ला रुकुम पूर्वका पर्यटकीय क्षेत्रबारे यहाँ चर्चा गरिएको छ।

सम्पदा र संस्कृतिको धनी

रुकुम पूर्व प्राकृतिक सम्पदा र कला संस्कृतिको धनी जिल्ला हो। सिस्ने हिमाल, पुथा हिमाल र गुप्ता ताल जस्तै ताल र तलैयाहरू छन्। यस्ता छन रुकुम पूर्वमा रहेका मुख्य मुख्य पर्यटकीयस्थल तथा सम्‍भावना :

कमल ताल :

एकाछेउमा मानवबस्ती, अर्को छेउमा बाक्लो जंगल, त्यसकै बीचमा ताल। त्यहीँबाट आँखैअघि देखिने धौलागिरि र काञ्जिरोवा हिमश्रृंखलाका हिमालहरू। पहिलोपल्ट जाने जो कोहीलाई पनि लाग्दो हो, दिनभर तालको सौन्दर्यसँगै रमाइरहूँ बसिरहूँ।

त्यति मात्र होइन तालको नीलो दृश्‍यसँगै कमल फूलको सौन्दर्य। दुर्लभ जडीबुटी कमल पाइने राप्तीको एक मात्र कमलताल पर्यटकीय महत्वका हिसाबले पनि निकै महत्वपूर्ण छ।

यो तालसँगै रुकुमको सबैभन्दा ठूलो देउराली गुफा पनि छ। वरपर आधादर्जन मठमन्दिर समेत रहेकाले पनि यो स्थान पर्यटकहरूको रोजाइमा छ। धार्मिक तथा पर्यटकीय दुवै हिसाबले महत्वपूर्ण मानिएको कमलतालमा विभिन्न जातका जलपन्छिहरूले डुबुल्की मारिरहेको हेर्दा पर्यटहरूलाई आनन्दित तुल्याउँछ।

२ किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यो ताल हाल सदरमुकाम रुकुमकोटमै पर्छ। काठमाडौं र नेपालगञ्ज लगायतका क्षेत्रबाट त्यहाँ पुग्न हवाई तथा अन्य यातायात सेवा उपलब्ध छ। हवाई सेवाको लागि रुकुम पशिचमको सदरमुकाम मुसिकोट भएर केही घण्टा गाडीको यात्रामार्फत त्यहाँ पुग्न सकिन्छ।

अहिले त गाडीबाट सल्यान रुकुम पश्चिम वा बाग्लुङ भएर पनि पुग्न सकिन्छ। तालवरपर बर्सेनि शिवरात्रि, चैते दशैँ, हरितालिका तिज, वडादशैँमा रमाइला कार्यक्रमहरू आयोजना हुने गर्छन्।

यो  तालमा कमल पाइने भएकाले तालमा नुहाएमा विभिन्न रोग निको हुने विश्वाससमेत गरिन्छ। जाडो समयमा आकर्षक प्रकृतिका तालमा घुमन्ते चराहरू आउने गरेको स्थानीय बासिन्दाहरूले बताएका छन्।

मिलेको मगर बस्ती :

मगर समुदायको संस्कृति, रहनसहन र पहिचान बुझ्न एकपटक पुग्नैपर्ने ठाउँ हो तकसेरा गाउँ। नयाँ जिल्ला बनेको रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा पर्छ यो गाउँ। यसअघि कोलमा रहेको गाउँपालिका केन्द्र नै अहिले तकसेरामा छ।

यो गाउँ जिल्लाकै प्रमुख पर्यटकीय गाउँको पहिचान कमाएको स्थान हो। प्राकृतिक सुन्दरतासँगै कृत्रिमरूपमा घरमा घर मिलेर बनेको बस्तीको दृश्‍य त्यहाँ पुग्ने जो कोहीलाई रमणीय लाग्‍ने गर्दछ। करिब ४ सय घरधुरी रहेको तकगाउँ मगर जातिको बाहुल्यता रहेको गाउँ हो।

यहाँका मानिसहरूको मुख्य पेसा भेडापालन र राडीपाखी बुन्ने र रोजगारीको लागि विदेश जाने गर्दछन्। यहाँका मगर समुदायको मुख्य भोजन ढिँडो, सिस्ने, माछा मासु हो। पछिल्लो समय यहाँका घरहरूमा होमस्टेको रुपमा समेत विकास हुँदै छ।

दुई सयमा होमस्टे

होमस्टेमा बसेबापत २ सय देखि ३ सयसम्म शुल्क लिने गरिन्छ। उनीहरूले मगर समुदायको खानको स्वादसँगै स्थानीय मदिरासमेत चियाको रुपमा चखाउने गर्दछन्। मगर संस्कृति हेर्न तकसेरासँगै मैकोट, राङ्सी, कोललगायत अरू गाउँ पनि छन्।

यार्सा ट्रेल :

विश्वकै बहुमूल्य जडीबुटीमा दर्ज भएको यार्सा (जीवनबुटी) यस जिल्लाको उत्तरी हिमाली भेगमा पाइन्छ। करिब ४००० देखि ४६०० मिटर उचाइमा अवस्थित पुपाल बुकीको रेन्जमा पाइने यो जडीबुटी बर्सेनि हजारौं यार्सा संकलकमार्फत टिप्ने गरिन्छ।

दुई महिनासम्म जारी रहने यो सिजनको आफ्नै खालको स्थानीय नीति नियम हुन्छ। जेठको पहिलो हप्ता खुल्ने यो सिजनमा टाढा टाढाबाट यार्सासंकलक, यार्सा व्यापारी र होटल व्‍यवसायी आउने गर्दछन्।

यसबेला राष्ट्रियस्तरका मिडियामा पनि दैनिकजसो यार्सा विषयमा पनि समाचार सामग्रीहरू आउने गरेको छ। साथै डकुमेन्ट्री मेकर र ससाना फिल्ममेकर पनि आउने गर्दछन्। विसं ०६८ तिर दीपेन्द्र भण्डारी निर्देशित यार्सा जनजीजनमा आधारित डकुमेन्ट्री ‘जर्नी टु यार्सा’को  देशविदेशमा चर्चा कमाएको थियो।

त्यसबेलाको दक्षिण एसियाली डकुमेन्ट्री फेस्टिबलमा तेस्रो स्थान हासिल गरेको थियो। डकुमेन्ट्रिमेकर कुमार चौलागाई र छायाकार रमेश धमालाले पनि यहाँको स्थलगत भ्रमणपछि भनेका थिए, ‘यस क्षेत्रको अथाह सम्‍भावना छ। केन्द्र सरकारसँग समन्वय गरी भविष्यमा ‘फिल्मीसिटी’ को रुपमा विकास गर्न सकिन्छ।' यसरी पनि यार्सा ट्रेलको छुट्टै प्याकेज बनाई पर्यटकलाई आकर्षिक गर्न सकिन्छ।

गुरिल्ला ट्रेक :

नेपालमा चलेको दशक लामो द्वन्द्वलाई पर्यटनसँग जोड्ने उद्देश्य राखेर केही वर्ष अघिबाट गुरिल्ला ट्रेक अवधारणा अघि सारिएको छ। तीन वर्ष अघिदेखि मैकोटलाई केन्द्रबिन्दु बनाएर स्लोभेनिया नागरिक माट्जाज पिन्टर र ईभा पिभाचले ‘नेपालमा युद्ध कसरी सुरु भो र कसरी अन्त भो?’ भन्ने विषयमा फिल्म थेसिस तयार गरिरहेका छन् जुन तयारीको अन्तिम अवस्थामा रहेको उनले जनाएका छन्।

द्वन्द्वका समयमा विद्रोहीहरूको रुट, बासस्थान (सेल्टर), तालिमस्थल, भिडन्तस्थल, कब्जा गरिएका भग्नावशेष क्याम्प, सामूहिक समाधिस्थल, युद्धको पीडा प्रत्यक्ष भोगेका जनतासँगको साक्षात्कार, युद्धमा सहभागी सैन्य दस्ताका अनुभव र अनुभूति, उनीहरूको वर्तमान जीवनशैली आदिबारे थाहा पाउन युद्ध पर्यटकलाई सजिलो होस् भनेर यो गुरिल्ला ट्रेकको अवधारणा र नक्सा तयार गरिएको छ। यसरी यो रुट प्रयोग गरेर युद्ध पर्यटनको मनोरन्जन र ज्ञान लिन सकिन्छ।

गुरिल्ला ट्रेकलाई अझ विश्वसामु प्रचारप्रसार गर्नका लागि भूमे गाउँपालिकाको सौजन्यमा बर्सेनि भूमेको महतमा राष्ट्रियस्तरको ‘गुरिल्ला म्याराथन रेस’ आयोजना गरिन्छ।

सिकार पर्यटन :

यो जिल्ला प्रदेश-५ को एक मात्र हिमाली जिल्ला हो। हिमाली जिल्ला भएका कारण यहाँ हिमाली भेगमा पाइने वन्यजन्तु जस्तैः कस्तुरी, नावर, झारल, हिमचितुवा, रेडपाण्डा, आदि वन्यजन्तु पाइन्छन्।

नेपालकै एक मात्र वन्यजन्तु सिकार आरक्ष ‘ढोरपाटन सिकार आरक्ष’को ६० प्रतिशत भूभाग यस जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा पर्दछ। सिकारका लागि अनुमति प्राप्त ब्लकहरू सेङ्खोला, सुनदह, दोगाडी र गुस्दुङ ब्लक यसै पालिकाको १,२ र ३ नम्बर वडामा पर्छन्।



बर्सेनि दुई सिजन असोज अन्तिम सातादेखि मंसिर पहिलो हप्तासम्म र फागुन पहिलो सातादेखि वैशाख दोस्रो सातासम्म ढोरपाटन वन्यजन्तु सिकार आरक्षमा सिकार गर्न पाइन्छ।  

उपरोक्त ब्लकहरूमा विभिन्न हन्टिङ सफारी कम्पनीमार्फत विश्वका धनाढ्य व्‍यक्तिहरू नावर र झारलका सिकार खेल्न आउने गर्दछन्। अमेरिकन, रसियन, स्पेनिस, जर्मनी आदि देशबाट सिकारीहरू यहाँ सिकार खेल्न आउँछन्।

एक ट्रिपमा छिटोमा हप्ता दिन ढिलोमा दुई हप्तासम्म सिकार क्षेत्र अर्थात् यस जिल्लाको हिमाली क्षेत्रमा बिताउने गर्छन्। सिकारी टोलीले सिकारका अलावा सिकारसम्बन्धी छोटो खालका डकुमेन्ट्री बनाई आफ्नो युट्युब च्यानलमा अपलोड गर्दै आएका छन्।

चुनौती र समस्या :

रुकुम पूर्व जति सुन्दर छ अभाव र चुनौतीहरू पनि धेरै छन्। पर्यटकका लागि बाटाघाटा र  व्‍यवस्थित होटेल र होमस्टेको व्‍यवस्था नभएको स्थानीय भरतकुमार पुन बताउँछन्। उनका अनुसार सत्कार, बोलीव्‍यवहार सभ्य, शालीन र शिष्ट संस्कारको विकास भएको छैन।

त्यस्तै,  पर्यटक भन्नेबित्तिकै मनोमानी बढी शुल्क लिने प्रचलन छ। प्रर्याप्त पर्यटकीय पूर्वाधार निर्माणदेखि पर्यटनमैत्री मनोविज्ञानको विकास गर्नु जरुरी छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.