सहमतिपश्चात शान्त बन्दै वीरेन्द्रनगर

|

सुर्खेत : गएको मंगलबार भएको टिपर दुर्घटनामा परी कालिकोट महावै गाउँपालिकाका २० वर्षीय केशर सिंहको निधन भएपछिको आन्दोलन तीन दिनपछि मत्थर भएको छ।

टिपर मालिक, प्रशासन र पीडित पक्षबीच बिहीबार पाँच बुँदे सहमति भएको हो। जिल्ला प्रशासन कार्यालय सुर्खेतमा भएको उक्त सहमतिपश्चात वीरेन्द्रनगर शान्त बन्दै गएको छ। मृतकका आफन्तले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको बताएका छन्।

मृतकका आफन्त पञ्चा सिंहका अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेम सिंह, राप्रपाका नेता जनक सिंहलगायतको उपस्थितिमा पीडित पक्ष, टिपर मालिक र प्रशासनबीच पाँचबुँदे सहमति भएको हो।

टिपर चालक राजकुमार बोहोरा प्रहरी नियन्त्रणमा आइसकेकाले नीजलाई हदैसम्मको कार्वाहीका लागि पीडित पक्षले किटानी जाहेरी दिई निजलाई कानुनी कार्वाहीका लागि अगाडि बढाउने तथा पीडित पक्षलाई कानूनबमोजिम दिइने क्षतिपूर्तीको लागि तत्काल प्रक्रिया अगाडि बढाउने सहमति भएको  छ।

यस्तै, पीडित परिवारलाई थप राहत प्रदान गर्न प्रदेश सरकार र घटनालाई लिएर भएको आन्दोलनको क्रममा भएका घाइतेको उपचारका लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र सम्बन्धित निकायमा अनुरोध गर्ने, शवको पोस्टमार्टम गरी सदगतको लागि पीडित पक्षले बुझीलिने र घटनालाई लिएर भएका विरोधका कार्यक्रम सबै फिर्ता लिई स्थितिलाई सामान्य तुल्याउन सबैले पहल गर्ने सहमति भएको छ।

सहमति हुनअघि बिहीबार बिहान वीरेन्द्रचोकमा प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर दैलेखका एक बालक घाइते भएका छन्। मंगलबारदेखि चलेको आन्दोलनमा सार्वजनिक सम्पत्तिको क्षति हुनका साथै प्रहरीका अस्थायी बिटसमेत जलाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.