बंगलादेशबाट सँगै काठमाडौं आएका साथीको हत्या

|

काठमाडौं :  आफ्नै साथीको हत्या गरी फरार एकजना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुला मियाँ रहेका छन्।

महानगरीय प्रहरी परिसरमा बिहीबार दुलाले हत्या स्वीकारेका छन्। आफ्ना साथी ४५ वर्षिय मुहिउद्धिन अहमद परवेजको हत्या गरेर भागेको उनले बताएका हुन्।परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार दुलाले रक्सीको बोत्तलले हानेर साथीको हत्या गरेको जानकारी दिए।

यस्तो थियो घटना

गत माघ ६ गते दुई जना बंगलादेशको ढाकाबाट हिमालयन एयरलाइन्समा चढेर उनीहरू काठमाडौं आएका थिए। एयरपोर्टबाट गाडी लिई उनीहरू बेलुका ९ बजेतिर सोल्टीमोडस्थित होटल ग्राण्ड भिल्लास्थित कोठा नम्बर ११४ मा बसेका थिए।

भोलीपल्ट ७ गते  १ बजे दुवैजना केही समय होटल बाहिर निस्किए।  पुन: उनीहरू २ बजे होटलमा आएर खाना खाए। तर त्यसदिन बेलुका ५ बजे दुला मियाँ झोला भिरेर बाहिर निस्केपछि फर्किएनन्। 

भोलिपल्ट होटलका कर्मचारीहरूले कोठा सफा गर्ने क्रममा रगतमा लत्पत्तिएको अवस्थामा मुहिउद्धिन अहमद परवेजलाई देखे।

कर्मचारीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए। तत्काल पुगेको प्रहरी टोलीले घटनास्थल हेर्दा नखोलिएको मदिराको  बोत्तलले टाउकोमा प्रहार गरेको भेटियो। त्यसपछि त्यही बोत्तलको शिशाले घाँटीमा हानेर हत्या गरेको प्रहरीले पत्ता लगायो।

मियाँ भने साथीको हत्यापछि होटले सोल्टी पछाडिबाट बाफल हुँदै  कंलकी पुगेर बेलुका ८ बजेको रात्रीबस चढी वीरगन्ज छिरिसकेका थिए। नेपाल पार गरेर भारत प्रस्थान गर्न सुरक्षा चुनौती देखिएपछि मियाँ काकडभिट्टा लागे।

१५ गते काकडभित्तामा पनि प्रहरी सुरक्षा देखेपछि उनले सीमा पार गर्न सकेनन्। पुन: उनले नेपालतर्फ आएर पर्यटक प्रहरीको सहयोग लिएर रात्री बसमा काठमाडौं नै फर्के।

उनको शंकास्पद गतिविधि प्रहरीले निगरानी गरिरहेको थियो। प्रहरीले महानगरीय प्रहरी वृत्त कालीमाटीमार्फत उनको फोटोसहित विवरण हेर्दा साथीको हत्यापछि भागेको पत्ता लाग्यो।

तत्कालै काठमाडौँ आउदै गरेको रात्रिबसबाट इलाका प्रहरी कार्यालय लाहानले मियालाई नियन्त्रणमा लियो। प्रवक्ता बोगटीका अनुसार प्रारम्भीक अनुसन्धानका क्रममा मृतक र दुला मियाँ ओशन ट्राभल्स एण्ड टुर्समार्फत टिकट काटेर काठमाडौं आएको देखिएको जनाएका छन्।

मृतकले मियाँलाई ३ वर्ष अगाडि लेवनान पठाउन भनी ३ लाख टाँका लिएका थिए। त्यसकै लागि आफूलाई काठमाडौं ल्याएको जानकारी उनले दिए। भिषा नलागेर पठाउन नसकेपछि दुईबीच विवाद भएको थियो। परवेज सुतिरहेको अवस्थामा हत्या गरेको स्वीकारेका छन्।

परवेजको शव पोष्टमार्टम  गरी बंगलादेश दूतावासमार्फत परिवारलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ। पक्राउ परेका मियाँलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.