सिन्धुपाल्चोकका राजु भन्छन् : फ्री फल यहाँ आनन्ददायी

|

पर्वत : बागलुङको नारायणस्थान र पर्वतको कुस्मास्थित कालीगण्डकी खोँचमा बनाइएको सिङ्गल स्पान झोलुङ्गे पुलबाट सिन्धुपाल्चोकका ३५ वर्षीय राजु कार्कीले पहिलो पटक बन्जी जम्प गरेका छन्।

कालीगण्डकीमाथि बनेको यो बन्जी जम्पस्थललाई विश्‍वकै दोस्रो अग्लो भनिएको छ। बन्जी जम्पका लागि बनाइएको यो पुल ५२० मिटर लामो र २२८ मिटर अग्लो छ। 

वसन्त पञ्चमीको दिनमा शुभारम्भ गरिएका हरेक कामहरू सफल हुनुका साथै दीर्घकालसम्म पनि रहने उक्ति अनुसार बिहीबार परीक्षणका क्रममा बिहीबार पहिलोपटक बन्जी जम्पिङ गरिएको हो। यसघि पानी भरिएका ड्रमहरू फालेर परीक्षण गरिएको निर्माता राजकुमार बस्‍नेतले बताए।

नेपाल, स्वीट्जरल्याण्ड र फ्रान्ससहित पाँच हजार पटक बन्जी जम्पिङ गरिसकेका कार्कीले अहिलेसम्म गरिएका बन्जी जम्पहरूमध्ये सबैभन्दा आनन्द आउने बन्जी जम्प पर्वतकै रहेको बताए।

‘मैले नेपाल र विदेशमा पाँच हजार पटक हाम फालेको छु। तर सबैभन्दा फरक अनुभव पर्वतमा भयो’, बन्जी जम्प गरेपछि थाहाखबरलाई आफ्नो अनुभव सुनाउँदै कार्कीले भने, ‘यहाँको फ्री फल सबैभन्दा मज्जाको छ। नदी चाक्लो भएका कारण जोखिम पनि छैन। विदेशका बन्जी जम्पभन्दा यो धेरै आनन्ददायी छ।’

शुभ दिन पारेर लगानीकर्ताले नै परीक्षणका रूपमा बन्जी जम्प गरेका हुन्। अन्यका लागि वैशाखबाट व्यावसायिक जम्प गर्ने व्यवस्था मिलाइएको छ। निर्माणको सकिएर अहिले फिनिसिङ चलिरहेकाले वैशाखबाट व्यावसायिक बन्जी जम्प सञ्चालनमा आउने कार्कीले बताए।

यहाँ २०७३ वैशाखमा बन्जी जम्पको पूर्वाधार निर्माण सुरु गरिएको थियो। यहाँ बन्जीसँगै पर्यटकहरूलाई तान्‍न स्काई साइक्लिङ, स्वीङ र रिसोर्टसमेत सञ्चालनमा आएका छन्।

सिन्धुपाल्चोकका राजु कार्की, कुस्माका नेत्र पराजुली, नवराज पौडेल, युवराज जोशी, राजन जोशी, फ्रेन्च नागरिक फ्लोरेन्स र प्रभु बैंकको लगानीमा बन्जी जम्प निर्माण गरिएको हो। बन्जी जम्पमा आउने पर्यटकलाई ध्यानमा राखेर बागलुङको बलेवामा २५ रोपनी क्षेत्रफल जग्गामा रिसोर्ट बनाइएको छ।

चारवटा नेपालकै अग्लो र लामा झोलुङ्गे पुल, केबलकार मोडलको यान्त्रिक पुलका कारण पर्यटकको आकर्षण बढ्दै गएको पर्वतमा बन्जी जम्पले झनै मन तान्‍ने छ। 

पर्यटकीय जिल्लाको रूपमा चिनाउन सकिने लगानीकर्ता नेत्र पराजुली बताउँछन्। बन्जी, स्काई साइक्लिङ र स्वीङमा मात्रै वर्षमा कम्तीमा पनि ५० हजारभन्दा धेरै आन्तरिक तथा बाह्‍य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.