गृहको अनुगमन समितिले रोक्ला त मनपरी?

|

काठमाडाैं : शुक्रबार बिहान गोरखा नगरपालिका-१० मा अवैध रूपमा सञ्चालन भइरहेको गोरखकाली क्रसर उद्योग परिसरमा एक टिपरले किचेर एक महिलाको मृत्यु भयो। ग १ ख ८०२७ नम्बरको टिपरले किचेर स्थानीय ५२ वर्षीया मनमाया तामाङको घटनास्थलमै मृत्यु भएको हो।  

धनुषामा अवैध नदी दोहनको विरोध गर्ने एक युवाको टिपरले किचेर हत्या गरेको घटना सेलाउन नपाउँदै गोरखामा पनि त्यही प्रकृतिको घटना भएको हो।

तामाङको घटननास्थलमै मृत्यु भएपछि विरोधमा उत्रिएका आफन्त र स्थानीयले एक टिपरमा आगजनी गरे। २० वटा टिपर र ६ वटा एक्साभेटर तोडफोड गरियो। तर, अवैधरूपमा क्रसर सञ्चालन गरिरहेका सञ्चालक सुरेन्द्र कुँवर वा क्रसरका कोही पनि प्रतिनिधि घटनास्थल पुगेनन्।

स्थानीय प्रशासनले दुई पक्षलाई राखेर छलफल चलाए पनि वार्ता विनानिष्कर्ष सकियो मृतकका परिवारले ५० लाख क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन्।

प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, र मृतकका परिवार, राजनीतिक दलका प्रतिनिधि सहभागी उक्त छलफल विनानिष्कर्ष सकिएको हो। मृतकको आफन्तर र स्थानीयले सञ्चालक आएर छलफल गरी क्रसर उद्योग बन्द गर्नुपर्ने तथा उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन्। 

सडकको नाममा अवैध धन्दा

२०७२ सालको भूकम्पपछि एसियाली विकास बैंकको सहयोगमा पूर्वाधार निर्माणमा सघाउन ‘भूकम्पीय आपतकालीन सहायता परियोजना’ गोरखामा सुरु भयो। 
त्यही परियोजनाअन्तर्गत पालुङटार नगरपालिकाको लुइँटेल भञ्ज्याङदेखि आँपपीपल, हर्मी हुँदै भच्चेकसम्मको ३० किलोमिटर सडकअन्तर्गत पर्ने पहिलो प्याकेजको १७ किलोमिटर सडकको स्तरोन्‍नति गर्ने ठेक्का पाएको लामा(अमर जेभी कन्ट्रक्सनका लागि आवश्यक कच्चा पदार्थ आपूर्तिको जिम्मा गोरखकाली क्रसर उद्योगले पायो। यसका सञ्चालक व्यवसायी सुरेन्द्र कुँवर हुन्। 

सडक परियोजनाको काम सकिएपछि बन्द हुनुपर्ने उक्त उद्योग अर्काे आयोजनाको ठेक्का परेको भन्दै पुन: व्यवसायिक रूपमै सञ्चालन भएको छ।  

ठेक्का सम्झौता गर्दा लामा-अमर जेभीले निर्माण आयोजनाको पाँच सय मिटर दूरीभित्र मात्रै क्रसर उद्योग चलाउन हस्ताक्षर गरिएको छ। तर, कच्चा पदार्थ आपूर्तिको जिम्मा पाएका कुँवरले निर्माण आयोजना भन्दा धेरै परको ठाउँ रोजेर मापदण्डविपरीत गोरखा नगरपालिका-१० छेपेटारमा क्रसर उद्योग सञ्चालन गरेका हुन्। 

झुटो विवरणबाट क्रसर नामसारी  

गोरखा नगरपालिका-१० मा हाल सञ्चालन भइरहेको गोरखकाली क्रसर उद्योग झुटो विवरण उल्लेख गराएर नामसारी गराएको पाइएको छ। 

कुँवरले गोरखा नगरपालिका-१३ (साविकको देउराली गाविस-८) का हरिमानसिंह बस्नेतको ५२९ कित्ता नम्बर दर्ता रहेको देउराली क्रसर उद्योग आफ्नो नाममा नामसारी गर्ने क्रममा घरेलु तथा साना उद्योग विकास समितिको अभिलेखमा देउराली गाविस-८ हाल गोरखा नगरपालिका-१० मा पर्छ भनी झूटो विवरण उल्लेख गर्न लगाएका हुन्। 

झुटो विवरण उल्लेख गरेपछि घरेलुले दिएको प्रमाणपत्र देखाएर कुँवरले आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बरसमेत  लिएर  क्रसर सञ्चालन गरिरहेका छन् ।

घरेलुले रद्द गरे पनि क्रसर सञ्चालन 

गोरखा नगरपालिका-१० छेवेटारमा सञ्चालित उक्त क्रसर उद्योग बन्द गर्न घरेलु तथा साना उद्योग विकास समिति गोरखाले पत्राचार गरेको थियो। तर, जनप्रतिनिधिको पनि संरक्षण मिलेपछि सञ्चालक कुवँरले उक्त पत्रको पालना गरेका छैनन्।

ठाउँसारीको अनुमतिबिना चलाइएको र म्याद थप नगरी सञ्चालन भइरहेकाले तत्काल बन्द गरी जानकारी पठाउन उद्योग सञ्चालक सुरेन्द्र कुँवरलाई कार्यालयले २०७६ वैशाख ३१ गते पत्राचार गरेको थियो ।

घरेलुले कुँवरलाई पठाएको पत्रमा भनिएको छ, ‘उद्योगको फाइल अध्ययन तथा स्थलगत निरीक्षण र अनुगमन गर्दा उक्त क्रसर उद्योग नामसारी मात्रै भएको तर ठाउँसारीको कागजात नभएको  देखिन्छ, उद्योगको यथार्थ ठेगाना जानकारी गराउँदा पनि अटेर गरेको देखिन्छ।’

पत्रमा अगाडि भनिएको छ, ‘उक्त क्रसर उद्योग आवश्यक प्रक्रिया पुर्‍याई सार्नका लागि निर्देशन गरिन्छ।’ यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा क्षेत्रीय कार्यालयले जिल्ला प्रशासन कार्यालयमार्फत अवैध रूपमा सञ्चालित उक्त उद्योग बन्द गराउन निर्देशन गरेको थियो। प्रशासनले कुँवरलाई उद्योग बन्द गर्न पटकपटक ताकेता गर्दा पनि कुँवरले निर्वाधरूपमा उद्योग चलाउँदै आएका छन् ।

प्रशासन र जनप्रतिनिधिको छारो हाल्ने अनुगमन

२०७२ सालको भूकम्पपछि सञ्चालनमा आएको उक्त गोरखकाली क्रसर उद्योगमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति र जनप्रतिनिधिका टोलीले पटक-पटक अनुगमन गरिसके।

अनुगमनबाट फर्केको दिन उनीहरू अवैधरूपमा सञ्चालन भइरहेको क्रसरलाई बन्द गराउने भन्दै चर्काे अभिव्यक्ति दिन्छन्। तर, राजनीतिक आडमा चलिरहेका कुँवरलाई अहिलेसम्म कारबाही हुन सकेको छैन। उनलाई गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी (कांंग्रेस) दलका नेता सुरेन्द्रराज पाण्डेलगायत नेताहरूको साथ छ।  

धनुषामा युवाको हत्या

गत पुस २५ गते अवैध खोला उत्खननको बारम्बार विरोध गरिरहने एक युवाको धनुषामा टिपरले किचेर हत्या गरियो। मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षीय दिलीप महतोलाई ना७ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरेको हो। बिहान मर्निङवाक हिँडेका उनलाई टिपरले हानेर मारिएको थियो।

लम्जुङमा सिडियो बन्द गर्ने, जनप्रतिनिधि खोल्ने 

लम्जुङमा तत्कालीन प्रमुख जिल्ला अधिकारी हुँदा डिजन भट्टराईले केही अवैध क्रसर उद्योगहरू पूर्णरूपमै बन्द गराए। राष्ट्रिय राजमार्गलाई नै क्षति पुर्‍याउने गरी चलाइएको क्रसर उद्योग भट्टराईले बन्द गराएका थिए।

तर, उनी अध्यागमन विभागमा सरुवा भएको एक साता नबित्दै बेसीशहर नगर कार्यपालिकाले मंसिर २३ गते अनुमति नै नलिई सञ्चालित दुई क्रसर उद्योगलाई यथावत अवस्थामा सञ्चालन गर्न दिने निर्णय गरेको छ।

राजमार्ग नै भत्काउने गरी सञ्चालित लमजुङ क्रसर उद्योगका सञ्चालक निर्मल जङ घले हुन् भने त्रिवेणी रोडा एण्ड ब्लक उद्योगका सञ्चालक दिपेश श्रेष्ठ हुन्।  

प्रजिअ भट्टराईका अनुसार अनुमति बिनै मापदण्ड मिचेर सञ्चालित यी क्रसर उद्योगलाई विभिन्‍न दबाबबीच जिल्ला प्रशासनले बन्द गराएको थियो। तर, सिडिओ भट्टराईको सरुवा भएको एक साता नबित्दै नगरपालिकाले गैरकानुनी निर्णय गरी खुलाएको हो। 

गृहको समिति

यसैबीच सरकारले देशभर सञ्चालनमा रहेका क्रसर उद्योग अनुगमन तथा अध्ययन गर्नका लागि पाँच सदस्यीय समिति गठन गरेको छ।

गृहमन्त्री रामबहादुर थापासहित पाँचजना मन्त्रीहरूको माघ १३ गते बसेको बैठकले देशभर सञ्चालनमा रहेका पाँच हजारभन्दा बढी क्रसर उद्योग अनुगमन तथा अध्ययन गर्न पाँचै मन्त्रालयका सहसचिव रहने गरी समिति गठन गरेको हो।

समितिमा गृह, वन, उद्योग, भौतिक तथा संघीय मामिला मन्त्रालयका सहसचिव रहनेछन्। समितिले क्रसर उद्योग दर्ता, मापदण्ड, पर्यावरण र प्रकृति दोहनबारे अनुगमन र अध्ययन गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.