|

मनाङ : मोटरबाटोले पदमार्ग भत्किएसँगै अन्नपूर्ण पदमार्गमा आएका पर्यटक पदमार्ग खोज्दै हिँड्न बाध्य  छन्। मोटर बाटोले स्थानीय र आन्तरिक पर्यटकलाई सहयोग पुगे पनि विदेशी पर्यटक भने पदमार्गको खोजीमा भौतारिएका छन्।

मोटरबाटोका लागि गाउँगाउँमा डोजर लगाउन थालेपछि घोडेटो बाटो, पर्यटन पदमार्गसमेत मासिँदै गएको अवस्था छ।

विश्वमा परिचित अन्नपूर्ण पदमार्ग विदेशी पर्यटकको अकर्षण हो। मोटरबाटोका कारण यो पदमार्ग पनि सिकार बनेको छ। यस क्षेत्रमा अउने पर्यटक पदमार्ग खै भन्दै जताजता गोरेटो देख्छन् उतै हिँड्ने गरेको पर्यटक गाइड हरि सेनले  बताए।

उनका अनुसार पर्यटक सवारीसाधनमा हिँड्न मान्दैनन्। पदमार्ग नै चाहिन्छ। उनले भने, 'म यस पदमार्गमा १४ वर्षको उमेरदेखि गाइड गरेर हिँडेको छु। विदेशी पर्यटकले पदमार्ग नै रुचाउँछन् तर अहिले मोटर बाटोले पदमार्ग हराएको छ। आफैँले बाटो बनाउँदै हिँडाउनु परेको छ।'

लमजुङको सदरमुकाम बेसिशहरबाट सुरु हुने यो पदमार्ग मनाङ, मुस्ताङ हुँदै कस्कीको पोखरा पुगेर टुंगिन्‍छ। पदमार्गमा पर्यटक २१ दिनसम्मको यात्रामा रमाउँदै हिँड्ने गर्थे। पर्यटकको पदमार्गको यात्राले होटल व्‍यवसायी, पर्यटन गाइड सबैलाई राम्रै आम्दानी हुने गरेको थियो।

अहिले पदमार्ग मासिएको छ। मान्छे हिँड्ने बाटोमा गाडी गुड्न थालेका छन्। गाडीको धुवाँ धुलोले पर्यटक मुख थुनेर हिँड्न बाध्य छन्।

नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घले सडकसँगै पदमार्ग हराउँदै जाँदा पर्यटन व्‍यवसायी मर्कामा परेको बताउँछन्। स्थानीय तहले वैकल्पिक पदमार्गको अवधारण ल्याए पनि बजेटको अभावमा काम गर्न नसकिएको पनि उनले बताए। उनले भने, 'हामीले मोटर बाटोसँगै पदमार्गलाई अगाडि बढाएका छौँ तर प्रदेश सरकार र केन्द्रीय सरकाले चासो दिने हो भने पर्यटकले पदमार्ग खज्दै हिँड्नु पर्दैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.