गजल विधा पप संस्कृतिजस्तै बन्यो

|

फूल बेचेर मन्दिर अघि कोही जल बेचेर
कोही बाँची रहेछ जवानी पल पल बेचेर।।

उहाँ आज वातावारणको विज्ञ हुनु भएछ
हिजो अस्ति हिड्नु हुन्थ्यो बन जंगल बेचेर।।
तपाईं उधारो खाएपछि तिर्न कहिले नजान्ने
बिचरा साउजी किन नहिडोस् त पसल बेचेर।।
उ जल्दा चितामा खाली हात जलिरहे थ्यो
के लग्यो आखिर सुन भनी पित्तल बेचेर।।

गजलकार वरुण लामिछानेले प्रज्ञा प्रतिष्ठानमा आयोजित दुई दिने राष्ट्रिय गजल महोत्सवमा बाचन गरेका गजलका शेर हुन यी। लामिछानेले गजल सुनाउँदै गर्दा महोत्सवमा उपस्थित जमातले वान्स मोर, वान्स मोर भन्दै हुटिङ नै गर्‍यो।

गजललाई पहिले प्रेमसँग जोडिएर हेरिने भए पनि अहिले भने यसको दायरा फराकिलो बन्दै गएको छ। युवा पुस्ताका गजलकारहरू प्रेम प्रसंगमा मात्रै नभई राष्ट्र, राष्ट्रियता र अधिकारका विषयमा रचना गर्न थालेका छन्।

गजलकार कमल संघर्ष गजलबाटै देशको र राजधानी, रोजगारीलगायतका विषय गजलबाट यसरी उठाए। 

उत्खनन हुनु पहिले सुन खानीमा हुन्छ
यो किस्सा हरेकको जिन्दगीमा हुन्छ।।
जमिन्दार तिम्रो जमिन काम लाग्ने छैन 
याद गरेका छौ घाट एैलानीमा हुन्छ।।
जुन आगोले हामीलाई खरानी बनायो
त्यो आगो आफु पनि खरानीमा हुन्छ।।
देशमै हुन्छ राजधानी सोचिरहे मैले
मलाई के थाहा देश राजधानीमा हुन्छ।।
हजुरको शिर हुन्छ हाम्रो शिर मात्रै हुँदैन
रिन पिर र सपना पनि सिरानीमा हुन्छ।। 
तातो मरुभूमिमा रातो रगत बनाउनुपर्छ
सोच्दैछु हरियो रंग हाम्रै राहदानीमा किन हुन्छ?

नेपाली साहित्यको क्षेत्रमा गजल विधा लोकप्रिय पनि बन्दै गएको छ। पछिल्लो समय गजलमा रमाउने पीडित युवाको जमात पनि उत्तिकै बढ्दो छ। यही कुरालाई मध्य नजर गरेर होला प्रज्ञा प्रतिष्ठानमा पहिलो पटक गजल महोत्सव आयोजना भयो। त्यहाँ थुप्रै स्रष्ठाहरूले आफ्ना गजल सुनाए। महोत्सवमा गजल वाचन मात्रै भएन, नेपाली गजलका सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग लगायतका विषयमा विचार विमर्श पनि भयो।

आजको समयमा गजल लेखनका विषयमा परिसंवाद, नेपाली गजलको अवस्थाका सम्बन्धमा प्रादेशिक प्रतिवेदनको प्रस्तुति र पाँचबुँदे घोषणापत्र प्रस्तुत पनि उक्त महोत्सवले जारी गरेको छ। यद्यपि साहित्यको यो विधामा हुनुपर्ने स्तरीयता भने नपाइएको गुनासो स्रष्ठाले गरेका छन्। गजल विधामा रस भिजेका स्रष्ठाले गजलको स्तरीयताका विषयमा आ-आफ्नै तर्क दिने गरेका छन्।

बैतडीको दशरथचन्द्र नगरपालिका भुवन बोहोराले गजल लेख्न थालेको २ दशक पुगे पनि यस बीचमा आफूले थुप्रै गजल सिर्जना गरेको बताए। बोहोरालाई नेपाली साहित्यमा गजल विधा पप संस्कृति र साहित्यको नयाँ संस्कृतिको रूपमा उदाए जस्तो लाग्छ। उनले नेपालमा गजल लेखन सुरु भएको १‍७० वर्षको यो अन्तरालमा काव्य विधाको रुपमा विकशित हुँदै अहिले यसको विषयमा एक खालको बहस छेडिएको बताए।

'हाम्रो नेपालमा गजलको लोकप्रियता छ। यो पप कल्चरको रूपमा पनि आएको छ। ‍यो साहित्यको स्वाभाविक नयाँ प्रक्रियामा पनि आएको छ' उनले भने, 'पप कल्चरमा के हुन्छ? कुनै पनि चिज एक पटक भाइरल हुन्छ। खुब लोकप्रिय हुन्छ।आज लोकप्रिय भएको चिज भोलि लोकप्रिय नहुन सक्छ। नयाँ चिजले त्यसलाई विस्थापित गर्छ। अहिले जगल पनि त्यही बाटोमा लोकप्रिय बन्दै छ।' 

अरबिक माटोमा जन्मिएर उर्दु, हिन्दी भाषा हुँदै भित्रिएको गजल विधाले नेपालमा लामो काल खण्ड बितायो। १० शताब्दीमै इरानी अन्धा कवि रौदकीले जन्माएको यो विधालाई नेपाली माटोमा मोतिरामले भारतबाट भित्र्याएको बताइन्छ।

गजलकार ललिजन रावलले पनि साहित्यमा गजल लोकप्रिय बन्दै जान थालेको बताए। गजल आफैँमा छोटो संक्षिप्त र हार्दिकताको विधा हो। गजलले क्रान्तिदेखि प्रेम र परिवर्तनका कुरालाई समेट्ने रावलको तर्क छ। उनले भने गजल आफैँमा सशक्त संरचना भएको कविताको विधा हो। यसले नेपाली साहित्य, नेपाली पाठक, समाज लाई महत्वपूर्ण योगदान दिँदै आएको छ।

अहिले पनि नेपाली साहित्यमा गजललाई छुट्टै विधाको रूपमा स्वीकारेको अवस्था भने देखिदैन्। गजललाई कविताको संज्ञा कतिपयले दिन्छन्। र त्यही अनुसारको व्यवहार गरिन्छ भन्ने गुनासो श्रष्टाहरूको छ। गजलप्रति युवाको आकर्षण बढ्दो छ। तर, गजलका परिधीमा लेख्ने बानीको विकास युवामा भएको त्यत्ति पाइँदैन। किन यस्तो भइरहेको हो त?

'नेपालमा गजल विधालाई लिएर राम्रोसँग प्रशिक्षण नभएको कारणबाट, त्रिभुवन बिश्व विद्यालय जस्ता संस्थाहरूले नै गजल विषयमा विभिन्न भ्रमपूर्ण कुरा प्रसारण गरिरहेको देखिन्छ' गजलकार आवाज शर्माले भने, 'शोधलाई मान्यता दिइरहेको देखिन्छ। सिकाउने गुरुले पनि आफ्ना व्यक्तिगत इच्छा अनुसारका कुरालाई प्राथमिक्ता दिएरका छन्। गजलका आधारभूत मान्यतालाई शवहेलना गरी प्रशिक्षण गरेका छन्। युवामा गजल प्रति मोह भए पनि पूर्ण गजल लेख्न सक्ने अवस्था छैन।' 

पहिलो पटक भएको गजल महोत्सवको दोस्रो दिन डा घनश्याम न्यौपाने ‘परिश्रमी’, घनेन्द्र ओझा र टीकाराम उदासीले दुईवटा कार्यपत्र प्रस्तुत गरेका थिए। प्राडा कृष्णहरि बराल, प्राडा सनतकुमार वस्ती, डा नेत्र एटम र डा गीता त्रिपाठीले कार्यपत्रमाथि टीकाटिप्पणी गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.