|

पर्वत : पर्वतको जलजला गाउँपालिका-१ बाँसखर्क घर भएका भुवन पाइजा यो सिजनमा आनन्द मान्छन्। कारण हो विदेशको मोह नगरी स्वदेशमै बर्सेनि लाखौँ रुपैयाँको सुन्तला बिक्री गर्नु। उनले खाद्यान्न उत्पादन गरेर बाँकी रहने सबै जमिनमा सुन्तलाका विरुवा रोपेका छन्।

बाँसखर्कभरीमा बढी सुन्तला उत्पादन गर्न सफल कृषकका रूपमा परिचय बनाएका उनले यस वर्ष झण्डै १२ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरे। ‘मलाई विदेश किन जानु पर्‍यो? यहीँ सुन फलेको छ मेरा लागि।’ उनले भने, ‘यस वर्ष पनि झन्डै १२ लाखका सुन्तला बिक्री गरियो।’

बाँसखर्ककै अर्का सफल सुन्तला उत्पादन हुन जगत खत्री। उनले पनि यस वर्ष भुवनकै हाराहारीमा सुन्तला बिक्री गरेका छन्। विरुवा हुर्काउने बेलामा दुःख गरेपछि सधैँका लागि निरन्तर आम्दानी दिने भएकाले आफूलाई सुन्तला मोहले कहिल्यै पनि नछाडेको उनी बताउँछन्।

बाँसखर्कको स्वादिलो सुन्तला

बाँसखर्क सुन्तला उत्पादनका हिसाबले पर्वत जिल्लासहित अन्य छिमेकी जिल्लामा पनि उत्तिकै चर्चामा छ। यही कारण पनि अन्य ठाउँको भन्दा बाँसखर्कको सुन्तलाको माग बढी हुन्छ, सामान्यतः अन्य ठाउँको भन्दा केही बढी मूल्य पनि पर्छ। ढिलो समयसम्म पनि बोटमा रहने मीठो स्वाद भएका कारण बाँसखर्कको सुन्तलाको माग बजारमा बढी हुने गरेको छ।

वर्षौँ पहिलेदेखि सुन्तला खेतीबाट आम्दानी गरेर जीविका चलाउँदै आएका बाँसखर्कवासीहरूको अहिलेको रोजीरोटी पनि सुन्तलाले नै धानेको छ। हरेक वर्ष एकैघरबाट लाखौँ रुपैयाँ सुन्तला बिक्री हुने गरेको बनौँमा अहिलेको ‘सिजन’ मा गाउँभरबाट झन्डै ४ करोडको सुन्तला उत्पादन भएको छ।

ढिलोसम्म बोटमा रहेका कारण यस वर्ष बोटबाटै प्रति किलो १ सय २० रुपैयाँसम्ममा बिक्री गर्न सकिएको कृषकहरू बताउँछन्। यो वर्ष सुन्तलामा रोग र किराको आक्रमण पनि खासै नभएका कारण सुन्तला उत्पादन राम्रो भएको र बजार पनि राम्रो पाएका कारण आम्दानी बढेको कृषक भुवन पाइजाले बताए।

बाँसखर्कको सुन्तला म्याग्दीको बेनी, बागलुङ, कुस्मा, पोखरा, चितवनसम्म पनि पुग्ने गरेको छ। सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा सुन्तला उत्पादन तथा बिक्री गर्न बजारमा सुन्तला उत्पादन सहकारीसमेत सञ्चालन गरिएको छ।

गाउँभरी सुन्तला खेती

वडाध्यक्ष तुलसीराम रेग्मीका अनुसार वडामा २ सय ६१ घरहरू रहेकोमा २ सयभन्दा बढी घरहरूले सुन्तला खेती गर्दै आएका छन्। सहकारीमार्फत गाउँमा नै ‘कोल्ड स्टोर’ निर्माण गरिएका कारण लामो समय बोटमै राखिएका सुन्तला टिपेर थप लामो समय भण्डारण गर्न सकिने उनको भनाइ छ।

सुन्तला उत्पादनमा वृद्धि गर्नका लागि वडाले नै बेला बेलामा सुन्तलामा रोग वा किराको आक्रमण भए वा नभएको भन्ने बारेमा परीक्षण गराउँदै आएको छ।

विरुवा आयातमा रोक

यस्तै, सुन्तलामा लाग्ने रोगहरूको सङ्क्रमणबाट जोगाउनको लागि बाँसखर्कमा अन्यत्र ठाउँबाट सुन्तलाका विरुवाहरू आयात गर्न नपाइने भनी वडा कार्यालयले निर्देशन दिएको छ।

‘सुन्तलामा अनौठा रोग लाग्छन्। अलिकति रोगले पनि सुन्तला स्वाहा पारिदिन्छ।’ वडाध्यक्ष रेग्मीले भने, ‘रोगबाट बचाउनकै लागि बाहिरबाट विरुवा खरिद गर्न नपाउने, आवश्यकताअनुसार गाउँमै विरुवा तयार गर्नुपर्ने नियम राखिएको छ।’

गाउँमा रहेको कच्ची र जोखिमपूर्ण सडकका कारण भने कृषकहरू समस्यामा पर्दै आएका छन्। सुन्तला गाउँसम्म सडक पुगेको भए पनि बाटो निकै अप्ठ्यारो र जोखिमपूर्ण भएका कारण सुन्तला निर्यातमा समस्या हुने गरेको छ। वडाध्यक्ष रेग्मीका अनुसार कृषकहरूको समस्यालाई बुझेर उक्त बाटोको स्तरोन्नतिको लागि यस पटक ८४ लाख बजेट आएर टेन्डरसमेत भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.