काठमाडौं धर्मस्थलीका रामचन्द्र गौतमले गरे यस्तो बदमासी

|

बारा : मसानघाटको सार्वजनिक जग्गा व्यक्तिले किर्ते गरेर भोगचलन गरिरहेको सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। तर बाराको जीतपुरसिमरा वडा नम्बर ४ मा यस्तै भएको छ। फिल्डबुकमा खोला, नाला, गौचरन, ऐलानी, प्रति, बुट्यान भनी उल्लेख भएका बाराका सार्वजनिक जग्गा किर्ते गरेका भू-माफियाले मसानघाटको जग्गा समेत किर्ते गर्न भ्याएका हुन्।

यहाँस्थित मसानघाटको सार्वजनिक जग्गा किर्ते गरेर रामचन्द्र गौतमले आफ्नो नाममा श्रेस्ता बनाएको अनुसन्धानका क्रममा भेटिएको छ। मसानघाट भनी उल्लेख भएको कित्ता नं ५९ को ६ बिघा ८ कठ्ठा जग्गा २०४७ साउन ३० गते नेपाल सरकारको ऐलानी श्रेस्ता बदर गरेर गौतमले फरदवा गुठीमार्फत आफ्नो नाममा श्रेस्ता बनाएका हुन्।

गौतमले किर्ते गरेको मसानघाटको सो जग्गामध्ये केही आफन्तको नाममा दर्ता गरिसकेका छन्‌ भने केही बेचविखन समेत गरिसकेको भेटिएको छ। हाल सो मसानघाटलाई कित्ताकाट भएर एकदर्जन कित्ता पुगिसकेको छ। साविक पिपरासिमराको कित्ता नं ५९ को सो जग्गा कित्ताकाट भएर कित्ता नं ९५३, १०१९, १०२०, ९५०, ९५१, ९५५, १६५४,१६५२, १६५६, १६५७ र १६५८ भएको छ। 

करोडौं मूल्य पर्ने सो सार्वजनिक जग्गा पछिल्लो समय कसले भोगचलन गरिरहेको छ भनी मालपोत कार्यालय सिमराले खोजी गरेको छ।

‘रामचन्द्र गौतमको नामबाट पटक पटक कित्ताकाट र वेचविखन भएर धेरै व्यक्तिको नाममा पुगिसकेकाले पछिल्लो समय त्यो जग्गा कसले भोगचलन गरिरहेको छ भनी हामी खोज्दैछौं,’ मालपोत कार्यालय सिमराका प्रमुख आचार्यले भने।

मसानघाटको जग्गा किर्ते गर्ने  गौतमको ठेगाना श्रेस्तामा काठमाडौं धर्मस्थली, हाल पिपरासिमरा २ भनी उल्लेख छ भने बाबुको नाम टिकाचन्द्र गौतम, बाजेको नाम लिलाचन्द्र गौतम र नागरिकता नं ३२२९-०२६ वागमती भनी उल्लेख छ। 

गुठीबाहेक बारा जिल्लामा २४ सय ५४ बिघा सार्वजनिक जग्गा छ। तर स्थानीय तहले आफू मातहत रहेका सार्वजनिक जग्गाको संरक्षणमा चासो नदेखाउँदा भू-माफियाले अधिकांश सार्वजनिक जग्गाको किर्ते पुर्जा बनाइसकेको मालपोत कार्यालय कलैयाले जनाएको छ।

‘हामीले सबै पालिकालाई आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक,सरकारी र गुठीको जग्गाको हालको अवस्था के कस्तो छ भनी विवरण माग गरेका छौं,' मालपोत कार्यालय कलैयाका प्रमुख रामकृष्ण उप्रेतीले भने, 'तर सबैको आइसकेको छैन।’

बाराको दक्षिण भेगको तुलनामा उत्तरी भेगमा नेपाल सरकारको राष्ट्रिय गौरव र पहिलो प्राथमिकताका आयोजनाहरू धेरै भएकोले जग्गाको कारोबारमा भूमाफियाका गिरोहहरु नै सल्बलाएका छन्‌। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.