|

भद्रपुर : सञ्चारमाध्यमकै गाडी दुरुपयोग गरी बरामद गरिएका तस्करीका सामान अन्यत्र पठाउने इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुवास खनालमाथि छानबिन सुरु भएको छ। 

'इन्स्पेक्टरकै सेटिङमा तस्करी मार्बल पठाउन लाग्दा खुल्यो रहस्य' भन्ने शीर्षकमा थाहा खबरमा समाचार प्रकाशन भएलगतै प्रदेश १ प्रहरी कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय झापाले प्रहरी निरीक्षक खनालमाथि छानबिन सुरु गरेको हो। 

प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा चार सदस्य छानबिन टोली गठन गरी प्रहरी निरीक्षक खनालमाथि छानबिन सुरु गरिएको हो।

छानबिन समितिले प्रहरी निरीक्षक खनाललाई जिल्ला प्रहरी कार्यालय झापा बोलाएर घटनाको विषयमा अनुसन्धान गर्ने प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। इलाका प्रहरी कार्यालय काँकडभिट्टा प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले आफू काम विशेष बाहिर रहेको अवस्थामा प्रहरी निरीक्षक खनालले सञ्चारमाध्यमको गाडी किन पछाडि गेटबाट भित्र छिराएको ? कसको आदेशमा छिराएको भन्ने विषयमा अनुसन्धान गरिने बताए।

‘घटनाको अनुसन्धानको क्रममा प्रहरी निरीक्षक खनाल दोषी भेटिए विभागीय कारबाही हुन्छ,’ उनले भने। प्रहरीले अवैध भन्दै जफत गरेका चार कार्टुन मार्बल सञ्चारमाध्यमको को २ च १४१५ नम्बरको मारुती भ्यान प्रयोग गरी प्रहरी निरीक्षक खनालले घर पठाउनै लागेको अवस्थामा सञ्चारकर्मीले स्थलगत रिपोर्टिङ गर्दै घटना बाहिर ल्याएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.