|

बारा : इन्धन आपूर्तिलाई सहज बनाउन ३ महिना अघि शिलान्यास भएको अमलेखगञ्‍ज-चितवन पेट्रोलियम र ग्याँस पाइपलाइनको काम शून्य बाराबर भएको छ। 

तत्कालीन उद्योग मन्त्री मातृका यादवले कार्तिक ९ गते शिलान्यास गरेको सो परियोजना राजनीतिक कारण देखाउँदै शुरुवाती अवस्थामा तुहिएको हो। नेपाल आयल निगम र  भारतीय आयल निगमबीच सम्झौता भएर शुरु भएको परियोजनामा हालसम्म माटो परीक्षण, आयोजनाको विस्तृत अध्ययन (डिटेल) इन्जिनियरिङ सर्वे र अमलेखगंजदेखि चितवनसम्म ठाउँ ठाउँमा बोर्ड राख्नेबाहेक अन्य कुनै काम अगाडि नबढेको नेपाल आयल निगम अमलेखगंजले जनाएको छ। 

‘अहिलेसम्म नेपाल आयल निगम र भारतीय आयल निगमबीच कसको लगानी कति हुने कसरी काम अगाडि बढाउने भन्ने विषयमा नै  टुंगो नलागेकोले, अहिले यो प्रोजेक्टको कम खासै काम अगाडि बढेको छैन’ आयल निगम अमलेखगंज डिपो प्रमुख प्रदिप यादवले भने,' भारतीय आयल निगमले आफ्नै खर्चमा टेण्डर गरेर अमलेखगंजदेखि चितवनसम्मको माटो परीक्षण, जंगल, नदीमा कसरी पाइल बिछ्याउने भन्ने विषयमा डिटेल इन्जिनियरिङ सर्वे गरिसकेको छ।’ 

अमलेखगंजदेखि चितवनसम्म पेट्रोलियम र ग्याँस पाइपलाइन सर्वेका लागि भारतीय आयल निगमले हालसम्म ३० लाख भारतीय रकम खर्च गरिसकेको छ। 

‘डिटेल इन्जिनियररिङ सर्वे भइसक्यो। तर भारतीय आयल निगमले अवको लागत कति हुने भन्ने अनुमान गरिसकेको छैन। यो फाइनल गरेपछि मात्र काम अगाडि बढ्छ होला’ अमलेखगंज डिपो प्रमुख यादवले भने।

अमलेखगंजदेखि चितवनसम्म ग्याँस पाइपलाइन अगाडि बढाउन सरकारले समिति समेत गठन गरेको थियो। तर हालसम्म सो समितिले कुनै काम अगाडि नबढाएको निगम श्रोतले जनाएको छ।

मोतिहारीदेखि अमलेखगंजसम्म ल्याइएको पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म पुर्‍याउने र थप ग्याँसको पाइप समेत शुरु गर्ने गरी कार्तिक ९ गते शिलान्यास भएको परियोजनामा पेट्रोलियम ढुवानी व्यवसायी र ग्याँस कम्पनीहरूको एशोसिएशनको दवावमा स्थगित भएको निगम उच्च श्रोतले जनाएको छ।

पाइपबाट ग्याँस र इन्धन आपूर्ति शुरु भएका आफ्नो व्यवसाय चौपट हुने भन्दै यसअघि पनि पेट्रोलियम ढुवानी व्यवसायीले विरोध गर्दै आएका थिए। ग्यास र पेट्रोल गरी दुवै परियोजनाका लागि झण्डै २५ अर्ब खर्च हुने प्रारम्भिक अनुमान आयल निगमले गरेको थियो।

नेपाल-भारत सीमादेखि लोथरसम्म ९८ किलोमिटर ग्याँस पाइप विस्तार गर्न ११ अर्ब ११ करोड  र ग्याँस भण्डारण गर्ने पूर्वाधार निर्माणका लागि तीन अर्ब ८२ करोड खर्च हुने अनुमान गरेको निगम अहिले परियोजनाको पहिलो फेजमै पछि हटेको छ। इन्धन र ग्याँस भण्डारणका लागि निगमले लोथरमा २० बिगाहा जग्गा समेत खरिद गरिसकेको छ।

अमलेखगंज-चितवन (लोथर) पाइप विस्तारका लागि अमलेखगंजदेखि  चितवनसम्म ६२ किलोमिटर पाइप विस्तार गरी लोथरमा ठूला-ठूला इन्धन भण्डारण गर्ने निगमको योजना रहेको कार्तिक ९ गते शिलान्यास कार्यक्रममा निगमका कार्यकारी सुरेन्द्र पौडेलले जानकारी दिएका थिए।

तत्कालीन उद्योगमन्त्री यादव, आयल निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जोडतोडका साथ प्रतिवद्धता जनाएको सो परियोजनाको शुरुवाती अवस्थामा काम अगाडि बढ्न नदिन ठूलो राजनीति भएको निगमका अन्य कर्मचारीको दावी छ। 

‘यो प्रोजेक्ट सञ्चालनमा आउँदा मुलुकलाई धेरै ठूलो फाइदा  हुन्थ्यो। ग्याँस र इन्धन ढुवानीमा हुने धेरै ठूलो भाडाको रकम बच्ने मात्रै होइन। चितवनमा ठूलो इन्धन भण्डारण गरेर मुलुकभर सहज आपूर्ति गर्ने हाम्रो लक्ष्य थियो। तर अव काम अगाडि बढ्छ बढ्दैन। हामी आफैँ अन्योलमा छौं’ यादवले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.