गर्भवतीको नि:शुल्क स्वास्थ्य जाँच, सुत्केरीलाई घरमै पुगेर पोषण

|

बुटवलः बुटवलका विभिन्न सहरी स्वास्थ्य केन्द्रमा आधुनिक ल्याब सेवासहितको प्राथमिक स्वास्थ्य सेवा सञ्चालन भएपछि सेवाग्राहीको आकर्षण बढेको छ। 

सरकारी स्वास्थ्य संस्थामा सेवाग्राही विश्वस्त हुन नसकेको र सेवाप्रवाह पनि प्रभावकारी नभएको गुनासो आइरहेका बेलामा बुटवल उपमहानगरपालिकामा भने सरकारीमै सेवा लिनेको संख्या उल्लेख्य देखिन्छ। 

बुटवल उपमहानगरका १९ वटै वडामा मेडिकल अफिसर र जनस्वास्थ्य अधिकृतले आधुनिक ल्याबसहित नियमित सेवाप्रवाह गरिरहेका छन्। साना–साना स्वास्थ्य समस्यालाई लिएर पनि उनीहरू स्वास्थ्य संस्थामा जान थालेका छन्। उपमहानगरका विभिन्न १८ वटा स्वास्थ्य संस्थामा कार्यरत ५५ जना स्वास्थ्यकर्मीले नियमित सेवाप्रवाह गर्दै आएका छन्।

सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य  प्रवर्द्धन केन्द्र तथा स्वास्थ्य चौकीमार्फत प्राथमिक स्वास्थ्य सेवालाई प्रभावकारी र विश्वसनीय बनाउने पहल थालिएदेखि नै नगरवासीको आकर्षण बढेको प्रमुख शिवराज सुवेदीले बताए। सेवाग्राहीको संख्या मात्रै होइन उनीहरूमा सन्तुष्टि पनि बढाउने गरी सेवाप्रवाहलाई प्रभावकारी बनाउन पनि निर्देशन दिइएको उनको भनाई छ।  

‘मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलव्ध गराउने कोसिस गरेका छौं।’ उनले भने। 

बढ्दो मात्रामा छन् सेवाग्राही

आर्थिक वर्ष २०७४/०७५ मा नगरका सम्पूर्ण स्वास्थ्य संस्थाहरूबाट बहिरङ्ग सेवा लिने २१ हजार ४७३ जना रहेकोमा गत आव २०७५/०७६ मा १० हजार भन्दा धेरैले बृद्धि भएका छन्। उक्त आवमा मात्रै कुल ३२ हजार ८२१ जनाले सेवा लिएको उपमहानगरको शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखाको तथ्यांक छ। 

स्वास्थ्य संस्था नभएका वडामा वडाक्लिनिक सञ्चालनमा ल्याइएको छ जसअन्तर्गत आव २०७४/०७५ मा चार हजार ७०४ जनाले सेवा लिएकोमा गत आव २०७५/०७६ मा बृद्धि भई नौ हजार ५९० जना सेवाग्राही पुगे। 

ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य सेवा

८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरदैलोमै चौमासिक रुपमा पुगेर स्वास्थ्य चेकजाँच र नि:शुल्क औषधि उपलव्ध गराउने स्थानीय तहमा बुटवल नै मुलुकमा पहिलो मानिन्छ।

‘नगरप्रमुख ज्येष्ठ नागरिक घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण’ शीर्षकमा सुरु भएको यो कार्यक्रम अन्तर्गत एक हजार ३३२ जना ज्येष्ठ नागरिकले सेवा लिएका छन्। यो कार्यक्रम जारी छ। 

गर्भवती तथा सुत्केरीलाई घरमै पुगेर पोषण र औषधि

गर्भवती तथा सुत्केरी महिलालाई पनि घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको छ। पहिलो चरणमा सत्केरीलाई घरमै पुगेर पोषण सामग्री र भत्ता प्रदान गरिएको छ। यस्तै गर्भवतीलाई स्वास्थ्य संस्थामा आकर्षित गर्न क्याल्सियम चक्कीसहित पोषण साम्रागी सहयोग गरिएको छ।

महिलामा स्वास्थ्य तथा सरसफाइसम्बन्धी क्षमता अभिवृद्धि गराउने उद्देश्यले उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गर्नेमा बुटवल मुलुकमै नमुना हो। यस कार्यक्रमअन्तर्गत आव २०७५/०७६ मा ७२० जना लाभान्वित भएका छन्। आव २०७४/०७५ मा ७७० जनाले मात्र गर्भजाँचको सेवा लिएकोमा आव २०७५/०७६ मा एक हजार ३१३ जनाले सेवा लिएका छन्। 

उपप्रमुख गुमादेवी आचार्यले घरमै भेट्न गएर हालचाल सोधपुछ गर्ने र केही पोषण सामग्री प्रदान गर्दा उनीहरूमा सार्वजनिक स्वास्थ्यप्रति विश्वास बढेको पाइएको बताइन्। प्रोटोकल अनुसार चारपटक गर्भजाँच गर्ने महिलाको संख्या पनि अघिल्लो वर्ष ३९५ रहेकोमा यो वर्ष ३२ प्रतिशतले वृद्धि भई ५२३ पुगिसकेको छ।

सबै वडालाई पायक पर्ने गरी सञ्चालन गरिएका स्वास्थ्य संस्था तथा विभिन्न समयमा गरिने स्वास्थ्य शिविरमा हरेक वर्ष समुदायको आकर्षण बढ्दै गएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए। 

नगरका स्वास्थ्य संस्थाहरूबाट ४० वर्षभन्दा माथिका नागरिकलाई निशुल्क सुगरको जाँच भइरहेको छ। यसखालको निशुल्क सेवा मुलुकमै बुटवलले पहिलोपटक सुरु गरेको हो। यसअन्तर्गत करिब दुई हजार ५०० जनाले यो सेवा लिइसकेको शिक्षा, स्वास्थ्य तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले बताए।

उपमहानगरका स्वास्थ्य संस्थाहरूबाट गर्भवती महिलाको निशुल्क ल्याब परीक्षण गर्ने कार्यक्रम पनि बुटवलबाटै पहिलोपटक सुरु भएको हो। यसअन्गर्गत चालु आवको यो अवधिमा १०० जनाले सेवा लिएको खनालले बताए। 

ल्याबसँगै भौतिक विकास तथा स्तरोन्नति पनि 

बुटवल १२ नयाँ गाउँमा रहेको नगर स्वास्थ्य केन्द्रको भौतिक स्तरोन्नति गर्दै आधुनिक ल्याबसहित विशेषज्ञले सेवा प्रदान गर्दै आएका छन्। यस केन्द्रमा आयुर्वेद पद्दतिबाट पनि सेवा प्रदान हुँदै आएको छ।

भवन बनेर पनि सञ्चालनमा नआएको यो केन्द्रलाई जनप्रतिनिधि निर्वाचित भएपछि तला थप गरेर नगर स्वास्थ्य प्रवर्द्धन केन्द्रका रुपमा विकास गरिएको छ। साथै आधुनिक ल्याबसहित विशेषज्ञको व्यवस्था गरेपछि अहिले दैनिक ४० देखि ६० जनासम्मले सेवा लिन थालेका छन्। यस्तै बुटवल १५, १६ र १७ लाई लक्षित गरेर सेमलार स्वास्थ्य चौकीमा तारबार, बाटो ग्राभेल गरिएको छ।

बुटवल १८ र १९ लाई पायक पर्नेगरी मोतिपुर स्वास्थ्य चौकीमा कम्पाउण्ड वाल, ल्याब हल र रंगरोगन गरी चिटिक्क पारिएको छ। बुटवल ११ बुद्धनगरमा स्वास्थ्यचौकी निर्माण गरिएको छ भने 'वाउण्ड्री वाल'ले सुरक्षित पारिएको छ।

वडा न.४ मा शहरी स्वास्थ्य केन्द्रको स्थापना भइ सञ्चालनमा छ भने वडा ७ शिवनगरमा ल्याबसहितको व्यवस्थित स्वास्थ्य केन्द्र सञ्चालनमा छ। 

खोप भण्डार केन्द्रदेखि योग र पञ्चकर्मको सेवा

खोपहरूको सुरक्षित भण्डारण गर्न बुटवलमै खोप भण्डारण केन्द्रको स्थापना भएको छ। सिद्धार्थ बाल तथा महिला अस्पतालमा यो केन्द्र स्थापना गरिएको छ। यस्तै, लुम्बिनी आयुर्वेद औषधालयमा नियमित सेवा प्रवाहसहित ल्याबको समेत स्थापना गरिएको छ। योग एवम्‌ पञ्चकर्मलाई पनि बुटवलले प्राथमिकतामा राखेको छ। स्कुले बालबालिकादेखि विभिन्न उमेर समूहकालाई योग र पञ्चकर्म सिकाइएको योगका प्रशिक्षक विष्णु आचार्यले बताए। 

नगरका विभिन्न वडाहरूमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण, महिला तथा बच्चाका लागि मातृशिशु स्वास्थ्य, महिलाका लागि पाठेघर एवं स्तनक्यान्सर स्क्रिनिङ, आँखा जाँच, दन्त परीक्षण, छाला रोग र अपांगतासम्बन्धी शिविर सञ्चालन गर्ने, नगरभित्रका सामुदायिक निमावि र माविमा स्यानेटरी प्याड वितरण गर्ने र विभिन्न विद्यालयमा आइरन चक्की वितरण भइरहेको उपमहानगरले जनाएको छ। 

महिला स्वास्थ्य स्वयंसेविकाको परिचयपत्र निर्माण गरी वितरण गर्ने काम भइरहेको छ। अस्पतालजन्य फोहोरमैला व्यवस्थापनका लागि कार्यदलमार्फत योजना निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ।

स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन

सेवा गरे पनि सम्मान पाउन नसकेको गुनासो गरिरहेका स्वास्थ्य स्वयंसेविकालाई बुटवलले भने सम्मान गरेको छ। उनीहरूलाई प्रोत्साहन भत्तादेखि पहिचानका लागि परिचयपत्रसमेत वितरण गरिएको छ। यहाँका १७४ जना महिला स्वास्थ्य स्वयंसेविकाको परिचयपत्र वितरण गर्ने र यातायात तथा सञ्चार खर्चस्वरुप मासिक एक हजार प्रदान गरिएको छ। 

शिविरमार्फत १० हजारलाई सेवा

नगरका विभिन्न वडामा महिला तथा बच्चाका लागि मातृशिशु स्वास्थ्य परीक्षण शिविर, महिलाका लागि पाठेघर एवं स्तनक्यान्सर स्क्रिनिङ शिविर, ज्येष्ठ नागरिकका लागि स्वास्थ्य परीक्षण शिविरलगायत आँखा जाँच, दन्त परीक्षण, चर्मरोग, छाला रोग र अपांगतासम्बन्धी विभिन्न शिविरहरू सञ्चालन गरी करिब १० हजार जनालाई प्रत्यक्ष रुपमा सेवा प्रदान गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.