कोरोना भाइरसले निर्माणमा ढिलाइ हुने आशंका

|

काठमाडौं : चक्रपथ विस्तारका लागि रूख काट्ने काम अन्तिम चरणमा पुगेको छ। दोस्रो चक्रपथ विस्तारको सडक रेखांकनको लागि सडक विभागले दशैंअगाडिदेखि कलंकीबाट रूख काट्न शुरू गरेको थियो।

काठमाडौं चक्रपथ सुधार योजनाका अनुसार कलंकीदेखि गोपीकृष्ण हलसम्म दुई हजार ९३ वटा रूख काट्नु पर्ने योजना थियो। अहिलेसम्म दुई हजार ८९ वटा रूख काटिसकेको छ। चारवटा मात्रै रुख काट्न बाँकी छ। बिजुलीको पोल हटाउने काम ९० प्रतिशत सकिएको छ। चक्रपथ विस्तारका लागि तीन महिनासम्ममा सबै सडक रेखांकनको काम सकिने चक्रपथ सुधार योजनाले जानकारी दिएको छ।

काठमाडौं चक्रपथ सुधार योजना प्रमुख अमृतमणि रिमालले बाँकी रहेको रूख तीन दिनभित्रमा काटिसक्ने बताए। ‘चक्रपथ विस्तार गर्नुभन्दा पहिला सडकले चर्चेको क्षेत्र क्लियरिन्स गर्नुपर्छ,’ उनले भने, ‘रूख काट्ने काम अन्तिम चरणमा पुगेको छ।’ उनका अनुसार कलंकीदेखि चावहिलको गोपीकृष्ण हलसम्मका रूख काटिएको छ। अहिले पनि गोपीकृष्ण हल छेउछाउँका रूख काट्ने काम भइरहेको छ।’

उनले काटेको रूख गोठाटारमा लगेर स्टक गरी राख्दै आएको बताए। सरकारले पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको विस्तार गरेको थियो। दोस्रो चरणमा कलंकीदेखि महाराजगञ्जसम्मको ८.५ किलोमिटर भाग पनि सोहीअनुसार विस्तारको काम थालेको छ। 

सडक विभागका अनुसार चीन सरकारको सहयोगमा चक्रपथ विस्तार गर्न लागिएको हो। ‘चीनले चक्रपथ विस्तारको डिजाइन बनाइसकेको छ भन्ने जानकारी पाएका छौँ, ’काठमाडौं चक्रपथ सुधार योजनाका एक अधिकारीले भने, ‘हामीकहाँ पेस गरेका छैनन्। पेश गरिसकेपछि मात्रै कस्तो सडक बन्ने भन्ने थाहा हुन्छ।’ 

सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले चक्रपथ विस्तारका लागि तीब्र गतिमा सडक रेखांकनको काम भइरहेको बताए। ‘चक्रपथ विस्तारका लागि अहिले सडक रेखांकनको काम हुँदै छ,’ उनले भने, ‘विस्तारका लागि रूख काट्ने, बिजुलीका पोल हटाउने, टहरा हटाउनेलगायतका काम धमाधम गर्दे आएका छौँ। केही ठाउँका बिजुली पोल हटाउन भने समस्या भएको छ।’

उनले चक्रपथ विस्तारमा स्वयम्भूको गेटमा रहेको बुद्धको ठूलो मूर्ति हटाउनुपर्ने देखिएको बताए। सडक विभाग वैदेशिक सहयोग प्रमुख अर्जुनजंग थापाका अनुसार चिनियाँ प्रतिनिधि आएपछि मात्रै चक्रपथ विस्तारका काम गरिने छ।  उनले भने, ‘चीन सरकारको सहयोगमा सडक विस्तार हुने भएकाले उनीहरू आएपछि सबै काम गर्छन। हामीले सडक रेखांकन मात्रै गर्ने हो।’ कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ विस्तार कार्यमा करिब ६ अर्ब रुपैयाँ लाग्ने उनको अनुमान छ। 

सडक विभागका अनुसार ८ लेनको चक्रपथमा 'ओभरपास' तथा 'अण्डरपास' भने चार लेनको मात्रै हुने छ। सडक सुरक्षाको लागि मूल सडकको बीचमा डिभाइडर पनि राखिने छ। चक्रपथमा पर्ने बालाजुको नयाँ बजार चोकमा ओभरपास तथा महाराजगञ्ज चोकमा अण्डरपास बनाउने गरी प्रस्ताव गरिने छ। त्यस्तैगरी एक/एक वटा अण्डरपास र ओभरपास बनाउन पनि प्रस्ताव गरिने छ। 

कोरोना भाइरसले चक्रपथ विस्तार काम ढिलाई हुने आशंका

नेपालमा दक्ष कामदार छैनन्। त्यसो त चीनबाट दक्ष कामदार मगाउनु पर्ने अवस्था छ। चीनबाट कोरोना भाइरस फैलिएपछि आम सर्वसाधारण अहिले आतंकित भएका छन। चीन सरकारले चिनियाँ नागरिकलाई बाहिर पठाउन अहिले दिइरहेको छैन। चीनबाटै कामदार आए मात्रै चक्रपथ विस्तारका काम अघि बढ्ने छ। तर, अहिले कत्तिपय कामदार नेपालमा आउन सकेका छैनन्।

त्यसो त चक्रपथ विस्तारको काम पछि ढकेलिने पो होकी भन्ने आशंका उब्जिएको छ। सडक विभागका प्रवक्ता सापकोटाले भने कोरोना भाइरसले चक्रपथ विस्तारका लागि केही असर नगर्ने बताए। ‘अहिले चक्रपथ विस्तारका लागि तयारीको काम मात्रै भएको छ,’ उनले भने, ‘सबै तयारी गरिसक्दा कोरोना भाइरस हट्छ। कामदारको समस्या हुँदैन। पछि नेपालमा आइहाल्छन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.