|

सुर्खेत : सुर्खेतका पत्रकार नन्दबहादुर गेलाङको मृत्यु टिपर चालकको लापरवाहीका कारण भएको ठहर गरेको छ। जिल्ला अदालत सुर्खेतका जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको एकल इजलाशले दोषी ठहर गरेको हो।

गत जेठ २९ गते सुर्खेतको भेरीगंगा नगरपालिका ८ लोदेमा टिपरले पत्रकार गेलाङ सवार मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि जिल्ला सरकारी वकिल कार्यालयले टिपर चालक धादिङ ठाम्रे ६ का ३६ वर्षीय सन्तबहादुर राईलाई जन्म कैदको माग गर्दै अदालतमा रिट दायर गरेको थियो।

चालक राईले योजनावद्ध रूपले टिपर ब्याक गरी घाइते भएका गेलाङको ज्यान लिएको दाबीसहित गेलाङकी श्रीमती टीकाकुमारी मस्याङ्गी गेलाङले जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ (१) अनुसार जिल्ला वकिल कार्यालयले जन्म कैदको माग गर्दै २०७६ असार २२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। तर जिल्ला अदालतले भने त्यसो नभई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ (२) अनुसार घटना भएको ठहर गरेको छ।

यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ (२) बुँदा अनुसार कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरूप २१ दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म जरिवाना हुने उल्लेख गरिएका छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.