नबिल र एभरेष्ट बैंकले लगानी गर्ने
नबिल र एभरेष्ट बैंकले लगानी गर्ने
काठमाडौं : नौ सय मेगावट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाका लागि नेपाल र भारतका सात बैंकले वित्तीय व्यवस्थापन गर्ने भएका छन्।
भारतीय कम्पनी सतलजले निर्माण जिम्मा लिएको अरुण तेस्रोका लागि बिहीबार वित्तीय व्यवस्थापनको पक्ष टुंग्याइएको हो।
२५ प्रतिशत बढी निर्माण भइसकेको यो आयोजनामा लामो प्रतिक्षापछि वित्तीय व्यवस्थापनको पक्ष टुंग्याइएको हो। नेपाल र भारतका ७ वटा बैंकहरुले आयोजनाका लागि करिब एक खर्ब लगानी सम्झौता गरेका छन्।
जसमा भारत सरकार स्वामित्वको भारतीय स्टेट बैंक (एसबीआई), पञ्जाव नेशनल बैंक, युनियन बैंक अफ इन्डिया, क्यानरा बैंक र भारतीय एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकले ऋण लगानी गर्ने भएका छन्। त्यसैगरी यो आयोजना निर्माणका लागि नेपालका एभरेष्ट र नबिल बैंकले पनि लगानी गर्दैछन्।
सरकारले २०७१ साल मंसिर ९ गते परियोजना विकास सम्झौता (पीडीए) गरी निर्माण जिम्मेवारी भारतीय कम्पनी सतलजलाई दिएको थियो।
नेपाल र भारतका प्रधानमन्त्रीले २०७५ बैसाख २९ गते नयादिल्लीमा स्वीच थिचेर अरुण तेस्रो परियोजनाको संयुक्त शिलान्यास गरेका थिए।
अहिले अरुण तेस्रोमा २५ प्रतिशत काम सकिएको ऊर्जा मन्त्रालयले जनाएको छ। सम्झौताअनुसार यो जलविद्युत् परियोजना सन् २०२२ भित्र सम्पन्न गरिने छ ।
अरुण ३ मा करिब साढे १४ अर्ब रुपैयाँ (९ अर्ब भारु) नेपाली दुई बैंकले लगानी गर्दैछन् । नेपालको तर्फबाट नबिल बैंक र एभरेष्ट बैंकले लगानी गर्ने छन्।
लगानी सम्मेलनको क्रममा एभरेष्ट बैंकले ८ अर्ब १२ करोड ६१ लाख र नबिल बैंकले ४ अर्ब ८७ करोड ५८ लाख रुपैयाँ ऋण दिने गरी सम्झौता गरेका थिए। करिब ८५ प्रतिशत अर्थात ८५ अर्ब रुफेयाँ पाँचवटा भारतीय बैंकमार्फत ऋण लिइने भएको छ।
स्टेट बैंक अफ इन्डिया (एसबीआई) को नेतृत्वमा भारतका पाँचवटा बैंकले अरुण तेस्रोमा ऋण लगानी गर्दैछन्। यो परियोजना निर्माणको लगानी एक खर्ब १६ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।