उच्चस्तरीय र प्रदेश स्तरीय द्रुत प्रतिकार्य समिति गठन

|

हेटौँडा : चीनको हुवेइ प्रान्तबाट सुरु भएको नोवल कोरोना भाइरसप्रति बागमती प्रदेश सरकारले उच्च सतर्कता अपनाउने भएको छ।

बिहीबार बागमती प्रदेशको प्रदेश स्वास्थ्य निर्देशनालयले राजधानी हेटौँडामा पत्रकारहरूसँग छलफल गर्दै प्रदेश सरकारले कोरोना भाइरसप्रतिको अवस्था, तयारी तथा सजगता र योजनाबारे जानकारी दिएको हो।

दुईवटा समिति गठन

बागमती प्रदेशको प्रदेश स्वास्थ्य निर्देशनालयले कोरना भाइरस नेपाल छिर्न नदिन, छिरेमा गरिने कार्यको लागि दुईवटा समिति गठन गरेको छ। सामाजिक विकास मन्त्रालयअन्तर्गत उच्चस्तरीय समिति र प्रदेश स्तरीय द्रुत प्रतिकार्य समिति गठन गरी कार्य अघि बढाएको निर्देशनालयका  निर्देशक डा. रमेशप्रसाद अधिकारीले बताए।

सामाजिक विकास मन्त्रालयका सचिव डा. गोकर्णमणी दुवाडीको संयोजकत्वमा स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रमेश अधिकारी, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा. वसन्त अधिकारी, प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक बद्री खड्का, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण बहादुर कार्की र सामाजिक विकास मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाई सदस्य सचिव रहने गरि उच्च स्तरिय समिति गठन भएको हो।

यस्तै, स्वास्थ्य निर्देशक डा. रमेशप्रसाद अधिकारीको संयोजकत्वमा सदस्यहरू प्रदेश प्रहरी प्रमुख, प्रदेश खानेपानी सरसफाई प्रमुख, सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेण्डेट, पशु सेवा कार्यालयका प्रमुख, सामाजिक विकास मन्त्रालय चिकित्सा शाखा प्रमुख सदस्य रहने गरी प्रदेश स्तरीय द्रुत प्रतिकार्य समिति गठन निर्देशक अधिकारीले जानकारी दिए।

नाकामा विशेष सावधानी

कोरोना भाइरस नेपाल र चीनबीचको नाका हुँदै आउने मानिस माध्यमबाट आउन सक्ने भन्दै प्रदेश सरकारले तातोपानी र केरुङ नाकामा विशेष सावधानी अपनाउन डेस्क राखेको निर्देशक अधिकारीले जानकारी दिएका छन्। यद्यपि चीनले दुवै नाका बन्द गरिसकेको अधिकारीले बताए।

यस्तै, बागमती प्रदेश भित्रका पर्यटकीय क्षेत्रहरूमा विषेश सावधानी अपनाइने उनले बताए। निर्देशनालयले संक्रमितलाई परीक्षण गर्दा चिकित्सकलाई समेत यो भाइरस सर्न सक्ने भएकाले प्रदेशभरीका सरकारी अस्पतालहरूमा एक थान चिकित्सक लागि 'स्पेशल गाउन' खरिद गर्न निर्देशन दिइसकेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थाका निर्देशक डाक्टर वसन्त अधिकारीले बताए। प्रदेशअन्तर्गत रहने अस्पतालहरूमा ज्वरो नाप्ने इन्फोरेन्ट थर्मोमिटर पनि वितरण गर्ने तयारी गरेको अधिकारीले बताए। 

यस्तै हेटौंडा अस्पताल र चितवन अस्पतालमा पनि बिरामीमा भाइरसको लक्षण देखिन सक्नेहरूलाई तत्काल छुट्टै राखेर उपचार गर्ने व्यवस्था गरिएको स्वास्थ्य निर्देशनालयका चिकित्सा शाखाका पुरुषोत्तोम सेढाइले जानकारी दिए। ओपिडीमै सबै बिरामीको उपचार गर्दा भाइरस फैलन सक्ने भएकाले दुई बेडको छुट्टै दुईवटा कोठाको व्यवस्था गरिएको  निर्देशनालयले जनाएको छ। 

कसरी बच्ने?

नोवल कोरोना भाइरसको बारेमा पत्रकारसँगको अन्तरक्रियामा बोल्दै प्रदेश स्वास्थ्य निर्देशनालयका चिकित्सकहरूले बच्ने उपायहरूबारे जानकारी गराएका छन्।  चिकित्सकहरूका अनुसार कोरोना भाइरस सर्ने मुख्य कारण हात मिलाउँदा, श्वास प्रश्वास रहेको छ।

नेपालीको बानी हाच्छ्ँयु गर्दा नाक मुखमा हात लैजाने, त्यही हात मिलाउने र भीडभाडमा समेत मास्क नलगाउनेले नेपालमा छिरेमा छिट्टै फैलन सक्ने अनुमान गरिएको छ। कोरोना भाइरसबाट बच्न हातलाई साबुन-पानीले धुने, खोक्दा नाक र मुखमा हातले नभई रुमाल वा कुहिनोले छोप्नु पर्ने छ। 

यस्तै, चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बच्नु पर्ने चिकित्सकहरूले सुझाव दिएका छन्। पशुजन्य खानेकुरा  मासु र अण्डा जस्तालाई  काँचो  नखान आग्रह गरेका छन्। 

निर्देशक डा. रमेश प्रसाद अधिकारीका अनुसार हालसम्म संक्रमण भएको मध्ये २ दशमलव २ प्रतिशतको मात्रै मृत्यु भएको छ। भाइरस संक्रमित अधिकांश ५० वर्षभन्दा माथि र रोगी, बिरामीहरूलाई लाग्ने गरेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको अधिकारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.