|

बर्दिया : ‘यस वर्षको माघ महिना पहिलेका वर्षहरु जस्तो रमाइलो भएन,’ ठाकुरबाबा नगरपालिका–२ का ७६ वर्षीय गण्ठुराम थरुले सुनाउँदै थिए, ‘माघ सुरु हुनुभन्दा एक महिना पहिले माघीको रौनक सुरु हुन्थ्यो। खुबै रमाइलोसँग मघौटा नाच नाचिन्थ्यो। अहिले त्यो सबै हराएको देख्दा दुःख लागिरहेको छ।’

गण्ठुराम यतिमै रोकिएनन्। मौलिकता जोगाउन यतिका लामो समय पहल गरे पछिल्लो समय हराउन थालेकोमा उनलाई चिन्ता बढेको छ। ‘समय हुने बित्तिकै मौलिकता र पहिचानकै विषयमा चर्चा हुन्थ्यो, आजसम्म जोगाएर राखियो,’  उनले भने, ‘अब त उमेर पनि ढल्कियो, शरीरले भ्याउनै छोड्यो, कतै थारुहरुको मौलिकता लोप नै भएर जाने हो की भन्ने चिन्ता लाग्न थालेको छ।’

पछिल्लो समय पहिलाको जस्तो माघीमा नाचिने मघौटा नाच देख्न छाडेको थारु बुढापाका बताउँछन्। खुसीलाल थारूले भने, ‘पहिलेभन्दा चहलपहल निकै घटिसकेको छ।’ केही वर्ष पहिले एक महिना पहिलेदेखि नै गाउँघरमा नाच हुने भए पनि पछिल्लो समय हराउँदै गएको फूलमती थारु बताउँछिन्। उनले भनिन्, ‘माघीको १/२ दिन रमाइलो भयो, त्यसपछि सकियो।’

पहिले गाउँभरी थारू नाच नाचिने भए पनि अहिले केही होमस्टेहरुमा मात्र देख्न पाइन्छ। यस्तै, उनीहरुको परम्परागत वस्तुहरु पनि हामस्टेहरूमा मात्रै देखिन्छ। 

यस्तै, थारु संग्रालयहरुमा समेत थारु समुदायका मौलिक कला तथा संस्कृति झल्काउने नाच तथा सामग्रीहरु संरक्षण गरेर राखिएका छन्। यसले आन्तरकि तथा बाह्य पर्यटकहरु आकर्षित हुने गरेका छन्। 

थारु समुदायले मौलिक कला, संस्कृति, रहनसहन, खानपान तथा नाचहरु संरक्षण गरेर राखेमा त्यसबाटै पनि गतिलो आम्दानी गर्न सकिने होमस्टे सञ्चालक युवक जीवन थारुले बताए।

थारू समुदायका व्यक्तिहरूले माछा मार्नका लागि डेलिया, पखैजस्ता सामग्री प्रयोग गर्थे। ती सामग्रीहरु पनि हराउँदै गएको छ। यस्तै, दशैं, तिहार, माघीलगायतका चाडपर्वमा नाचिने सखिया, हुर्दङ्गवा, मघौटा नाचहरु पनि नाच्न छाडिएको स्थानीयहरु बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.