नीति तथा कार्यक्रमको पनि उही हालत

|

काठमाडौं : काठमाडौं महानगरपालिकाले गत वर्ष ०७५/०७६ मा विभिन्न नीति तथा कार्यक्रमहरू घोषण गर्‍यो। चालु योजनाहरूमा मैतीदेवी धर्मशाला निर्माण, सडक नियमित मर्मत सुधार, तीनकुने बुद्धपार्क निर्माण, लगन चोकमा चौतारा निर्माण, हनुमानढोकाबाट स्वयम्भू जोड्ने पदयात्राको पथ सम्‍वर्द्धनलगायत दुई सय ३५ भन्दा बढी नगरपालिकाका नीति तथा कार्यक्रमहरू थिए।

ती योजना सार्वजनिक गर्दा तोकिएको समयभित्र सबै काम सक्ने नगरपालिकाले बताएको थियो। तर, अहिलेसम्म पनि यी सबै नीति तथा कार्यक्रम नगरपालिकाले कार्यन्वयनमा ल्याउन सकेको छैन। तीनकुनेमा बुद्धपार्क बनाउने महानगरपालिकाको योजना अलपत्र छ। अहिले ती खाली ठाउँमा सहरबासीले शौच र खेलमैदानको रूपमा प्रयोग गर्दै आएका छन्।

धर्मशालाको सुरसारै छैन

वृद्धवृद्धा, भक्तजन राख्न मैतीदेवी मन्दिरसँगै मैतीदेवी धर्मशाला बनाउने योजना महानगरपालिकाको योजना थियो। यसका लागि ५० लाख बजेटसमेत विनियोजन गर्‍यो। तर, अहिले सम्म पनि धर्मशाला बनाउने सुरसार छैन।

त्यस्तैगरी महानगरमा प्लास्टिकजन्य झोला बिक्री वितरण तथा प्रयोग निषेध गर्ने नीति ल्यायो। महानगर क्षेत्रमा ३० माइक्रोनभन्दा कम तौलका झोला उत्पादन र प्रयोग गर्न प्रतिबन्ध लगाउन जनचेतना, प्रचारप्रसार, पत्राचार तथा अनुगमन र कारबाही गर्ने कार्ययोजना बनाइयो। र महानगरपालिकाले यसका लागि पाँच लाख रूपैयाँ बजेट विनियोजन पनि गर्‍यो। तर, योजना कार्यान्वयनमा आउन सकेन। 

पशु सेवा अन्तर्गतको वधशाला निर्माण तथा व्यवस्थापन गर्ने र मासु पसल सुधार कार्यक्रम योजना पनि फितलो छ। वेवारिशे लास व्यवस्थापन गर्ने योजना पनि अहिलेसम्म कार्यन्वयनमा आउन सकेको छैन। यी  नीति तथा योजना त कार्यन्वयन नभएका उदाहरण मात्रै हुन्। यस्ता थुप्रै नगरपालिकाको योजना अलपत्र छन्। 

आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि उस्तै हालत

काठमाडौं महानरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमहरू पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन। काठमाडौं महानगरपालिकाले असारमै राष्ट्रिय सभा गृहमा कार्यक्रम गरी ७० भन्दा बढी नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो। त्यस कार्यक्रममा नगर प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम समयसिमाभित्रै कार्यान्वयनमा ल्याउने बताएका थिए।

नीति तथा कार्यक्रम सार्वजनिक गरेको ७ महिना वितिसक्यो तर, कार्यन्वयनमा आउन सकेको छैन। शिक्षा नीतिअन्तर्गत प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, समृद्ध महानगर निर्माणको आधारलाई साकार गर्न आगामी दुई वर्षभित्र महानगरपालिकामा प्राविधिक विद्यालय सञ्चालन गर्ने साथै सबै सामुदायिक माध्यमिक विद्यालयहरूमा विज्ञान तथा कम्प्युटर प्रयोगशाला स्थापना गर्न योजना पनि अहिलेसम्म लागू हुन सकेको छैन।

त्यस्तैगरी प्रदूषण नियन्त्रण नीति अन्तर्गत ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिकका झोला प्रयोग नगर्ने नीति ल्याएको पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन। आकाशेपुल निर्माण,नगर–नगर साझेदारी कार्यक्रम फितलो छ। पशुपतिदेखि बौद्धस्तुपसम्म हरित सम्पदा मार्गको कामको थालनी पनि हुन सकेको छैन। सरकारबाट प्राप्त भएको शशर्त योजना तथा कार्यक्रमहरू पनि अलपत्र छन्। 

नगरपालिकाले यस्ता योजना कार्यन्वयनमा ल्याउन नसकेको समस्या अहिले मात्रै भने होइन। पहिलेदेखी नै नगरपालिका भित्र यो समस्याको जरो गाडिसकेको हो। जनप्रतिनिधिको भाषण अनुसार योजना कार्यन्यनमा ल्याउन नसक्नु पक्कै विडम्बना मानुपर्छ। आर्थिक समस्याले पनि योजना रोकिएको भने होइन।

नगरपालिकासँग प्रशस्त रकम भएको नगर प्रमुख शाक्यले बरम्बार विभिन्न सार्वजनिक कार्यक्रमहरूमा बताउँदै आएको छ। योजना ल्याइए पनि नगरपालिकाको बेवास्ताकै कारणले यी नीति तथा कार्यक्रमका योजनाहरू अहिले पनि घोषणापत्रमै सीमित भएका हुन्। 

‘सार्वजनिक जग्गा नहुँदा भवन निर्माणका काम भएन’

काठमाडौं महानगरपालिका प्रवत्ता ईश्वरमान डंगोलले सार्वजनिक जग्गाकै अभावले नगरपालिकाले ल्याएको योजना अनुरुप भवन,पार्क, विज्ञान प्रयोगशाला बनाउन नसकेको बताउँछन। उनले भने,‘नगरपालिकाले धेरै योजनाहरू ल्याएको छ।

वेवारिशे लाश व्यवस्थापन लगायतका धेरै हाम्रा योजना छन्। सार्वजनिक जग्गा अभावकै कारण यस्ता भवनहरू बन्न सकेको छैन।’ योजनाहरू ल्याए पनि कानुनी प्रकृयालगायत सबै प्रकृया पुर्‍याउनुपर्ने हुँदा योजना कार्यन्वयनमा ल्याउन ढिलाइ हुने गरेको उनको भनाइ छ। 

धेरैमा हात हाल्दा योजना सफल हुन सकेन

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले महानगरले ल्याएको नीति कार्यन्वयन गर्न नसकेको स्वीकार्दे आर्थिक वर्षभित्रमा कम तौलका प्लाष्टिकका झोला प्रयोग निषेध जसरी भएपनि कार्यन्यनमा ल्याउने बताए।

‘नगरपालिकाले योजना ल्याएको एउटा विषयमा मात्रै नलागी धेरै योजनामा हात हाल्दा सफल हुन सकिएको छैन,’उनले भने,‘यस वर्ष वातावरण प्रदुषण सम्बन्धी ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिकका झोला प्रयोग निषेध जसरी पनि कार्यान्वयन गर्छाैं।’

उनका अनुसार महानगरले थुप्रै योजना सञ्चालन गर्ने भएकाले पनि समस्या भइरहेको छ। काठमाडौं महानगरपालिका शिक्षा विभागका निमित्त शिक्षा अधिकारी तारापति खरेलले महानगरको शिक्षा सम्बन्धी योजनाहरू कार्यन्वयनमा ल्याउन पहल गरिरहेको दाबी गर्छन्।

उनले भने,‘काम गर्दे गर्दा विविन्न समस्याहरू आईपर्छन। नगरपालिकाले शिक्षा सम्बन्धी धेरै योजना ल्याएको छ। विस्तारै कार्यन्वयनमा ल्याउँदै जान्छौँ। यसमा निरन्तर केन्द्रित भएर काम गर्दे आएका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.