|

बर्दिया : प्रदेश-५ को बर्दियाका थारू समुदाय र गण्डकी प्रदेशको कास्की र पर्वतका गुरुङ समुदायबीच मितेरी सम्बन्ध स्थापना गरिएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका-५ गोविन्दपुरमा एक कार्यक्रमको आयोजना गर्दै दई प्रदेशका थारू र गुरुङ समुदायबीच मितेरी साइनो स्थापना गरिएको हो।

'जाउँ है घुम्नलाई, मितेरी जोडेर सुरु गरौँ भ्रमण वर्षलाई' भन्ने मुल नाराका साथ बर्दियाको गोविन्दपुर सामुदायिक होमस्टे र कास्कीको ताङतिङ सामुदायिक होमस्टे तथा बर्दियाको खाता जैविक मार्ग होमस्टे र पर्वतको भुक देउराली नमुना सामुदायिक होमस्टेबीच मितेरी साइनो गासिएको गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालले जनाएको छ।

बर्दिया पोखरा सम्पर्क समाज, टि ट्यवान्टी ट्राभलको समन्वय तथा बर्दियाको ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका, बार बर्दिया नगरपालिका र बाँसगढी नगरपालिकाको सहकार्यमा मितेरी साइनो स्थापना कार्यक्रमको आयोजना गरिएको हो।

बर्दियामा होमस्टे सञ्चालन गर्दै आएका थारू समुदाय र पर्वत र कास्कीमा होमस्टे सञ्चालन गर्दै आएका गुरुङ समुदायले आ-आफ्नो समुदायको मौलिकता झल्किने पोसाक साटासाट गरेर मितेरी साइनो गासेका छन्।

दुवै प्रदेशका होमस्टे सञ्चालकले एक-अर्काको संस्कार र संस्कृति प्रचारप्रसारमा सहयोग गर्ने जनाएका छन्। बर्दिया क्षेत्र नम्बर २ का संघीय सांसद सन्तकुमार थारूले मितेरी साइनोले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको बताए। 

पर्वत र कास्कीका गुरुङ सुमदायले धेरै लामो समयदेखि होमस्टे सञ्चालन गरेर आफ्नो मौलिक कला संस्कृतिको संरक्षण र प्रचारप्रसार गरिरहेका छन् भने बर्दियाका थारू समुदायले पनि केही समय पहिलेदेखि आफ्नो क्षेत्रमा होमस्टे सञ्चालनमा ल्याएर थारू संस्कार र संस्कृतिको संरक्षण र प्रचारप्रसार गर्दै आएका छन्।

यस्तै, बर्दिया र कास्की तथा पर्वतका होमस्टेबीच मितेरी साइनो कायम भएसँगै कास्कीको मादी गाउँपालिकाको ताङतिङ सामुदायिक होमस्टेले २०७७ बैशाख १ गतेदेखि आयोजना गर्न लागिएको कर्पु महोत्सवका लागि निमन्त्रणासमेत गरेको छ।

गुरुङ समुदाले बर्दिया आएर थारू पहिरन, संस्कार र संस्कृति देखेर खुसी लागेको जनाएका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिका-५ का वडा अध्यक्ष गंगाराम जैशी र कास्कीको मादी गाउँपालिका-२ का वडा अध्यक्ष तथा गोविन्दपुर सामुदायिक होमस्टेका अध्यक्ष र ताङतिङ सामुदायिक होमस्टेका अध्यक्षले एक आपसमा पहिरन साटासाट गरेको होमस्टे सञ्चालक जीवन थारूले बताए।

प्रदेश-५ तथा गण्डकी प्रदेश विशेष गरी पर्यटकीय गन्तब्य पनि मानिन्छन्। दुवै प्रदेश कला र संस्कृतिका धनी छन्। एक प्रदेशले अर्को प्रदेशसँग मितेरी सम्बन्ध स्थापना गर्नाले पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख कृष्णा कुष्मा थारूले बताइन्।

गोविन्दपुर सामुदायिक होमस्टेका अध्यक्ष वीरबहादुर कुस्माको अध्यक्षतामा सम्पन्न भएको मितेरी सम्बन्ध स्थापना कार्यक्रममा बर्दिया क्षेत्र नम्बर २ का संघीय सांसद सन्तकुमार थारूको प्रमुख आथित्यता रहेको थियो भने प्रदेश-५ प्रदेशसभा सदस्य लौटी थारूको विशिष्ठ आथित्यता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.