जब गृहगाउँमा बोल्दाबोल्दै भक्कानिए…

|

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले नेपालमा पछिल्लो समय दक्षिणपन्थी शक्ति हाबी हुँदै गएको बताएका छन्। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ४ स्थित सेतीदेवी माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपालमा दक्षिणन्थी शक्तिले कब्जा जमाउन खोजेको बताएका हुन्।

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपामा पछिल्लो समयमा विवादास्पद बन्दै गएको अमेरिकी परियोजना एमसिसीलाई संकेत गर्दै सभामुख सापकोटाले सो अभिव्यक्ति दिएका हुन्। सिन्धुवासीको मायाकै कारणले आफू संसदको गरिमामय पदमा पुगेको भन्दै सापकोटाले सिन्धुवासीको आशा र भरोषा नतोड्ने प्रतिबद्धता गरेका छन्।

राष्ट्रियताप्रति आँच आउने कुनै काम गर्दिनँ

संसदको गरिमामय पदमा पुगेका सापकोटाले राष्ट र राष्ट्रियताविपरीत कुनै निर्णय नगर्ने जिकिर गरेका छन्। राष्ट्रप्रेमी व्यक्ति भएकाले राष्ट्रियताप्रति कुनै आँच आउँने काम नगर्ने उद्घोष गरे। ‘लामो संघर्षरत राजनीतिक छिचोल्दै आफू म यो स्थानमा पुगेको छु, त्यसैले अब देश जनताको लागि निरन्तर लाग्छु’ उनले भने।

करिब चार महिनाबाट रिक्त रहेको सभामुखको जिम्मेवारी पाएकाले संसदमा धेरै विधेयकहरू अलपत्र अवस्थामा पुगेकाले त्यसलाई छिट्टै पूर्णता दिने जनाए। नेपालमा मौलाउँदै गएका भ्रष्टाचार, विकृत्ति र विसंगतिलाई जरैदेखि उखालेर फाल्नुपर्ने उनको भनाइ छ।

जब गृहगाउँमा पुगेपछि भक्कनिए

प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछि पहिलोपटक गृहगाउँ कुविण्डे पुगेका सभामुख सापकोटा कार्यक्रममा बोल्दाबोल्दै भक्कानिन पुगेका छन्। कार्यक्रममा भनाइ राखिरहेकै क्रममा भावपूर्ण हुँदै गर्दा उनको गला अवरुद्ध भयो। जनयुद्धको उद्गमस्थलको रुपमा रहेको सापकोटाको गृहगाउँका २२ जनाको युद्धकालमा मृत्यु भएको थियो।

सोही शहीद परिवारको आमाहरूले सभामुख निर्वाचित भएपछि काठमाडौंमा आशीर्वाद दिन पुगको कुरालाई सम्झँदै सापकोटा भक्कानिन पुगे। ‘यति सानो गाउँमा जनयुद्धको क्रममा हामीले २२ जना गुमायौँ। तर, सोहीसहित परिवारको आमाहरूले मलाई आत्मविश्वास र हौसला बढाउनको लागि काठमाडौंसम्म पुग्दा मेरो मन थामिन सकेन’ उनले भने।

कार्यक्रममा मञ्चबाट सापकोटाले बोल्‍दै गर्दा गला अवरुद्ध भएपछि धेरै कुरा राख्‍न नसक्ने बताइरहँदा उपस्थित भएकाहरूमा पनि मौनता देखियो।

सिन्धुवासीको आशाको दियो निभाउँदिनँ

सभामुख सापकोटाले आफूलाई संसदको गरिमामय पदसम्म पुर्‍याउन सिन्धुवासीले अध्याधिक माया गरेको हुनाले सिन्धुवासीको आशालाई मर्न नदिने प्रतिबद्धता जाहेर गरेका छन्।

‘सिन्धुपाल्चोकवासीले आफूलाई पटकपटक निर्वाचित गराएर यो स्थानमा पुर्‍याउनुभयो’ उनले भने, ‘त्यसैले म सिन्धुवासीको आशाको दियो निभ्न दिने छैन।’ सिन्धुपाल्चोक विकास र आर्थिक वृद्धिका लागि मेलम्ची, सुनकोशी, ब्रमायणी करिडोरलाई तीव्ररूपले विकास गर्नमा जोड दिए। देशको अर्थतन्त्रसँग जोडिएको तातोपानी नाकाको स्तरोन्नतिको लागि पनि आफूले सक्दो पहल गर्ने जनाए।

‘अहिले चिनको बुहान शहरमा आक्रान्त बनेको नोबेल कोरोना भाइरसको संक्रमण छ। त्यसैले गर्दा नाकाबन्द गर्न बाध्य भएको छौँ’ उनले भने, ‘त्यो भाइरसको अन्त्य भएपछि तातोपानी नाकालाई थप व्यवस्थित बनाउन लागिपर्नेछु।’ ‘अब म साझा व्यक्ति हुँ’ सभामुख निर्वाचित भएपछि सापकोटाले आफू अब साझा व्यक्ति भएको बताए। सभामुख निर्वाचित भएपछि नेपाल कम्युनिष्ट पार्टीबाट राजीनामा गरेपछि साझा व्यक्ति भएको बताए।

‘२०३७ सालबाट राजनीति गरेदेखि पार्टीको कुनै कार्यक्रममा सहभागी हुन छाडेको थिइनँ। तर, म यो पदमा पुगेपछि पार्टी राजनीतिबाट टाढा भएको छु’ उनले भने।

पार्टीबाट राजीनामा दिएको केहि दिनपछि सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा आफू सहभागी हुन नपाउँदा खल्लो महसुश भएको प्रतिक्रिया दिए। पार्टी राजनीतिबाट अलग्गै भएपछि आगामी दिनमा संसदको जिम्मेवारीलाई कतव्यनिष्ठ भएर गर्ने जिकिर गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.