|

भद्रपुर : भद्रपुरस्थित मेची पुल हुँदै हुलाकी राजमार्ग जोड्ने नेपालतर्फको 'एप्रोच रोड' (पहुँच सडक) निर्माण कार्य बल्ल शुरू भएको छ। करिब डेढ वर्षअघि ठेक्का लागि सकेका एप्रोच रोडभित्र पर्ने भौतिक संरचनासहित जमिनको मुआब्जा माग्दै स्थानीयले अवरोध गरेका थिए। 

संघर्ष समिति गठन गरी स्थानीयले अवरोध गरेपछि भद्रपुर नगरपालिका, ५ नम्बर वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय झापा र स्थानीय राजनीतिक दलको संयुक्त पहलमा स्थानीयले एप्रोच रोड बनाउन एक बुँदे निर्णयमा सहमति जनाएपछि शनिबारदेखि निर्माण कार्य शुरू भएको हो। 

निर्माण कम्पनीले झापा चोकदेखि निर्माण कार्य शुरू गरिसकेको भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले जानकारी दिए। मेची पुलदेखि पुरानो माछा हटिया, बसपार्क हुँदै झापाचोक जोडने हुलाकी राजमार्ग सम्मको कालोपत्रे सडक विस्तारका लागि हुलाकी राजमार्ग निर्देशनालय काठमाडौँले बोलपत्र आह्वान गरी २०७५ असार २८ गते ठेक्का लगाएको हो। 

प्रधानमन्त्रीले उद्‌घाटन गरेको मेची पुलमा 'एप्रोच रोड' बनाउन विहारका मुख्यमन्त्रीसँग गुहार

१२९० मिटर सडक निर्माणका लागि करिब साढे ५ करोडमा याक्थुम्हाङ निर्माण सेवा पाँचथरले ठेक्का लिएको हो। ठेक्का लागेको सडक साढे ७ मिटरको निर्माण हुने जनाइएको छ। हुलाकीले सडक विस्तार गर्दा दायाँबायाँ १५/१५ मिटर र थप ६/६ मिटर साइट ब्याक अप हुनुपर्छ भनी राजपत्रमै सूचना प्रकाशित गरिसकेको छ।

सडकदेखि २१ मिटर जमिन स्थानीयले छाड्नुपर्ने अवस्था सृजना भएपछि सो सडक निर्माणमा विवाद बढेको थियो। २१ मिटर जमिन छाड्दा पनि सरकारले उचित क्षतिपूर्ति नदिने भएपछि सडक आसपासका स्थानीय आन्दोलित बन्दा डेढ वर्षदेखि निर्माण कार्य ठप्प बनेको थियो। गत २०७५ साल माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मेची पुलको उद्घाटन गरे पनि हालसम्म पुल जोडने दुवै तर्फको एप्रोच रोड बनेको छैन।

यस्तो भयो सहमति

जिल्ला प्रशासन कार्यालय झापामा माघ २४ गते भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको उपस्थितिमा मेची पुलदेखि झापा चोक जोड्ने हुलाकी राजमार्ग निर्माण सम्बन्धमा सरोकारवाला र स्थानीयबीच भएको एक बुँदे सहमति अनुसार नगरपालिकाको पाँचौँ नगर सभाको निर्णय बमोजिम झापा चोकदेखि शोभा श्रेष्ठको घरसम्मको सडक निर्माण गरिने खण्डमा सडकको केन्द्रबाट दायाँ-बायाँ २५/२५ फिटभित्र पर्ने भौतिक संरचनाको क्षतिपूर्तिको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने र सो सडक खण्डको निर्माण कार्य सुचारु गर्ने निर्णय गरिएको छ। 

बैठकमा भद्रपुरका मेयर श्रेष्ठ, झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर, ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की, हुलाकी राजमार्ग आयोजनाका इन्जिनियर माधव पौडेल, लेखा अधिकृत हृदयनारायण शाह, झापा उद्योग संघका वरिष्ठ उपाध्यक्ष यमबहादुर श्रेष्ठ, संघर्ष समितिका संयोजक इन्द्रकान्त झा, अनिलाल मेचे, जीवनकृष्ण घोष, जोसेफ श्रेष्ठ, मोहन गुप्ता, राजेन्द्र महतो, झोलाप्रसाद साह, दुर्गाप्रसाद गौतमलगायतले सहमतिमा हस्ताक्षर गरेका छन्। 

यस्तो छ नगरपालिकाको निर्णय

माघ १९ र २० गते बसेको भद्रपुर नगरपालिकाको पाँचौँ नगर सभाले पारित गरेको निर्णय अनुसार झापा चोकदेखि मेची पुल जोडने सडकखण्ड गत आर्थिक वर्ष २०७५/०७६ मा ठेक्का लागि सडक निर्माण कार्य सञ्चालन गर्ने क्रममा स्थानीय संघर्ष समितिले अवरोध सिर्जना गरेकोले रोकिएको निर्माण कार्य संचालन गर्ने भनिएको छ।

त्यसैगरी निर्माण कार्य क्षेत्रमा ५० फिट चौडाइ र थप सेड ब्याक ५/५ फिट गरी जम्मा ६० फिट कायम गरी हुलाकी परियोजना कार्यालयलाई सो अनुसार निर्माण गर्न जानकारी गराउने भनिएको छ। साथै ५ नम्बर वडा अध्यक्ष कार्कीले शोभा श्रेष्ठको घर पश्चिम सिकन्दर मार्केट हुँदै बसपार्क छेउ, झापा चोकसम्म हुलाकी सडक कायम गर्न र सोको डिपिआर गरी हुलाकी सडक अधिकार क्षेत्रकै सडक निर्माण र मुआब्जाको व्यवस्थापन समेत गरिदिन हुन संघर्षसमितिलाई सरकारमार्फत सम्बन्धित कार्यालयमा अनुरोध गर्ने निर्णय भएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.