|

बारा : बारामा मसानघाटको सार्वजनिक जग्गा किर्ते गर्ने/गराउने र भोगचलन गर्नेहरुको सूचीमा जग्गा माफिया, होटल व्यवसायी, वीरगञ्‍ज महानगरका प्रमुख विजय सरावगी र उद्योगीसमेत रहेको अनुसन्धानको क्रममा खुलेको छ। 

काठमाडौं धर्मस्थली स्थायी ठेगाना भएका रामचन्द्र गौतमले बाराको जीतपुरसिमरा वडा नं ४ स्थित मसानघाटको ६ बिगाहा ८ कठ्ठा सार्वजनिक जग्गा २०४७ साउन ३० गते किर्ते गरेर आफ्नो नाममा कायम हडपेका थिए। सो जग्गा हाल जग्गा कारोबारमा समेत संलग्‍न होटल व्यवसायी इच्छाबहादुर वाग्ले र उनी सञ्चालक रहेको 'प्रोपटी म्यानेजमेन्ट'को नामबाट बेचबिखन भईरहेको थाहा लागेको हो।

वाग्लेले सो जग्गा वीरगञ्‍ज महानगर प्रमुख विजय सरावगी, शालिमार सिमेन्टका प्रमुख अशोक वैद्यका छोरा हेमन्त वैद्यसहित धेरै व्यक्तिलाई बेचबिखन गरिसकेका छन्। बाँकी केही कित्ता जग्गा वाग्ले र प्रोपटी म्यानेजमेन्टको नाममा रहेको अनुसन्धानको क्रममा भेटिएको छ। 

बारामा मसानघाटकै जग्गा कित्ताकाट गरी बेचबिखन

२०४७ सालमा रामचन्द्र गौतमले किर्ते गरेर फरदवा गुठीका माध्यमबाट जग्गाधनी पुर्जा बनाएको सो जग्गा पहिलो चरणमा उनकै भाइहरु रामशरण गौतम र मोतीराम गौतमले खरिद गरेका थिए। दोस्रो चरणमा २०७१ सालमा होमनाथ अधिकारी, रविप्रसाद अधिकारी, शिवप्रसाद गौतम र शान्तीदेवि मिजारको नाममा सो जग्गाको श्रेस्ता कायम भएको थियो। त्यसपछि कुनै समय मसानघाट रहेको सो जग्गा वाग्ले र उनको प्रोपटी म्यानेजमेन्ट नामको कम्पनीमा गएको मालपोतको श्रेस्तामा देखिन्छ।


वीरगञ्‍ज महानगरका प्रमुख विजय सरावगी र सालिमार सिमेन्टका हेमन्त वैद्यलगायतकाे नाममा रहेको जग्गाधनीपूर्जा ।

वाग्लेले विभिन्न ठाउँको फिल्डबुकमा ऐलानी र पर्ती भनि उल्लेख भएको सार्वजनिक जग्गा किर्ते गरेर 'प्रोपटी म्यानेजमेन्ट'को नामवाट बेचबिखन गरिरहेका छन्‌। वाग्लेले प्लटिङ्ग गरेर बेचबिखन गरेको मसानघाटलाई हाल २१  कित्ता कायम गरिएको छ।

मसानघाटको जग्गा क-कस्लाई बेचे वाग्लेले ?

होटल व्यवसायी तथा जग्गा काराेबारी वाग्लेले कित्ताकाट गरेको मसानघाटको जग्गामध्ये कित्ता नं १९१९ को ८ कठ्ठा १० धुर सिर्जना श्रेष्ठ र संजिता प्रधान, कित्ता नं १९१८ को १ कठ्ठा शान्तलक्ष्मी श्रेष्ठ र सुभद्रा श्रेष्ठ, कित्ता नं ९५१ को ६ कठ्ठा रत्नकेशरी श्रेष्ठ, कित्ता नं ७९८ को १० कठ्ठा देवकुमारी रिमाल, ९५३ को ३ कठ्ठा अनुराधा श्रेष्ठ, ७८४७ कित्ता नं २ कठ्ठा १३ धुर ६ कन्वा (१६ कन्वा को १ धुर हुन्छ) 'एभरग्रिन तराई हस्पिटल'को नाममा, कित्ता नं ११५९ को ६ कठ्ठा स्वयम् ईच्छाबहादुर वाग्लेको नाममा, र कित्ता नं ६४०८ को ३ कठ्ठा १७ धुर तथा कित्ता नं ७८४८ को ६ कठ्ठा १० धुर जग्गा 'प्रोपटी म्यानेजमेन्ट'को नाममा रहेको छ।

त्यसैगरी कित्ता नं ७८४९को ५ कठ्ठा ३ धुर ८ कन्वा एभरग्रिन तराई हस्पिटल'को नाममा रहेको छ। कित्ता नं ७८५०, ७४२५, ७४२४, ७४०२ को ५ कठ्ठा १७ धुर प्रोपटी म्यानेजमेन्टको नाममा श्रेस्ता कायम छ। त्यसैगरी वाग्लेको २०७५ असार ३२ गते वीरगञ्‍ज महानगरप्रमुख विजय सरावगीलाई बेचेको कित्ता नं ६४०६, ७४०१, ७४०३, ७४०५ को २ बिगाहा २ कठ्ठा मसानघाटको जग्गा महानगरप्रमुख सरावगीले आफूसहित ४ जनाको नाममा संयुक्त पुर्जा बनाएका छन्।

जग्गा धनीको नाम कित्ता नम्बर
सिर्जना श्रेष्ठ र संजिता प्रधान कित्ता नं १९१९ को ८ कठ्ठा १० धुर
शान्तलक्ष्मी श्रेष्ठ र सुभद्रा श्रेष्ठ कित्ता नं १९१८ को १ कठ्ठा
रत्नकेशरी श्रेष्ठ कित्ता नं ९५१ को ६ कठ्ठा
देवकुमारी रिमाल कित्ता नं ७९८ को १० कठ्ठा
अनुराधा श्रेष्ठ ९५३ को ३ कठ्ठा
एभरग्रिन तराई हस्पिटल ७८४७ कित्ता नं २ कठ्ठा १३ धुर ६ कन्वा
एभरग्रिन तराई हस्पिटल कित्ता नं ७८४९को ५ कठ्ठा ३ धुर ८ कन्वा
ईच्छाबहादुर वाग्ले कित्ता नं ११५९ को ६ कठ्ठा
ईच्छाबहादुर वाग्लेको 'प्रोपटी म्यानेजमेन्ट' कित्ता नं ६४०८ को ३ कठ्ठा १७ धुर तथा कित्ता नं ७८४८ को ६ कठ्ठा १० धुर
ईच्छाबहादुर वाग्ले 'प्रोपटी म्यानेजमेन्ट' कित्ता नं ७८५०, ७४२५, ७४२४, ७४०२ को ५ कठ्ठा १७ धुर
वीरगञ्‍ज महानगरप्रमुख विजय सरावगीसहित चार जनाको नाममा कित्ता नं ६४०६, ७४०१, ७४०३, ७४०५ को १ बिगाहा २ कठ्ठा

महानगरप्रमुख सहित शालिमार सिमेन्ट उद्योगका सञ्चालक अशोक वैद्यका छोरा हेमन्त कुमार वैद्य,आशा अग्रवाल र निलम अग्रवालको नाम जग्गाधनी पुर्जामा उल्लेख छ। त्यसैगरी वाग्ले सञ्चालक रहेको प्रोपटी म्यानेजमेन्ट कित्ता नं ६४०७, ६४०१ र ६४०४ को ८ कठ्ठा ४ कन्वा जग्गा सुजिता अग्रवालले किनेकी छिन्। 

वाग्लेमार्फत मसानघाटको जग्गा किन्नेहरुमध्ये अधिकांश काठमाडौं निवासी रहेको मालपोत कार्यालय सिमराका प्रमुख यादवराज आचार्यले जनाए। २०७२ सालमा वाग्लेले मसानघाटको जग्गा प्लटिङ्ग गरेर बेचबिखन गरेको सुचना पाएपछि जीतपुरसिमराका केही युवाहरुले साविकको गढीमाई नगरपालिका घेराउ गरेर कारबाहीका लागि लिखित निवेदन दिएका थिए। तर वाग्लेले सो जग्गा मसानघाटको नभएको र व्यक्तिको नम्बरी जग्गा भएको दाबी गरेको साविकको पिपरासिमरा गाँउ पञ्चायतका प्रधानपञ्च मुकुन्द बहादुर क्षेत्रीले बताए।


जग्गा कारोबारी इच्छाबहादुर वाग्लेको नाममा रहेको मसानघाटको जग्गाधनी दर्ता श्रेस्ता ।

‘पहिले आजकल जस्तो सार्वजनिक जग्गा कसैले खोज्दैनथ्यो, त्यसैले वाग्लेले मसानघाटको जग्गा 'प्लटिङ्ग' गरेर बेचबिखन गर्दा विरोध त भयो, तर प्रमाणसहित कसैले जवाफ दिन नसकेका कारण पछि यो विषय त्यतिकै सेलायो,’ प्रधानपञ्च क्षेत्रीले भने।

'फिल्डबुक'मा मसानघाट भनी उल्लेख भएको सो जग्गा २०४७ सालमा फरदवा गुठीको माध्यमवाट रामचन्द्र गौतमले आफ्नो नाममा किर्ते पुर्जा बनाएपछि होमनाथ अधिकारी, रविप्रसाद अधिकारी, शिवप्रसाद गौतम र शान्तिदेवि मिजारको नाममा रहेको सम्पुर्ण जग्गा ईच्छाबहादुर वाग्लले आफ्नो र प्रोपटी म्यानेजमेन्ट कम्पनीको नाममा दर्ता गरी प्लटिङ्ग गर्नुले उनले मसानघाटको जग्गा हो भन्ने जान्दा जान्दै ठुलो आम्दानी गर्ने लोभले बेचविखन गरेको स्थानीयहरुको भनाई छ। 

सिमरास्थित ईच्छा होटलका सञ्चालक तथा जग्गा कारोबारी समेत रहेका वाग्लेले आफ्नो होटल आसपासको ऐलानी खोला बगरको जग्गा कब्जा र प्लटिङ्ग गर्दै आएका छन्।

मसानघाटको जग्गा भए क्षतिपूर्तिसहित रकम फिर्ता गर्नुपर्छ : नगरप्रमुख सरावगी

वीरगञ्‍ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले प्रोपटी म्यानेजमेन्टले ठगी गरेर मसानघाटको जग्गा आफूलाई झुक्काएर बेचेको प्रमाणित भए क्षतिपूर्तिसहित रकम फिर्ता माग्ने बताएका छन्।

‘ईच्छाबहादुर वाग्लेले झुक्काएर मसानघाटको जग्गा हामीलाई बेचबिखन गर्नुभएको रहेछ भने हालसम्मको क्षतिपूर्ति सहित सम्पुर्ण रकम वा सो रकम बराबरको जग्गा उहाँले दिनुपर्छ, नभए हामी आफैं प्रोपटी म्यानेजमेन्टको नाममा ठगी उजुरी हाल्छौं,’ महानगरप्रमुख सरावगीले भने।


भूमाफियाले हडपेको सार्वजनिक जग्गा देखाउँदै स्थानीयवासी ।

आफूले स्थलगत रुपमा जग्गा नहेरेको, तर प्रोपटी म्यानेजमेन्ट कम्पनीले यसअघि पनि थुप्रै जग्गा प्लटिङ्ग गरेर बेचबिखन गरी नाम कमाएको संस्था हुनाले सो संस्थाबाट जग्गा खरिद गरेको महानगर प्रमुख सरावगीले बताए। 

वडाले काट्यो पत्र

जीतपुरसिमरा वडा नं ४ ले आफ्नो वडा मातहतमा रहेको मसानघाटको सार्वजनिक जग्गा संरक्षण गर्न जीतपुरसिमरा उप महानगरपालिका, जिल्ला प्रशासन कार्यालय बारा र मालपोत कार्यलय सिमरालाई पत्र पठाएको छ। बिहीबार वडा नं ४ का वडाध्यक्ष भोजबहादुर खत्री (ईश्वर)ले पठाएको सो पत्रमा ‘फिल्डबुकमा मसानघाट भनि उल्लेख भएको जग्गा २०४७ सालमा कानुन विपरित फरदवा गुठीको माध्यमबाट रामचन्द्र गौतमको नाममा कायम भएको हुँदा उक्त श्रेस्तालाई बदर गरी सार्वजनिक मसानघाट नै कायम गर्न आवश्यक प्रकिया अगाडी बढाउनुहुन अनुरोध छ,’ भनि उल्लेख गरिएको छ।

वडाध्यक्ष खत्रीले साविक पिपरासिमरा गाविसको कित्ता नं ५९ को मसानघाटको जग्गा किर्ते गरेर व्यक्तिको नाममा कायम गर्ने/ गराउने मालपोत कार्यालय र गुठी संस्थानका कर्मचारीलाई समेत कारवाही दायरामा ल्याउनुपर्ने बताएका छन्। ‘हामीले यो मसानघाटको जग्गा मसानघाटकै नाममा हुनुपर्छ, व्यक्तिको नाममा बनेको किर्ते पूर्जा बदर गरेर सार्वजनिक गर्नुपर्छ भनेर लागेका छौं,’ वडाध्यक्ष खत्रीले भने। 

बारामा गुठी बाहेकका २,४५४ बिगाहा सार्वजनिक जग्गा छ। स्थानीय तहहरुले आफू मातहत रहेका सार्वजनिक जग्गा संरक्षणमा चासो नदेखाउँदा भूमाफियाहरुले किर्ते पुर्जा बनाएर भोगचलन गरिरहेका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.