|
फाइल फोटो

अर्घाखाँची : उमेरले ७० कटे पनि अर्घाखाँची सिमलपानी १४ पावरका दिवानसिङ पचभैयाको दिनचर्या खेतबारीमै बित्छ।  उनी बिहान भालेको डाँकोसँगै निकै जोसिलो र फुर्तिलो भएर तरकारीको रेखदेख गोडमेल गर्न खेतमा पुग्छन्।  तयार भएको तरकारी बोकेर बिक्री गर्न बजारसम्म पुग्छन्।

'तरकारी खेती गर्न थालेको २० वर्ष पूरा भएछ,दिन बितेको पत्तै भएन' उनले भने, '५ वर्ष अघिसम्म निर्वाहमुखि तरकारी खेती गर्दै आएको थिएँ तर  अहिले आफ्नै लगानीमा करिब ४ रोपनी जग्गामा व्यावसायिक तरकारीखेती गरेको छ।' उनले तरकारी खेतीबाटै घरखर्च चलाउँदै आएका छन्।

आफ्नो गाउँ कृषि स्मार्ट गाउँ घोषणा भएसगै ७० वर्षीय पचभैयाको जोस जाँगर अझ पलाएर आएको छ। उनी भन्छन्, 'कृषिकर्मबाटै गाउँको कायापलट गर्छु।'

उनी मात्र होइनन् लामो समय तरकारी खेती गर्दै आएका ५८ वर्षीय आत्मराम पचभैया पनि कृषि स्मार्ट गाउँ बनाउने कार्यक्रम आएपछि औँधी खुसी छन्। दुई छोरी श्रीमान श्रीमती चार जनाको सहयोगमा गोलभेडा,काउली खेती गरेकै भरमा दैनिक घर खर्च गुजारा गर्दै आएका आत्मराम पनि तरकारी खेतीलाई विस्तार गर्ने सुरसारमा छन्। 

त्यस्तै, कुसुमघाटका  बलबहादुर रास्कोटी, ओढारपाटाका हुमबहादुर पुनले थप तरकारी व्यवसायिक खेती गरेर आफ्नो गाँउलाई नमुना कृषि स्मार्ट गाउँ बनाउनेमा उत्साहित भएर अघि बढेका छन्। सरकारले यसरी थप सहयोग गर्दा भित्री मनदेखि गाउँको रूपरेखा बदल्ने गरी आधुनिक अर्गानिक  तरकारी खेती गर्न जोस र जाँगर पलाएर आएको उनीहरू बताउँछन्।

अर्गानिक तरकारी खेतीमा जुटे स्थानीय

सिमलपानीको पावर, मुन्द्रीबाँस, ओढारपानी, कुसुमघाटका १ सय ४० घरधुरीलाई समेट्नेगरी हाल ६० घरधुरीका किसानले २ सय ५० रोपनी जग्गामा आधुनिक अर्गानिक तरकारी खेती गर्ने योजना तय गरी कृषि स्मार्ट गाउँ  निर्माणमा जुटेका छन्।

गाउँमै रोजगारी सृजना गरेर  युवाहरूलाई स्वरोजगारमुखी बनाउन कृषि स्मार्ट गाउँ बनाउने उद्देश्य बोकेर अघि बढेको पावर कृषि स्मार्ट गाउँ सञ्‍चालन समितिका अध्यक्ष वीरबहादुर खम्चाकीमगरले बताए। उनी भन्छन्, 'मरूभूमिमा गएर परिश्रम गरेजस्तै यहाँ मिहिनेत गरे दोब्बर आम्दानी गरेर मालिक बन्न सकिन्छ।' उनले गाउँका युवालाई विदेश जान रोकेर व्‍यावसायिक तरकारी खेतीमा लगाउने योजना रहेको बताए।

बाणगंगा खोलाबाट २०४० सालमा बाँध निर्माण गरि करिव ५ सय मिटर टाढाबाट ल्याईएको नहर (कुलो) ले पावर गाउँका १ सय ५ घरधुरीलाई सिँचाइ पुगेको छ। पावरका केही घर, मुन्द्रीबाँस,ओढारपाटा,कुसुमघाट गाउँमा तत्कालै नहर निर्माण गरी सिँचाइको व्यवस्था गरिने संस्थाका सचिव लोकनाथ खनालले बताए। हाल २ सय ५० रोपनी जग्गामा तरकारी खेति गर्न सुरू गर्ने ,पछि ५ सय बढि रोपनी जग्गामा तरकारी खेति गर्ने लक्ष्य रहेको सचिव खनालको भनाई छ।                   

प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले जिल्लाको सिमलपानी १४ को पावर क्षेत्रलाई एक समारोहमा कृषि स्मार्ट गाउँ घोषणा गरिसकेका छन्। घिमिरेले इच्छाशक्ति भए असम्‍भव भन्‍ने केही नभएको सुनाए।

प्रदेशसभा सदस्य घिमिरेले कृषिमा युवाहरुको आकर्षण बढ्नुका साथै उत्पादन पनि बढ्ने अपेक्षासहित प्रदेश सरकारले कार्यक्रम सञ्‍चालन गरेको बताए।

कृषिलाई प्रमुख समृद्धिको महत्वपूर्ण आधार मानेको प्रदेश ५ सरकारले चालु आर्थिक वर्षको बजेटमै प्रदेश स्मार्ट गाउँ कार्यक्रम सञ्‍चालनका लागि २६ करोड रकम छुट्टाएको थियो। प्रदेश सरकारको ५० लाख स्थानिय तहको १० लाख गरि कुल ६० लाख बजेटमा कृषि स्मार्ट गाउँ निर्माण गर्न थालिएको हो। 

आँट र हिम्मतले काम गर्न सुझाव

 नगर प्रमुख सूर्यप्रसाद अधिकारीले कृषि स्मार्ट गाउँ बनाउन सबै किसान एक हुनुपर्ने बताए। अर्गानिक तरकारी पाइन्छ भन्ने सन्देश बाहिर दिएर छिमेकी जिल्लाका व्यापारी तरकारी खरिद गर्न आउने वातवरण सृजना हुनेगरी खेति गर्न नगर प्रमुख अधिकारीले किसानलाई सुझावसमेत दिए।

उनले आँट र हिम्मत लिएर व्यवसायिक रूपमै  तरकारी खेती गर्ने किसानलाई नगरले सक्ने सहयोग गर्ने बताए। प्रदेश सरकारले किसानलाई १० थान हाते ट्याक्टर वितरण गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.