धनकुटा : साँगुरीगढी गाउँपालिका–७ सिङखोलाकी १४ वर्षीया निर्मला राई करिब दुई घण्टाको पैदल यात्रापछि गोलखाडी मावि पुग्छिन्। कक्षा–९ मा अध्ययनरत राईको दैनिक करिब चार घण्टा स्कुल आउनजानमै बित्ने गरेको छ।
उनीसँगै सोही गाँउबाट करिब पचासजना विद्यार्थी दैनिक टाढाको विद्यालय धाउन बाध्य छन्। आउनजानमै समय बित्ने गरकोले उनीहरुले विद्यालयबाहेक पढ्ने समयनै पाउँदैनन्।
करिब ३०० विद्यार्थी रहेको उक्त विद्यालयका आधाभन्दा बढी विद्यार्थी एक घण्टाभन्दा टाढाबाट धाउँछन्। आसकोट, हुटिटेन, खोरलुम्फु, सिंहखोला, छिनामचोकलगायत गाउँबाट विद्यार्थीहरु आउने गरेको विद्यालयले जनाएको छ। टाढावाट धाउनेमध्ये सबैभन्दा बढी कक्षा ६ देखि १० सम्मका विद्यार्थी रहेका छन्। टाढाबाट आएका विद्यार्थी ढिला गरी विद्यालय आइपुग्ने गरेका छन्। यस्तै, थकाइको कक्षाकोठामा निदाउने र भोकाउने भएकाले विद्यालय समयअगावै विद्यालय छाड्नेजस्ता समस्या भएका शिक्षक रोगुमबहादुर राईले बताए।
गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्टिय प्रारुप २०६७ ले बालबालिकाको घर र विद्यालयको दूरी आधा घण्टाको पैदल दूरीमा हुनुपर्ने उल्लेख गरेको भए त्यसको कार्यान्वयन हुन सकेको छैन। सरकारले सहज रुपमा शिक्षा दिन भनी ल्याएका विभिन्न नारा र कार्यक्रमले पहाडी र हिमाली जिल्लाका ग्रामीण भेगका विद्यार्थीलाई छुन सकेको छैन।
विद्यालय नजिक र पायक पर्ने ठाउँमा नहुँदा कतिपय बालबालिका बीचमै पढाइ छाड्न बाध्य छन्। धनकुटामा विद्यालय टाढा भएकाले बीचमै पढाइ छाड्ने बालबालिकाको संख्या घट्न नसकेको शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाकी प्रमुख मोहन राई बताउछिन्। आर्थिक अवस्था कमजोर भएका बालबालिकाले माध्यमिक तहको पढाई पूरा गर्नका लागि डेरा लिएर बस्नुपर्ने अवस्था आएपछि पढाइ नै छाड्ने गरेको उनको भनाइ छ।
बालबालिकाले पढ्न पाउने अधिकार सुनिश्चित गर्न गाउँपालिकाले पहल गर्ने साँगुरीगढी गाउँपालिका अध्यक्ष कुमारजंग याक्खा बताउँछन्। सरकारले केही वर्षअघि कम विद्यार्थी भएको कारण देखाउँदै एक विद्यालय अर्को विद्यालयमा गाभेकाले बालबालिकालाई समस्या परेको उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।