कोरोना भाइरसबारे पनि छलफल, घनाबस्तीमा नराख्‍न सुझाव

|

हेटौंडा : बागमती प्रदेशसभाको बैठकमा पहिलोपटक प्रश्नोत्तरको अभ्यास भएको छ। सोमबारको प्रदेशसभा बैठकमा पहिलोपटक प्रश्नोत्तर कार्यक्रममा एउटा प्रश्न दर्ता भएको थियो। विवेकशील नेपाली दलका प्रदेशसभा सदस्य रमेश पौड्यालले प्रश्न गरेका थिए।

उनले प्रश्न गरे, 'हाल सञ्चालित भिजिट नेपाल २०२० को लागि मन्त्रालयबाट गरिएको खर्च/लगानीको कारण,२०२० मा यस प्रदेशमा भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरुले पाइरहेको सेवा सुविधाको अतिरिक्त थप के–के सुविधा प्राप्त गर्दछन्?'

जवाफमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेश सरकारले अहिले २०२० लाई मात्रै नभई लामो समयसम्मका लागि हुनेगरी भौतिक क्षेत्रमा समेत लगानी गरी पर्यटन विकास गरिरहेको बताए। पर्यटन पूर्वाधारका लागि प्रदेश सरकारले १ अर्ब ६५ करोड रुपैयाँ छुट्याएको मन्त्री नेपालले बताए।

प्रदेश सरकारले गरेको लगानी खेर नजाने भन्दै उनले विभिन्न देशहरुको पर्यटन क्षेत्रको अभ्यासरूरु हिल स्टेशन लगायतको उदाहरण दिँदै काम भइरहेको बताएका थिए।

प्रश्नकर्ता पौड्यालले पूरक प्रश्नमा होटल, ट्राभल ऐेजेन्सीको बारेमा प्रश्न  गरेका थिए भने जवाफमा मन्त्री नेपालले बागमती प्रदेशमा सबैखाले सुविधाहरूलाई व्यवस्थापन गर्दै गएको र होटल, ट्राभल ऐजेन्सीहरूलाई आवश्यक परामर्शसमेत दिएको उनले बताए।

कोरोना भारस केन्द्रित छलफल

सोमबार भएको प्रदेश सभाको बैठकमा सामाजिक विकास मन्त्री युवराज दुलालले त्रासमा रहेको कोरोना भाइरसबारे बागमती प्रदेश सरकारले गरिरहेको कामको बारेमा जानकारी दिएका थिए।

मन्त्री दुलालले मुख्यमन्त्रीसहितको चासो रहेको भन्दै सरकार अत्यन्तै संवेदनशील भएको बताए। उनले नेपालमा कोरोना भाइरसलाई त्रासको रूपमा अफवाह फैलाइएको बताए। दुलालले प्रदेश सरकारले रोकथाम रणनीति लिएर सचिवस्तरीय समितिहरू गठन भएको समेत जानकारी दिएका छन्। मन्त्री दुलालले “कन्टिन्यु मोडल” ढंगले छलफल गरिरहेको बताए।

उनले संसदलाई जानकारी गराएपछि प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारमार्फत संघीय सरकारलाई ध्यानाकर्षण गर्दै चीनको हुवानमा रहेको नेपाली विद्यार्थी ल्याउन नसकेको भन्दै आलोचना गरेका थिए।

सांसदहरू रमेश पौड्यालले अरू देशले आफ्ना नागरिक फिर्ता लगिसक्दा नेपाल के हेरेर बसेको? भन्दै प्रश्न गरेका थिए भने नेपालकी कांग्रेसकी प्रदेशसभा सदस्य विजय श्रेष्ठ केसीले सरकारले भर्खरै ठाउँ खोज्नु लाजमर्दो कुरा भएको बताएकी थिइन्।

घना बस्तीमा नराखौं

नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले काठमाडौं उपत्यकमा कोरोना भाइरस प्रभावित स्थानबाट आएको मानिसहरूलाई राख्‍न नहुने बताएका छन्। यस्तै, प्रदेशसभा सदस्यहरूले चीनबाट ल्याइने नेपाली विद्यार्थीहरूलाई काठमाडौं उपत्यकाभित्रको घनाबस्तीमा राख्‍न नहुने तर्क गरेका छन्।

बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँले काठमाडौं, भक्तपुर जस्ता ठूला बस्तीहरूमा सम्भावित संक्रमित विद्यार्थी राख्दा नेपालमा ठूलो रूपमा संक्रमण फैलनसक्ने बताए। यस्तै, प्रदेशसभा सदस्य राजेन्द्र श्रेष्ठले पनि घनाबस्ती नभई एकान्तमा राख्नुपर्ने बताएका थिए। 

प्रश्नपछि पनि प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जवाफ दिएका थिए।  

अख्तियार एक पक्षीय बन्‍यो : प्रमुख प्रतिपक्ष

बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अख्तियारले एक पक्षीय ढंगले विशेष अदालतमा मुद्दा दर्ता गरेको आरोप लगाए।

उनले प्रदेशसभामा समय लिँदै अपराधीलाई समात्नु गलत नभएको भन्दै तर एउटालाई समात्ने अर्कोलाई छोड्ने कुरा गलत भएको बताए। बानियाँले राजनीतिक प्रतिशोधको आधारमा सरकारको लाचार छाया बन्न नहुने भन्दै विशेष अदालतले विशेष ढंगले अनुसन्धान गर्नुपर्ने बताए। उनले भने, 'मुलुकमा स्वतन्त्र संवैधानिक अंगहरूलाई सरकारले त्रास देखाइरहेको छ।

अख्तियार र  न्यायालयलाई संसद्सँग भएको महाअभियोग देखाउँदै त्रास देखाएर लोकतन्त्रमाथि धावा बोल्दै एकपक्षीय भइरहेको प्रति कांग्रेसले चुपचाप हेरेर बस्दैन।' उनले पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती हत्याको घटनाप्रति पनि सरकारको ध्यानाकर्षण  गराएका थिए।  उनको सोमबारै ललितपुरको आफ्नै निवासमा कामदारले हत्या गरेर आफूले पनि आत्महत्या गरेका थिए।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले यसअघिको प्रदेशसभाको बैठक माघ १३ गतेको विशेष समयमा उठेको प्रश्नको जवाफ दिए।

दुई विधेयक पेश

सोमबारको प्रदेशसभाको बैठकमा दुईवटा विधेयक पेश भएका छन्। प्रदेश लोकसेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र अन्तरप्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.