|

डोटी : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम सम्पन्न भएको छ।

विमानस्थलमा कालोपत्रको काम सकिएर धावनमार्गको किनारामा रहेको पर्खाललगायतको काम सञ्चालन भइरहेको छ। गत वर्षको असारमा सक्ने लक्ष्यसहित २०७४ सालमा निर्माणकार्य सुरु गरिएको दिपायल विमानस्थलको कालोपत्रको काम बल्ल अहिले आएर सकिएको हो।

विमानस्थलको कालोपत्रको काम सकिएर बाँकी अन्य धावनमार्गको पर्खाल, तारजाली लगाउने काम सुरु भएको विमानस्थल कालोपत्रको जिम्मा पाएका सप्नाग्याल्भा तथा जेभी कन्स्ट्रक्सनका साइट प्रमुख राजेन्द्र विष्टले बताए।

प्रमुख विष्टले भने, ‘हामीले विमानस्थलको पक्की गर्ने काम सकेका छौँ, धावनमार्गको काम पनि केही दिनमा सक्नेछौँ।’ विमानस्थलमा धावनमार्ग रेखाङ्कनलगायतका काम सुरु भएको उनले जानकारी दिए। दिपायल विमानस्थलको कालोपत्र गर्ने काम समयमै नसकिएको भन्दै स्थानीयस्तरबाट गुनासो बढेपछि ठेकेदार कम्पनीले बल्ल आएर कालोपत्रको काम सकेको दिपायलका स्थानीय तेजबहादुर डुम्रेलले बताए। 

‘एक वर्ष पहिले सकिनुपर्ने काम अलपत्र पारेपछि हामीले स्थानीयस्तरबाट दवाब दिएका कारण कालोपत्रको काम सकिएको हो,’ उनले भने, ‘अरु धेरै काम गर्न बाँकी नै छ, सम्बन्धित निकायले समयमै ध्यन दिनु जरुरी छ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेमगरको पहलमा नेपाल सरकारले दिपायल विमानस्थल कालोपत्रका लागि बजेट विनियोजन गरेको थियो। करिब साढे पाँच करोड रुपैयाँको लागनीमा दिपायल विमानस्थल कालोपत्र तथा स्तरोन्नतिको काम पाएको कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा र नेपाल नागरिक उड्डयन प्राधिकरणले समयमै म्याद नथप्दा विमानस्थल निर्माणकार्य ढिला हुँदै आएको स्थानीयवासीको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.