कार्यकर्तामुखी बजेटले भ्रष्टाचार बढ्यो

|

सुर्खेत : कर्णाली प्रदेश सरकारको प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र दैलेखका स्थानीय तहविरुद्ध अख्तियारम बढी उजुरी परेका छन्। कर्णाली प्रदेश सरकारका मन्त्रालय मध्ये प्रदेश उद्योग पर्यटन  वन तथा वातावरण मन्त्रालय जिल्लागत रुपमा दैलेखका स्थानीय तहहरूविरुद्ध बढी उजुरी परेको अख्तियारले जनाएको छ।

प्रदेश सरकारविरुद्ध ६ महिनाको अवधिमा १३६ वटा उजुरी दर्ता भएका छन्। दर्ता भएका उजुरी मध्ये सबै भन्दा धेरै प्रदेशको उद्योग पर्यटन वन तथा वातारण मन्त्रालयका परेका छन्। चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा परेका उजुरी मध्ये उद्योग पर्यटन, वन र वातावरणअन्तर्गतका मात्रै यस अवधीमा ६३ वटा मुद्दा दर्ता भएका छन्। 

पर्यटन, उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रका मात्रै यस अवधिमा २९ वटा मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ। यस्तै ६ महिनाको अवधिमा प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य क्षेत्रमा २० वटा मुद्दा दर्ता भएको जनाइएको छ।

प्रदेशको भौतिक पूर्वाधार विका मन्त्रालयअन्तर्गतको भौतिक पूर्वाधार र यातायातमा मात्र ५ वटा मुद्दा दर्ता भएका छन्। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि तथा पशुपंक्षी विकास बाहेकमा ५ तथा उक्त मन्त्रालयको कृषि तथा पशुपंक्षी विकास क्षेत्रमा मात्र ४ वटा उजुरी दर्ता भएका छन्।

यस्तै ६ महिनाको अवधिमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको खानेपानी र सहरी विकासमा मात्र ४ वटा उजुरी दर्ता भएका छन्। यसअवधिमा भौतिक पूर्वाधार विकास मन्त्रालयको सिंचाइमा मात्र ३ वटा उजुरी परेको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयको शिक्षामा मात्रै २ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ। 

सबैभन्दा कम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा यस अवधिमा एउटा मात्र मुद्दा दर्ता भएको पाइएको छ। ६ महिनाको अवधिमा परेका १३६ वटा मुद्दा मध्ये हालसम्म ४० वटा फर्छ्यौट भएका छन् भने ९६ वटा मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको कार्यालयले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औँ स्थापना दिवसको अवसरमा कार्यालयले ६ महिनाको अवधिमा कार्यालयमा परेका उजुरीका विषयमा जानकारी दिइएको हो। 

दैलेखका स्थानीय तहविरुद्ध बढी

चालु आर्थिक वर्षको पुस मसान्त सम्मको तथ्यांकमा उल्लेख गरिएअनुसार यस अवधिमा कर्णालीका ७९ वटा स्थानीय तहमा ३९२ वटा मुद्दा दर्ता भएका छन्। यस अवधिमा १३१ फर्छ्यौट भएका छन् भने २६१ वटा उजुरी फ्छ्यौट गर्न बाँकी नै रहेको कार्यालयले जनाएको छ।

कर्णालीका ७९ वटा स्थानीय तह मध्ये सबैभन्दा धेरै दैलेखका स्थानीय तहका उजुरी दर्ता भएका छन्। चालु आर्थिक वर्षको पुस मसान्तसम्म दैलेखका स्थानीय तहका विरुद्ध ८६ वटा उजुरी दर्ता भएका छन्।

यस्तै सुर्खेतका स्थानीय तहविरुद्ध ५७, कालिकोटका  स्थानीय तहविरुद्ध ५०, सल्यानका स्थानीय तहविरुद्ध ३३, मुगुमा २१ डोल्पाका स्थानीय तहमा १४ जुम्लाका स्थानीय तहमा ३६ वटा उजुरी परेको कार्यालयले जनाएको छ। यस्तै रुकुमपश्चिममा ३२ वटा उजुरी दर्ता भएका छन् भने हुम्लामा १९ वटा उजुरी दर्ता भएका छन् भने जाजरकोटका स्थानीय तहमा ४४ वटा उजुरी दर्ता भएको जनाइएको छ। 

कार्यकर्तामुखी बजेटले भ्रष्टाचार बढ्यो

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यकर्तामुखी बजेट छर्ने परम्पराको अन्त्य गर्नुपर्ने बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं स्थापना दिवसका अवसरमा वीरेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘हामीले विगतमा गाउँबाट आएका नेता तथा कार्यकर्तालाई नासो स्वरुप उसको अनुहार हेरेर बजेट दिने काम गर्‍यौं। त्यो हामी भन्नाले प्रदेश सरकार मात्र नभइ सबै तहका सरकारले गरेका थियौं’ उनले भने,‘नासोको रुपमा बजेट दिँदा भ्रष्टाचार बढेको छ।’

यसलाई प्रदेश सरकारले नियन्त्रण गर्न खोजिरहेको उनको भनाई छ। मुख्यमन्त्री शाहीले कर्णालीमा भ्रष्टाचार बढेको नभई अख्तियारको सक्रियता बढेका कारण ठूला माछा पनि पक्राउ परेको बताए।

कार्यक्रममा कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले भ्रष्टाचारमा देखा परेका नयाँ–नयाँ रुप र शैलीका कारण नियन्त्रणमा चुनौति थपिएको बताएका छन्।उनले भ्रष्टाचारमा संलग्न व्यक्तिले नयाँ-नयाँ उपाय एवं प्रविधिको प्रयोग गर्ने कारण नियन्त्रणमा चुनौती देखा परेको बताएका हुन्।

प्रदेश प्रमुख कलौनीले पछिल्लो समय आयोगको सक्रियता प्रशंसनीय रहेको समेत बताए। सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री एवं प्रवक्ता विमला केसीले कर्णालीको विकास नहुनुमा मुख्य जिम्मेवार भ्रष्टाचार नै भएको बताइन्। 

नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले भ्रष्टाचार नियन्त्रणमा सबैको भूमिका महत्वपूर्ण भएको बताए। मिडियाको तर्फबाट भ्रष्टाचारविरुद्ध बारम्बार कलम चलाउँदै आएको पनि स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.