|

बैतडी : सरकारले २० लाख पर्यटक भित्र्याउने गरी सन्‌ २०२० लाई भ्रमण वर्ष घोषणा गरी मनाउँदैछ।

सरकारले भ्रमण वर्ष मनाइरहेकै बेला सुदूरपश्चिमको दोस्रो ठूलो बैतडीको पाटन विमानस्थल सञ्चालनको पखाईमा रहेको छ। माघ १२ गते विमानस्थल कालोपत्रे सम्पन्न भएसँगै अब सञ्‍चालनको पर्खाइमा रहेको हो। कालोपत्रे सम्पन्न भएसँगै विमानस्थल सञ्चालनमा ल्याउन सके यसले भ्रमण वर्षलाई सहयोग पुग्ने स्थानीय बसन्त विष्टको भनाई छ। उनले भने, 'पर्यटक भित्र्याउन विमानस्थल सञ्चालनले सहयोग पुग्ने देखिन्छ।' 

पाटन विमानस्थल कैलालीको गेटा विमानस्थल पछिको सुदूरपश्चिमको दोस्रो ठूलो विमानस्थल हो। नेपाल सरकारले घोषणा गरेको १० नमुना शहरमध्येको एक सहरमा पर्ने पाटनमा रहेको विमानस्थल सञ्चालन हुनसके झनै पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास गरिएको छ। 

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकामका रुपमा परिचित छ। पर्यटकीय आकर्षणको मुख्य केन्द्रबिन्दु रहेको नेपालकै गहिरो गुफा पत्ताल भुवनेश्वर, उदयदेव मन्दिर, त्रिपुरा सुन्दरी, निङ्गलाशैनी मन्दिर, ईश्वरी गंगाधाम, मेलौली भगवती मन्दिर, दोगडा धाम, रौलाकेदार मन्दिर र सिगास धामलगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ।  

पाटन विमानस्थल सुचारु भएमा दार्चुलाको अपि हिमाल, बझाङको साइपाल हिमाल, बैतडी र डडेल्धुराका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन सजिलो हुने स्थानीय कपिल केसीले बताए। उनले भने, 'सुचारू भएमा यस क्षेत्रको धार्मिक पर्यटनको विकास हुने समेत विश्वास गरिएको छ।' 

विमानस्थललाई सञ्चालन पछि बैतडीसहितका जिल्लाको धार्मीक पर्यटकीय क्षेत्रको महत्व बढने तथा सुदूरपश्चिमका जनताको जीवनस्तरमा परिवर्तन आउने पाटनका व्यवसायी दिनेश बिष्टको भनाई छ। 'विमानस्थल पुनः सञ्चालनपछि ओझेलमा परेका पर्यटकीय क्षेत्रका विकासमा टेवा पुग्नेछ,' उनले भने,'व्यापार व्यवसाय पनि फस्टाउने र भारतसँग सीमा जोडिएकाले भारतीय पर्यटक समेत भित्र्याउन सकिन्छ।'  

बैतडीमात्रै नभएर दार्चुला, डडेल्धुरा र बझाङका लागि समेत पाटन बीचमा पर्ने भएकाले यो विमानस्थल सुचारु भएमा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका नागरिक लाभान्वित हुने स्थानीय छविराज जोशीले बताए।

दार्चुलाको अपि हिमाल, बझाङको साइपाल हिमाल, बैतडीका धार्मिक स्थलहरूको अवलोकन गर्ने पर्यटक भित्र्याउन समेत बैतडीमा रहेको विमानस्थल पाटन सुचारु गर्नु आवश्यक रहेको उनको भनाई छ। 

लक्ष्य भन्दा १८ महिनापछि सम्पन्न 

विमानस्थल कालोपत्रे गर्ने कार्य लक्ष्य भन्दा झण्डै १८ महिनापछि सम्पन्न भएको छ। विस  २०७५ असारमा सक्ने लक्ष्य सहित कालोपत्रे गर्ने कार्य शुरु भएको भए पनि ढिलो गरी कालोपत्रे गर्ने कार्य सम्पन्न भएको हो। वि स २०७३ को चैतमा सम्झौता भएर विमानस्थल पुननिर्माणको काम शुरु भएको थियो।

सम्झौता सुरु भएपछि बन्द हड्तालले ढिला गरी काम सुरु भएको थियो। यसका साथै काम सुरु भएपछि पनि निरन्तरको वर्षाले काम प्रभावित भएको निर्माण कम्पनीले जनाएको छ। ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले पाटन विमानस्थल कालोपत्रे गर्ने कार्य गरेको हो।

कालोपत्रे गर्ने कार्य सम्पन्न भएको र अहिले किनारमा पेन्टिङको काम चलिरहेको निर्माण कम्पनीका इन्जिनियर पुरण रावलले बताए।  उनले भने,' केही दिनमै हस्तान्तरणको प्रक्रियामा जानेछौं।' पाटन विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे गरिएको छ। ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिएको हो। यसका लागि करिब मूल्य अभिवृद्धि करबाहेक ११ करोड २९ लाखको लागतमा ठेक्का सम्झौता भएको थियो। 

पाटन विमानस्थल कालोपत्रे गरिएको भए पनि तत्काल विमानस्थल सञ्चालन हुने अवस्था भने छैन। विमानस्थलको टर्मिनल भवन निर्माण नभएकाले तत्काल विमानस्थल सञ्चालन आउन नसक्ने बताइएको छ। टर्मिनल भवन निर्माण, पर्खाल र नालीका लागि ठेक्का समेत भएको छैन। त्यसकारण विमानस्थल कालोपत्रे भए पनि तत्काल सञ्चालन नआउने बताइएको छ। 

पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम शुरु भएर २०३५ सालदेखि हवाई सेवा शुरु भएको थियो। पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो। त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो।

२०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो। यस विमानस्थलका कार्यालयका भवन तत्कालीन १२ वर्षे द्वन्द्वकालमा क्षतबिच्छेद भएका थिए। यसका साथै विमानस्थल पुन संचालन नहुँदा गौचरन, खेलमैदान तथा सवारी साधन सिक्ने मैदानमा परिणत भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.