|

बैतडी : काठमाडौंको सिंहदरबार गाउँमै आइपुगेको भनिएपनि स्थानीय सरकार र नागरिकबीचको असन्तुष्टिले कहिलेकाहीँ हिंसात्मक रूप लिने गरेको छ। बैतडीको डिलाशैनी गाउँपालिकामा अहिले यस्तै समस्या निम्तिएको छ। 

माघ ८ गते वडा नं ३ पंसेरामा रहेको गाउँपालिका सम्पर्क कार्यालयमा आगजनी भयो। गाउँपालिका केन्द्र नजिकै घर रहेको सत्तारुढ नेकपा बैतडीका अध्यक्ष सुरेन्द्र पालको घर अगाडी बम भेट्टिनुका साथै उनको जेसिबीमा पनि आगजनी गरिएको थियो।

गाउँपालिका कार्यालयमा आगजनी, नेकपा जिल्ला अध्यक्षको घरमा बम

यसका पछाडि गाउँपालिका केन्द्रको विवाद नै प्रमुख कारण रहेको बुझिएको छ। तर आगजनीमा संलग्नहरु को थिए र उनीहरु कहाँ छन्‌ भन्नेबारे अहिलेसम्म प्रशासन र स्थानीयस्तरबाट कुनै जानकारी सार्वजनिक भएको छैन। सामान्य घटनालाई समेत गम्भीर रुपमा लिने प्रशासनले स्थानीयस्तरमा भएको यति ठूलो घटनामा अनुसन्धान भइरहेको दोहोर्‍याँदै आएको छ।

असन्तुष्टिको कारण यस्तो थियो

राज्य पुनर्संरचना हुँदा बैतडीका ६ गाउँपालिका, ४ नगरपालिका र सम्बन्धित स्थानीय तहका केन्द्र तोकियो। यही क्रममा डिलाशैनी गाउँपालिकाको केन्द्र साविककै डिलाशैनी गाविस (हालको वडा नं ७-मा) तोकियो। तर असन्तुष्टि उजागर भएपछि गाउँकार्यपालिकाको पहिलो बैठकले उपयुक्त स्थान छनौट गर्ने निर्णय गरेको थियो।

तोकिएको केन्द्रमा यातायात, सञ्चार र भौतिक पुर्वाधार लगायतको समस्या देखाउँदै गएको डेढ बर्षदेखि वडा नं ३ स्थित पंसेरा सम्पर्क कार्यालय राखी कामकाज भइरहेको छ। तर सम्पर्क कार्यालय भनि राखिएको पंसेराबाटै सबै कामकाज शुरू भएपछि विरोध बढ्न थाल्यो। 

गाउँपालिकामा आगजनी गर्ने समूह पत्ता लागेन

गाउँ कार्यपालिकाको गत भदौ २५ गतेको बैठकले केन्द्रको उपयुक्त खोजी गर्न भन्दै विज्ञ टोली बोलाउने निर्णय गरेको थियो। कार्यपालिका बैठकले वडा नं ७ दुर्गममा रहेकोले नयाँ स्थान छनौट गर्न विज्ञ टोली बोलाउने निर्णय गरेसँगै विवाद थप चुलियो। विज्ञ टोलीका लागि गाउँपालिकाले १२ लाख ५० हजार रुपैयाँ बजेट  समेत विनियोजन गर्‍यो।

केन्द्र सार्न नहुने भन्दै स्थानीय बासिन्दाले संघर्ष समिति नै गठन गरी भदौ अन्तिम साता जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, सत्तारुढ नेकपा, नेपाली कांग्रेस र गाउँपालिकाको सम्पर्क कार्यालयमा पनि ज्ञापनपत्र समेत बुझाएका थिए।

तर सुनुवाई नभएपछि असोज पहिलो साता दुइवटै वडा कार्यालयसहित गाउँपालिकाभित्र रहेका सम्पूर्ण सरकारी कार्यालयमा स्थानीयले तालाबन्दी गरे। यति गर्दा पनि आफ्ना मागबारे सुनुवाई नभएपछि असोज २५ गते नाराजुलुससहित महाकाली राजमार्गमै चक्काजाम समेत गरिदिए। 

दबाबले काम नगरेपछि स्थानीय युवाहरुले मंसिर पहिलो साता तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई भेटेर ज्ञापनपत्र बुझाए। विज्ञ टोलीले सामाजिक अध्ययन र पूर्वाधारको अध्ययन गरि हाल सम्पर्क कार्यालय रहेकै स्थान पंसेरालाई उपयुक्त छनौट गर्‍यो। सोही छनोटका आधारमा गाउँपालिकाले पंसेरालाई नै केन्द्र बनाउन आवश्यक प्रकृया पूरा गरी प्रदेश सरकारमा प्रस्ताव पठायो। 

सो निर्णय प्रदेश सरकारमा पठाउने निर्णय गरेसँगै गाउँपालिका सम्पर्क कार्यालयमा माघ ८ गते आगजनी भएको भयो। विज्ञ टोलीले उपयुक्त छनौट गरेको क्षेत्र पंसेरा नजिकै बसोबास गर्ने नेकपा बैतडीका अध्यक्ष सुरेन्द्र पालको डोजरमा समेत आगजनी गरियो।

गाउँपालिकामा नेकपाको बहुमत रहेकोले अध्यक्षकै दबावमा केन्द्र सार्ने चलखेल भएको भन्दै स्थानीय बासिन्दा झनै आक्रोशित भए। तर गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले भने कसैको दबावमा नभई भविष्यसम्मको लागी उपयुक्त केन्द्र छनौट गरेको बताए। उनले भने, 'विज्ञ टोलीले गाउँपालिकाभर भूगर्भ तथा भूगोलको अध्ययनका साथै बिपद् जोखिमका पक्षलाई पनि मध्यनजर गर्दै पंसेरालाई गाउँपालिका केन्द्रको रुपमा उपयुक्त हुनेगरी तोकेको हो।' 

तर, स्थानीय जनप्रतिनिधी या सरकारले जस्तो तर्क गरेपनि पन्सेरामा गाउँपालिका केन्द्र राख्न नहुने माग बलियो बन्दै गएको छ। यसमा राजनीतिक रङ्ग मिसिएपछि सत्तारुढ नेकपालाई समेत अप्ठ्यारो परेको छ। 

आगजनी भएदेखि नै कामकाज प्रभावित 

सम्पर्क केन्द्रमा भएको आगजनीपश्चात गाउँपालिकाको कामकाज नै प्रभावित भएको छ। आगजनीले प्रशासन शाखामा रहेका कागजपत्र जलेर नष्ट हुँदा नियमित कामकाज प्रभावित भएको गाउँपालिका अध्यक्ष उकेन्द्र बोेहराले जानकारी दिए।

गाउँपालिकाको कामकाज रोकिएको नभएपनि सेवाप्रभावमा भने समस्या हुने गरेको उनले बताए। कार्यालयको प्रशासन कक्षमा आगजनी गरेर सम्पूर्ण कागजपत्र, कम्प्युटर र कुर्सीसमेत जलाईएको थियो। प्रशासन शाखाका साथै गाउँपालिकाले भाडामा लिएको जीपमा पनि आगजनी गरिएको थियो। 

डिलाशैनी गाउँपालिकाको केन्द्रका बिषयमा विवाद रहँदै आएको छ। गाउँपालिकाको केन्द्र वडा नम्बर ७ को धामीगाउँमा राख्नुपर्ने भन्दै स्थानीयहरु आन्दोलित समेत भएका थिए। तर गाउँपालिकाको केन्द्र राख्नका लागि वडा नं ३ पंसेरा उपयुक्त स्थान भएको भन्ने प्रतिवेदन सार्वजनिक भएपछि त्यसको विरोध हुँदै आएको छ। प्रतिवेदनका आधारमा गाउँसभाले केन्द्र पंसेरा राख्ने निर्णय गर्दै प्रदेश सरकारलाई पठाइसकेको छ।

खोजतलास हुँदैछ : प्रहरी 

पंसेरामा रहेको सम्पर्क कार्यालयमा आगजनी भएको दुई हप्ता बढी भएको छ। तर गाउँपालिकाको सम्पर्क कार्यालयमा कसले आगजनी गरेको हो भन्ने बारेमा अझै पहिचान हुन सकेको छैन। माघ ८ गते कार्यालयको प्रशासन कक्षमा आगजनी भएको अवस्थामा फेला थियो।

घटना कसले गराएको भन्ने बिषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। घटना भएदिनदेखि प्रहरीले सुक्ष्म रुपमा खोजतलास भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

'आगजनी भएकै दिनदेखि हामी सुक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौं,' उनले भने, 'आगजनी कसले गराएको हो भन्ने बिषयमा केही खुल्न सकेको छैन।' अनुसन्धानका लागि कसैलाई नियन्त्रणमा नलिएको भएपनि विभिन्न व्यक्तिहरुलाई सोधपुछ गरिएको उनले बताए।

प्रतिबन्धित वा असन्तुष्ट पक्षले आगजनी गरेको आशंका

गाउँपालिकाको सम्पर्क कार्यालयमा आगजनी कसले गरेको भन्ने थाहा हुन नसकेको भएपनि प्रतिबन्धित विप्लव समूहको नेकपा वा केन्द्रका विषयमा असन्तुष्ट रहेका स्थानीय बासिन्दाले गरेको हुनसक्ने आशंका गरिएको छ। 


नेकपा बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरमा राखिएको प्रेसर कुकर बम ।

गाउँपालिका अध्यक्ष केन्द्र बोहराले केन्द्रका बिषयमा असन्तुष्ट पक्षले आगजनी गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन्‌। उनले भने, 'लामो समयदेखि केन्द्रको विषयमा असन्तुष्ट पक्ष या प्रतिबन्धित विप्लव समूहको नेकपाको संलग्नता हुनसक्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.