स्थानीयले गाँस काटेर दिएको रकम डुब्यो, उपकरणहरु खिया लागेर नष्ट हुँदै

|

जुम्ला : जुम्लाकाे हिमा लघु जलविद्युत आयोजनमा एक करोड ३५ लाख रुपैयाँभन्दा बढी रकम खर्च भएपनि भौतिक प्रगति निकै कमजोर देखिएको छ।

लाखौं‌ रुपैयाँ खर्चिएपनि अहिलेसम्म आयोजनाको १० प्रतिशत काममात्र सकिएको छ। २०७१ सालदेखि नै ३५ किलोवाट क्षमताको यो आयोजना निर्माण थालिएपनि अहिलेसम्म स्थानीयले बत्ती बाल्न पाएका छैनन्‌। कामको गति हेर्दा बर्षौंसम्म पनि आयोजना निर्माण पूरा नहुने देखिन्छ।

जुम्लामा रहेको क्याप्टा नामक संस्थाले २०७१ सालदेखि कनका सुन्दरी गाँउपालिका वडा नम्बर ५ लौडीसिमा यो आयोजना निर्माण थालेको थियो। सो संस्थाले साविकको बिराट गाविसको लुड्कु,लार्ज र गोचौरमा पर्ने वडा नम्बर ४, ५ र ७ मा रहेका ५०० बन्दा बढी घर परिवारलाई विद्युत सुविधा दिने भन्दै प्रत्येक घरधुरीबाट २ हजार रुपैयाँका दरले तीन लाख १५ हजार नौ सय रुपैयाँ समेत संकलन गरेको थियो।


बिजुलीबत्ती कुरिरहेका स्थानीयको वस्ती ।

यतिमात्रै होइन, एक एनजीओले लघुजलविद्युत निर्माण गर्ने भन्दै रकम मागेपछि साविकको विराट गाविसबाट २० लाख, सोही गाविसको ५ र ६ वडा बाट १८ लाख, संसद कोषबाट १७ लाख रुपैयाँ समेत उपलब्ध गराइएको थियो। कनका सुन्दरी गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ मा यही आयोजनाका लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको थियो। कामै नभएपनि यो आयोजनाले अहिलेसम्म १ करोड ३५ लाख रुपैयाँभन्दा बढी रकम खर्चेको हिसाब देखाएको छ।

आयोजना बनाउन भन्दै क्याप्टाले काठमाडौंस्थित एजी पावर कम्पनीलाई आवश्यक सामग्रीका लागि भुक्तानी भन्दै ४३ लाख रुपैयाँ रकम समेत दिएको थियो। तर अहिलेसम्म खर्च भएको भनिएको १ करोड ३५ लाख रुपैयाँबाट नहर (कुलो) बनाउने, केही मेशिन औजार उपकरण खरिद गर्ने, बस्तीमा तार र पोलको लाइन तान्ने काममात्र भएको छ। आयोजना निर्माणको महत्वपूर्ण काम हुनै बाँकी छ।

ढिलाइबारे सोध्दा उक्त आयोजनामा पटक-पटक कोषाध्यक्ष बनेका जगबहादुर शाहीले कुनै प्रतिक्रिया दिनै मान्दैनन्‌। स्थानीय सरकार र जनप्रतिनिधिहरुको गैरजिम्मवारी र लापरवाहीका कारण आयोजना बनाउने बजेट नै स्वाहा भएपछि स्थानीय दु:खी छन्‌।


अलपत्र अवस्था रहेको आयोजनाका लागि बनाइएको नहर ।

तर स्थानीय सरकारका प्रतिनिधिहरुले भने आफ्नो पालामा आयोजनाको काम निकै अघि बढेको दाबी गर्छन्‌। आयोजना निर्माणमा भएको प्रगति प्रतिवेदन बिनै गाउँपालिका अध्यक्ष नरबिर रावतले ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिदिएका छन्‌ र भुक्तानी समेत गरिसकेका छन्‌।

आयोजना कुरेर बसेका स्थानीयले जनप्रतिनिधिहरुको लापरवाही र कमजोरीकै कारण आयोजना नै नबन्ने जोखिम बढेको बताउन थालेका छन्‌। आयोजनना निर्माण गर्ने भन्दै ६ वर्ष अघि ल्याइएको सामान अहिले पनि खुला आकाशमुनि राखिएको छ। पावरहाउसमै प्रयोग गर्नुपर्ने सामानहरु खुला ठाउँमा राख्दा जेनेटर, तार, बोल्ट र अन्य सामानहरु खिइँदै गएका छन्‌। कतिपय उपकरण त खिया लागेर प्रयोगमै ल्याउन नमिल्ने अवस्थामा पुगेका छन्‌।

आयोजना नबन्ने, तर आयोजनाकै लागि भएको बजेट सिध्याउने र नयाँ बजेट खर्चने प्रवृत्ति दोहोरिएकाले यो लघुजलविद्युत आयोजनामा व्यापक भ्रष्टाचार भएको स्थानीयवासीले आरोप लगाएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.