|

धनकुटा : बुधबार फागुन १ गते अथवा तत्कालीन नेकपा माओवादीले देश र जनताको मुक्ति र परिवर्तनको लागि भन्दै २०५२ सालमा जनयुद्ध सुरु गरेको दिन। जनयुद्धको सुरु गरेको दिनलाई प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बिहीबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ भने नेकपा क्रान्तिकारी माओवादी लगायत विभिन्न माओवादी घटकहरुले जनयुद्ध दिवस मनाएका छन।

यसैबीच धनकुटामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दश वर्षे जनयुद्धमा बलिदान गरेका सहिदका परिवारलाई सम्मान कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा शहीद परिवारले शहीदको सपनामाथि अपमान भइरहेको पीडा पोखेका छन्। उनीहरूले माओवादी नेताहरु पटक पटक सरकारमा गएपनि सहिदहरुको सपना पूरा गर्न नसकेकोमा जनयुद्ध हाँकेको मुख्य नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरे।

‘जनयुद्धपछि पटक पटक गरेर नेताहरु सरकारमा गए, तर खै सहिदको सपना पूरा भएको?’ शहीद परिवार स्मिता निरौलाले भनिन् ‘पटक पटक सरकारमा पुगेर पनि नेताहरुले सहिदलाई भुलेर सत्तामा मात्र रमाउन पुगे।’ जनयुद्धको नेतृत्व गर्ने प्रचण्ड र बाबुरामहरू पालैपालो सरकारको नेतृत्वमा पुगे पनि जनयुद्धका सहिदहरुलाई नेपाल सरकारको तर्फबाट सहिद घोषणा समेत नहुनु निकै दुःखद पक्ष भएको उनको भनाइ थियो। जनयुद्धमा शहीदको बलिदानबाट नेपालको कम्युनिष्ट आन्दोलन यो ठाउँमा आइपुगेको तर नेतृत्वहरूले दिएको धोका र विश्वासघातका कारण शहीद परिवार अलपत्र परेको उनीहरुको गुनासो थियो।

‘हामी शहीद परिवारका सदस्यहरु शीहिदका परिवार भन्न सक्ने अवस्थामा छैनौ।’ निरौलाले भावुक हुँदै भनिन ‘खोई हामीलाई नेतृत्वले हेरेको? कहाँ छ नेतृत्व?’ उनले भनिन यदि नेतृत्वले सहिद परिवारलाई सम्बोधन गर्छ भने पहिलो कुरा सहिद घोषणा र आरक्षणको व्यवस्था गर्नुपर्छ। उनले सहिद परिवारलाई उचित सम्बोधन नगरेसम्म कुनैपनि सम्मान नलिने बताइन। निरौलाले भावुक हुँदै भनिन, आफूले एक जना मात्रै गुमाएको हुनाले तीनचार जना गुमाउनेको परिवारलाई सम्झेर मन बुझाउने गरेको बताइन। 

माओवादीको १० वर्षे जनयुद्धका क्रममा राज्य तथा विद्रोही दुवै पक्षबाट गरी झण्डै १७ हजार जनाले ज्यान गुमाएको बताइन्छ। हाल मुलुकमा आएको राजनीतिक परिवर्तनका खातिर बलिदानी दिएका आफ्ना नेता/कार्यकर्तालाई तत्कालिन माओवादी र हालको सत्तारुढ नेकपाले सहिद भनेर पुकार्दै आएको छ। तर, परिवारका सदस्यहरु भने राज्य तथा पार्टी दुवैबाट अपहेलित महसुस गरिरहेका छन। आफ्ना आफन्तहरुको रगतले ल्याएको परिवर्तन सबैलाई मान्य हुने तर, रगत बगाउनेहरुलाई नसम्झिने प्रवृक्तिका कारण उनीहरुलाई निकै दुःख लागेको छ।

जनयुद्धका शहीद दीपक तीवारुका बुबा अमर तिवारीले जनयुद्धका सहिदहरुलाई उचित सम्मान नदिइएको गुनासो गर्छन। माओवादी जनयुद्धले उठाएका आर्थिक, समाजिक, राजनीतिक मुद्दा र यसबाट आएको परिवर्तन सबैलाई मान्य हुनु, तर त्यतिबेला बलिदानी दिनेहरुलाई सहिद भन्न हिच्किचाउनु दुःखद भएको उनको गुनासो छ।

‘माओवादी युद्धमा मारिएकाहरुको रगतले नै अहिलेको परिवर्तन आएको हो,’ तीवारीले भने, ‘त्यो रगतको सम्मान गर्न अहिले पनि राज्य हिच्किचाइरहेको छ।’ उनले शहिदलाई द्वन्द्वपीडित मात्र भनिरहन पाइँदैन, उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन रगत बगाएको बताए।

धनकुटामा राज्यले सहिदको दर्जा नदिएको गुनासो गर्नेहरु मात्र होइन, विभिन्न टुक्रामा छरिएका माओवादीहरुले नै अपहेलना गरेको ठान्नेहरु पनि प्रसस्तै भेटिन्छन। युद्धमा मारिएकाहरुको रगतको र्भयाङ बनाएर सत्तामा पुगेका नेताहरुले समेत अपमानित गरेको शहीद परिवारको दुखेसो छ। माओवादीले युद्धमा मारिएकालाई सहिद घोषणा गर्ने पहल गर्नुभन्दा पार्टीको नेतृत्व हत्याउने र नेता बन्ने होडबाजीले जनयुद्धका सहिदमाथि नेतृत्वको गद्धारी भएको सहिद परिवारको गुनासो छ।

नेकपासँग छैन जनयुद्धका शहीदको संख्या

धनकुटामा राज्यको तर्फबाट मारिएका जनयुद्धका सहिद कति छन भन्ने डाटा नेपाल कम्युनिष्ट पार्टी नेकपासँग पनि नभएको पाइएको छ। बिहीबार भएको कार्यक्रममा बोल्दै नेकपाका कार्यालय सचिब भीम राई जनयुद्धमा कति धजकुटामा को को सहिद भए भन्ने डाटा नभएको बताएपछि उक्त कुरा बाहिरिएको हो।

उनले आफू पूर्वएमाले भएर कति सहिद भए भन्ने डाटा नभएको बताए। नेकपाले मनाएको जनयुद्ध दिवसमा पनि कुनै सहिदको फोटो राखेको थिएन, यसले पनि सहिदका विषयमा अनभिज्ञ रहेको बुझ्न कठिन थिएन। त्यसो त पार्टी कार्यालयको भित्तामा पनि कुनै फोटो नेकपाले राखेको छैन। अहिले पार्टी तथा राज्यबाट अपमानित महशुस गरिरहेका सहिद परिवारले उचित सम्मानको आश गरेका छन। परिवर्तनको लागि लड्दा मर्नेको सम्मान राज्यले गर्नुपर्ने उनीहरुको भनाइ छ।

शहीदका नाममा गलत गरिएको गुनासो

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदका नाममा गलत काम गर्न थालेको कार्यकर्ताको गुनासो आएको छ। नेकपाका नेताको सम्पति छानविन हुनुपर्ने कुरा उठ्नु भनेको नेतृत्वले सहिद र आन्दोलनको नाममा गलत काम गरेको प्रष्ट हुने पूर्वसांसद गोपाल गुरागाई बताउँछन।

उनले पञ्चायत र राजतन्त्र हुँदा जनतालाई सत्तामा पुगेर काम गर्छौ भनेका नेतृत्वले आफैँ सत्तामा हुँदा केही नगरेको गुनासो रहेको बताए। उनले सहिद भनेको के हो परिभाषा राज्यले गर्न नसकेको र हज्जारौ सहिदले बलिदानी गरेर ल्याएको धरोहरमा नेतृत्व जोगाउन भन्दा पनि लुछाचुडिमा लागेको गुनासो गरे।

उपलब्धिको रक्षा आवश्यक

देशमा भएको जनयुद्ध र जनआन्दोलनका उपलब्धीको रुपमा आएको लोकतान्त्रिक गणतन्त्र रक्षा प्रमुख चुनौती बनेको नेकपाका नेता कार्यकर्ता बताउँछन। नेकपा धनकुटाका सचिब ऋषिराम ढुंगानाले सहिदले देखाएको बाटोमा हिडेमा उपलब्धी स्वत रक्षा हुने बताउँदै यसका लागि नेतृत्वले कार्ययोजना बनाउनु पर्ने बताए।

कुनै स्वार्थ बिना गरिएको जनयुद्ध उत्पीडित जाती र वर्गको मुक्तिको लागि भएको भएपनि नेतृत्व र कार्यकर्ता स्वार्थमा डुब्दा अहिलेसम्मका उपलब्धि गुम्ने खतारा बढेको नेकपाका प्रदेश सदस्य उज्जल किराँती बताउँछन। उनी भन्छन अधिकार सम्पन्न बनाउन जनयुद्ध भएको थियो र अहिले फरक भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.