|
फाइल फोटो

हेटौँडा : बागमती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लामा एकै दिन दुई बालविवाह रोकिएको छ। भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकाका २० वर्ष पूरा नभएका दुई जोडी किशोरकिशोरीको प्रेम विवाह बदर गरिएको छ।

नेपालको तत्कालिन कानुन अनुसार २० वर्ष पूरा नभए केटाकेटी श्रीमान-श्रीमतीको रूपमा सँगै बस्न नपाइने प्रावधान रहेकोले विवाह बदर गरिएको हो। सरकारको समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान अन्तर्गत सबै स्थानीय तहलाई बालमैत्री घोषणा गर्ने नीतिअनुसार ३९ वटा मापदण्ड निर्माण गरेका छन्। 

जसको मापदण्डमध्ये एउटा बालविवाह मुक्त गर्न अनिवार्य गरिएको छ। उमेर नपुगी गरेको विवाहले बालबालिकाहरुको हक अधिकार हनन हुने, शारीरिक, मानसिक, शैक्षिक, आर्थिक तथा सामाजिक विकृति विसंगति निम्त्याउने भएकाले २० वर्ष पूरा नभई अपरिपक्व उमेरमा गरेको विवाहलाई मान्यता नदिने कारणले बुधबार मकवानपुरका दुई जोडीको विवाह रोकिएको हो।

बालहेल्पलाइन मकवानपुरको पहलमा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना र इलाका प्रहरी कार्यालय भीमफेदीको समन्वयमा १६ वर्षीया किशोर र १३ वर्षीया किशोरी बीचको प्रेम विवाह बदर गरिएको हो।

विवाह बदर गर्नुभन्दा अगाडि सम्बन्धित बालबालिकाको अभिभावकबीच भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, बालहेप्लाइनका प्रमुख झविन्द्र ज्ञवाली,  वडा नम्बर ६ का वडा अध्यक्ष सिताराम थापा, गाउँपालिकाकी महिला तथा बालबालिका प्रमुख दुर्गा घिमिरेलगायतको उपस्थितिमा छलफल गरेर बालबालिकाले गरेको प्रेम विवाह बदर भएको बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञावलीले जानकारी दिएका छन्।

छलफलबाट बालविवाह गरेका परिवारको अभिभावकहरुले आफ्नो छोराछोरी जिम्मा लिन राजी भएका छन् । दुवै परिवारले आफ्नो छोराछोरी पढ्दै गरेकाले दुवैलाई पढाइमा निरन्तरता दिन आफूहरूले पहल गर्ने प्रतिबद्धतासमेत गरेका छन्। विवाह बदर भए लगतै १३ वर्षीय किशोर अभिभावकको सहमतिमा र भीमफेदी गाउँपालिकाको सिफारिस अनुसार केही दिन बालहेप्लाइन प्रमुख ज्ञवालीको नेतृत्वमा बालिकालाई काउन्सिलको लागि बालहेप्लाइन हेटौंडामा पठाइएको छ।

यस्तै हेटौंडा उपमहानगरपालिका १४ का १३ वर्षीया किशोर र बकैया ७ का १७ वर्षीय किशोर बीचको पनि प्रेम विवाह बदर भएको छ। बकैया ७ वडा अध्यक्ष रामकाजी लामिछानेको नेतृत्वमा बालहेप्लाईन हेटौंडामा किशोरकिशोरीका दुवै परिवार झिकाएर गरेको छलफलबाट अभिभावकहरुले आफ्नो छोरा छोरी जिम्मा लिएका छन्।

छलफलमा बकैया ७ का अध्यक्ष रामकाजी लामिछाने, बालहेप्लाईनका झविन्द्र ज्ञवाली, हेटौंडा उपमहानगरपालिकाबाट कानुनी सहनकर्ता रोनिता लम्साललगायतको सहभागिता रहेको थियो। बाल हेल्पलाईनले उक्त बालिकालाई पनि अभिभावकको सहमति र उपमहानगरपालिकाको सिफारिसमा केही दिन काउन्सिल दिइने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.