कर्मचारी भन्छन् : भ्रमणबारे सामाजिक संजालबाट थाहा पायौँ
कर्मचारी भन्छन् : भ्रमणबारे सामाजिक संजालबाट थाहा पायौँ
भोजपुर : भोजपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी भ्रमणमा हिँडेपछि सेवा प्रवाहमा समस्या भएको छ ।
नगर प्रमुख कैलास कुमार आले, उप–प्रमुख ममिता राई, प्रमुख प्रशाकीय अधिकृत, रामप्रसाद ढुंगेल, लेखा प्रमुख सुरेन्द्र कुमार श्रेष्ठ, चारजना वडाध्यक्ष, प्रविधि, कम्प्युटर अप्रेटर गरी १७ जनाको टोली भ्रमण हिँडेपछि दैनिक कामकाजमा समस्या भएको हो।
गत आइतबारबाट भ्रमणमा गएको भए पनि कहिले फर्कने भन्ने थाहा नभएको कार्यालयका कर्मचारी बताएका छन्। कार्यालयमा सेवा लिनको लागि आएका आङपासाङ शेर्पाले भने, ‘जनप्रतिनिधि तथा कर्मचारी काम नै ठप्प पारेर जानु भनेको यो चरम लापरबाही हो, भ्रमणमा गएको विषयमा अन्य कर्मचारी समेत थाहा छैन, यस्तो गैर जिम्मेवारी पनि हुन्छ?’
कार्यालयका अधिकांश शाखा कर्मचारीविहीन रहेका छन्। कार्यालयमा सम्झौताको काम भइरहेको भए पनि आर्थिक कारोबार भने ठप्प रहेको छ। मौखिकरूपमा कार्यालयको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा इन्जिनियर अरुण हमाललाई अनुमति दिएको भए पनि लिखितरूपमा जिम्मेवारी दिएको छैन।
जसका कारण आर्थिक कारोबार लगायतका काम ठप्प छ। इन्जिनियर अरुण हमालले भने, ‘मलाई काम गर्दै गर्नु भनेर मौखिक रुपमा भनेकोले काम गरिरहेको छु, तर लिखित रूपमा प्रमुख प्रशासकिय अधिकृत सरले जानकारी दिएको छैन।’
नगर प्रमुख, प्रशाकीय अधिकृत तथा अन्य जिम्मेवार कर्मचारी बाहिर गएको विषयमा सामाजिक सञ्जालबाट थाहा पाएको कर्मचारीले बताएका छन्। साथै उनीहरूको कति दिने भ्रमण हो, भन्नेसमेत थाहा नभएको बताए। नाम नबताउने शर्तमा एक कर्मचारीले भने ‘कतिदिने भ्रमण हो त्यो थाहा छैन, भ्रमणमा रहेको विषयमा मलाई पनि सामाजिक सञ्चालबाट मात्र थाहा भएको हो, अरू कुरा मलाई केही थाहा छैन।’
नाम उल्लेख नगर्ने शर्तमा एक वडाध्यक्षले भने, ‘मेयर, उपमेयर, प्रमुख प्रशाकीय अधिकृत, लेखा अधिकृत, वडाध्यक्ष, प्राविधिकलगायत १७ जना भ्रमणमा छन्, तर भ्रमणको विषयमा कार्यापालिका बैठकबाट निर्णय भएको मलाई जानकारी छैन, उहाँहरू नहुँदा सेवा प्रवाहमा समस्या त धेरै नै छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।