|

जुम्ला : जुम्लाको कानका सुन्दरी गाउँपालिकाभित्र रहेका सुत्केरी आमाहरूले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन्‌। 

नेपाल सरकारले नवजात शिशुको मृत्यु हुने दर शुन्यमा झार्नका लागी स्वास्थ्य संस्थामा गर्भवती महिला सुत्केरी हुँदा पाउने प्रोत्साहन भत्ता एक वर्षदेखि नपाएको गुनासो गरेका हुन। सुत्केरी महिलालाई पोषणयुक्त खाना र गर्भवती महिलालाई स्वास्थ्य संस्थामा गई चारपटक स्वास्थ्य जाँज गराएबापत दिनुपर्ने ८ सय रुपैयाँ र सुत्केरी भए वापत पाउनुपर्ने ३ हजार गरी जम्मा ३ हजार ८ सय रुपैयाँ रकम कनका सुन्दरी गाउँपालिकामा रहेको स्वास्थ्य संस्थाले गत बर्षदेखि नै नदिएको हो। 

सुत्केरी भएको एक बर्षदिन बितिसक्दा पनि सुत्केरी प्रोत्साहन भता नपाएको र स्वास्थ्य संस्थामा माग्न जादा गाउँपालिकाबाट बजेट नआएको जवाफ दिइने गरिएको छ। कुनैपनि महिला स्वास्थ्य संस्थामा सुत्केरी हुनासाथ यो रकम पाउनुपर्ने प्रावधान छ।

सुत्केरी भत्ता नपाएपछि मालिका बोताका महिलाहरुले संघीयतामाथि नै प्रश्न गर्न थालेका छन्‌। कनका सुन्दरी गाउँपालिका वडा नम्बर २ मालिका बोताकी सुनमाया रावतले भनिन्‌, 'सिंहदरबारको अधिकार गाउँगाउँमा आएको भनेको यही होला, सुत्केरी भएकै बेला पाउनुपर्ने रकम गाउँपालिकाले दिएन, पहिले त तत्कालै दिइन्थ्यो।' सुनमायाले मात्र नभई गाउँपालिकाभित्र पर्ने हाड्सिन्जा, मालिका बोता र कोटघरमा रहेको 'बर्थिङ सेन्टर'मा सुत्केरी भएका धेरै महिलाले सुत्केरी प्रोत्साहन भत्ता पाएका छैनन्।

हाड्सिन्जा 'बर्थिङ सेन्टर'मा गर्त बर्ष सुत्केरी भएका १४ जना र यस बर्षका २४ गरी ३८ जना महिलाले प्रोत्साहन भत्ता पाएका छैनन्‌।  मालिका बोतामा गत वर्षका ५ जना र यो बर्ष १६ जना गरी २१ जना सुत्केरी महिलाले पनि प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन।

गाउँपालिकाको स्वास्थ्य शाखामा सुत्केरी भएका महिलाहरुको प्रतिवेदन पुर्‍याएको स्वास्थ्य संस्थाका प्रमुखहरुले बताएका छन्‌। तर गाउँपालिकाले चाहिं अझैसम्म सुत्केरी आमा र गर्भवतीहरुलाई प्रोत्साहन भत्ता दिएको छैन। गत कार्तिक र बैशाख महिनामा भिटामिन र जुकाको औषधी खुवाएबापत महिला स्वाथ्य स्वयंसेविकाले गाउँपालिकाबाट पाउनुपर्ने ८ सय रुपैयाँ पनि अझै दिइएको छैन।  

गत बर्ष बजेट अभाव र यो बर्षको बजेट ढिलो आएकाले समयमै सुत्केरी आमाहरुलाई प्रोत्साहन बापतको रकम दिन नसकेको कनका सुन्दरी गाउँपालिकाका लेखापाल गोपाल बुढाले बताए। उनले भने, 'अबको केही दिन भित्र सबै सुत्केरी महिलाले रकम पाउने व्यवस्था मिलाउँछौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.