प्रवर्द्धनमा सरकारी स्तरबाटै पहल भएन

|

बैतडी : सुदूरपश्चिमका पहाडी जिल्लामा पालिने गड्डी भैंसी पछिल्लो समयमा गड्डी भैंसी लोप हुँदैं गएका छन्। भैंसीपालन व्यवसायका लागि कुनैबेला नामी जिल्लाको रुपमा रहेको बैतडी जिल्लामा भैंसी लोप हुँदै गएका हुन्। 

ठूला सिङ भएका, ठूलो शरीर भएका र सज्जन खालका यी भैंसीहरु पछिल्लो समयमा पूर्ण रुपमा लोप हुँदै गएका छन्। दुध उत्पादनका लागि राम्रो मानिएपनि पछिल्लो समयमा यो जातको भैंसी नै लोप भईसकेको हुन्।

भैंसी पालनका लागि धेरै परिश्रम चाहिने भएकाले यसप्रति किसानहरुको आकर्षण घट्दै गएको दशरथचन्द नगरपालिका २ का सुर्य बोहराको भनाई रहेको छ । 'किसानहरुले भैंसी नै पाल्न छोडेका र विभिन्न रोगका कारण स्थानीय जातको गड्डी भैंसी लोप भएका हुन्,' उनले भने, 'मासुको लागि तराईका जिल्लाहरुमा पैठारी हुने गरेकाले लोप हुने अवस्थामा पुगेका हुन्।'

विसं २०५४ सालतिर बैतडी र दार्चुलामा देखा परेको खरी रोगका कारण गड्डी भैंसी लोप हुने स्थितीमा पुगेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिवराज भट्टले बताए। मुर्रा जातको क्रसिङ हुँदा स्थानीय जात नष्ट हुँदै गएको छ भने खरीरोगका कारण पनि गड्डी भैंसी लोप हुने अवस्थामा पुगेको छ।

'खरी रोगको उपचार लामो समयसम्म गर्नुपर्ने भएकाले किसानहरु दिक्क भएर भैंसी पाल्न नै छोडिदिएका छन्,' भट्टले भने, 'भैंसी पालनमा लागेका किसानहरु पनि व्यवसायिक हिसाबले पालनमा नजुटेकाले भैंसी लोप हुने अवस्थामा पुगेका छन्'  

भैंसीपालनका लागि प्रशस्त चरन, आहाल लगायतका कुराहरुको कमी हुँदा भैंसी पालन व्यवसाय संकटमा परेको किसान दलजित विष्टले बताए। यस्तै गाउँगाउँबाट भएका भैंसीहरु तराईतिर विक्रि हुन थालेपछि गाउँमा भैंसी पाइन छोडेको विष्टको भनाई छ। उनले भने' 'दलालहरुले गाउँगाउँमा पुगेर सानो पाडादेखि, थार भैंसीहरु मासु प्रयोजनका लागि तराईतिर लग्न थालेपछि भैंसी व्यवसाय संकटमा परेको छ।' 

जंगलको विनाश हुँदा भैंसीले आहाल खेल्ने तालहरु समेत सुक्दै गएका छन्। भैंसी पालन व्यवसायबाटै गुजरा गरिरहेकाहरु पनि पछिल्लो समयमा अरु नै पेशा अपनाउन थालेका छन्। पहिला पहिला भैंसीको घिउ बेचेर घरखर्च धान्नेहरु रोजगारीका लागि अन्यत्र जान थालेका छन् कुनैबेला परिवारको लागि लुगाफाटो किन्नुपर्दा अथवा चाडपर्व मनाउने सवालमा पनि भैंसीको घिउले नै गर्जो टार्ने चलन थियो। तर पछिल्लो समयमा भैंसी पालनमा किसानहरुको आकर्षण घटेपछि भैंसीको घीउ पाउन छोडेको बाशुलिङ्गका लाल बहादुर पाण्डेले बताए। उनले भने, 'पहाडी जिल्लाबाट मासुका लागि थारभैंसी समेत व्यापारीहरुले किन्न थालेपछि  किसानहरुले भैंसी नै पाल्न छोडेका हुन्‌।'

प्रवर्द्धनमा सरकारी स्तरबाटै पहल भएन

भैंसी पालन व्यवसायलाई प्रवर्द्धन गर्नका लागि सरकारीस्तरबाट पनि पहल नहुँदा समस्या भएको छ। भैंसी पालनप्रति नयाँ पुस्ताको ध्यान कम हुनुले पनि समस्या निम्त्याएको हो।

भैंसी नै लोप हुने अवस्थामा पुगेपछि यहाँका स्थानीय तहहरुले प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्नुपर्नेमा किसानहरुले जोड दिएका छन्। पशुसेवाका कार्यक्रम स्थानीय तहमा भएपनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेका छैनन्। यसको रोकथामको लागि कसैको ध्यान नपुगेको आरोप छ। तर यहाँका स्थानीय तहले भने रोकथामको पहल थालेको जनाएका छन्।

सडक सुविधा नजिक भएका ठाउँका भैंसीहरु बढिजसो अन्यत्र पैठारी हुने गरेको भएपनि तर दुर्गम क्षेत्रमा भने पहिलाको भन्दा केहि मात्रामा घटेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए। उनले भने, 'रोकथामका लागी पहल थाल्दा पैठारीमा कमी आएको छ।' पैठारी रोक्ने उद्देश्यले व्यवसायिक रुपमा भैंसीपालन गर्ने किसानलाई अनुुदान सहयोग गर्ने गरेको सुर्नया गाउपालिका अध्यक्ष वीर बहादुर बिष्टले बताए।

भैंसीको स्याहारसुसारका लागि बढी मिहनेत गर्नुपर्ने र दुधको समेत संगठित बजार नहुँदा भैंसीपालन व्यवसाय संकटमा परेको पशु प्राविधकहरुले जनाएका छन्। कार्यक्रम लागु गरेर किसानको गोेठसुधार, रोगहरुको नियन्त्रणका लागि जुकाको औषधि, बाह्य परिजिवि विरुद्धको खोप र खरीरोग विरुद्धको औषधि नि:शुल्क प्रदान गर्नुपर्ने, किसानहरुलाई पोषिले घाँस उत्पादनमा उत्प्रेरित गर्ने र त्यसका लागि घाँसको बीउ र बेर्ना सित्तैमा उपलब्ध गराउनुपर्ने स्थानीय किसानहरूको माग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.