|

बुटवल : गत माघ २४ गते शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालयले दुई जना ट्राफिक प्रहरीलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गर्‍यो। 

अख्तियारले बुटवल रामनगर ट्राफिक विटमा कार्यरत असई सूर्यबहादुर अधिकारीलाई ५ हजार रुपैयाँ र देवदह खैरेनी पोष्टमा कार्यरत छविलाल पोखरेललाई तीनहजार रुपैयाँसहित पक्राउ गरेको थियो। टिपरलाई आवतजावतमा सहजीकरण गरिदिने भन्दै चालकबाट घुस लिँदालिँदै उनीहरू पक्राउ परेका थिए। 

अख्तियार सडकमा नै उत्रेर ट्राफिक प्रहरीलाई रंगेहात पक्राउ गरेको यस्तो घटना चालु आर्थिक वर्षको लागि पहिलो थियो। यसले अख्तियारको सक्रियता मात्र दर्शाएन ट्राफिक कार्यलयमा दाखिला हुने राजश्वमा समेत सकारात्मक असर पारेको छ।

अख्तियारले ट्राफिक प्रहरीमाथि निगरानी बढाएसँगै सडकमा ट्राफिक नियम पालना नगरेका सवारीको कारवाहीबापत उठ्ने राजश्व ट्राफिक कार्यालयमा पहिलेभन्दा धेरै दाखिला हुने गरेको छ। 

प्रदेश ५ ट्राफिक कार्यालय बुटवलको तथ्यांक अनुसार माघ महिनामा चालु आर्थिक वर्षकै सबैभन्दा धेरै राजश्व दाखिला भएको छ।त्यसमा पनि दुई प्रहरीको कारवाहीपछि राजश्व संकलनमा बढोत्तरी आएको तथ्यांकले देखाउँछ। कार्यालयले मातहतका कार्यालयबाट सवारी साधनको कारवाही वापत चालु आर्थिक बर्षको माघ महिनामा मात्रै १ करोड २० लाख ५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। यो पुस महिनाको भन्दा १३ लाख ८२ हजार ५ सय रुपैयाँले धेरै हो।

माघ महिनामा पनि अन्तिम सातातिर धेरै राजश्व संकलन भएको तथ्यांकमा छ। अख्तियारको उक्त कारवाहीपछिका ५ दिनमा (माघ मसान्तसम्म) कार्यालयले दैनिक ४ लाख १० हजार ८ सय रुपैयाँका दरले २० लाख ५४ हजार ५ सय रुपैयाँ उठाइसकेको छ। अख्तियारले ती दुई ट्राफिक प्रहरीलाई माघ २४ गते पक्राउ गरेको थियो। 

पक्राउ गरेको अर्कोदिन मात्रै कार्यालयमा ४ लाख ३७ हजार ५ सय रुपैयाँ राजश्व दाखिला भएको छ। जुन पक्राउ गर्ने दिन भन्दा एक लाख २५ हजार ५ सय रुपैयाँले धेरै हो। एकै दिनमा एक लाख रुपैयाँभन्दा धेरै राजश्व संकलन हुनुले अख्तियारले गरेको कारवाहीको असर देखिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मधुसूदन लुईटेल स्वीकार्छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालयका सुचना अधिकृत सुरेश भुषालले अभियुक्तद्वयले आवतजावतमा सहजीकरण गरिदिने भन्दै टिपर चालकसँग नियमित रकम उठाउँदै आएको सूचना पाएकाले स्टिङ अपेरेशन गरिएको जानकारी दिए। सोही सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको भुषालले बताए।

‘टिपरबाट नियमित रकम उठाउने गरेको सूचना हामिले पाएका थियौं। सोही सूचनाको आधारमा पक्राउ गरिएको हो’भुषाल भन्छन्।  अभियुक्तद्वयलाई हाल अख्तियारको केन्द्रीय कार्यालयमा थप अनुसन्धानको लागि राखिएको छ। अनुसन्धानमा दोषी देखिए उनीहरूलाई विषेश अदालतमा मुद्दा चलाउने अख्तियारको तैयारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.