|

हेटौंडा : मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीमा शनिबारबाट तेस्रो बागमती गोल्डकप सुरु भएको छ। गोल्डकपको नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा 'बादल' उद्घाटन गरेका छन्। गोल्डकपको उद्घाटन गर्दै गृहमन्त्री बादलले काम नगर्ने ठेकदारलाई कारबाहीको दायरामा ल्याउने बताए।

कार्यक्रमको स्वागत मन्तव्य राख्दै बागमती गाउँपालिका अध्यक्ष  सर्केश घलानले बागमतीको पुल ९ वर्षदेखि अलपत्र भन्दै गुनासो गरेपछि मन्त्री बादलले ठेकदारलाई अब अन्तिम मौका भन्दै कुनै पनि हालतमा काम गर्नु पर्ने बताए।

कार्यक्रमस्थल छेउमै रहेको मदनभण्डारी राजमार्गलाई हेर्दै उनले नेपाल सरकारले महत्वको साथमा हेरेको मदन भण्डारी राजमार्गमा बाँकी रहेको कामलाई तत्कालै पूरा गर्नु पर्ने बताए।

हतार हतार फर्केका गृहमन्त्री बादलले खेल क्षेत्रमा मकवानपुरबाट उल्लेखनीय योगदान पुर्‍याएको चर्चा गरे। उनले गणेश थापाको नाम लिँदै फुटबलमा नेपालको विकासमा मकवानपुर जिल्लाको महत्वपूर्ण भूमिका रहेको बताए। सरकारले पनि खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको भन्दै खेल क्षेत्रले स्वस्थ युवा वर्ग उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। 

युवा स्वस्थ भए मात्रै देशले समृद्धि हासिल गर्न सक्ने भन्दै मन्त्री बादलले खेल क्षेत्रमा सरकारले अझै महत्वको साथ हेरेर अगाडि बढ्ने बताए। उनले स्थानीय जनतालाई सेवा सुविधाको मध्ये नजर गर्दै मकवानपुरको बागमती गाउँपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने समेत बताए।

उद्घाटन कार्यक्रममा बागमती प्रदेशका सांसदहरू प्रेमबहादुर पुलामी, मुनु सिग्देल र कुमारी मोक्तानलगायतको पनि उपस्थिति रहेको थियो। 

उद्घाटनमा आयोजक विजयी

तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती गाउँपालिका विजयी भएको छ। प्रतियोगितामा आयोजकले सर्लाहीको बागमती युवा क्लबलाई १–० ले पराजित गरेको हो। खेल सुरु भएका ५ मिनेट मै बाबुराम माझीले गोल गरेको गोल नै निर्णायक गोल भएको थियो। 

उद्घाटन खेलको म्यान अफ दी म्याच आयोजक बागमती गाउँपालिकाका गोरक्षक अमृत पाख्रिन भएका छन् उनले नगद ५ हजार प्राप्त गरेका छन्। आइतबारको खेल नवजागृति युवा क्लव र न्यू डाँफे युवा क्लवबीच हुने छ।

गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल र प्रमाणपत्र पाउने छन्। उपविजेताले ३ लाख हात पार्नेछन्। यस्तै सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन। उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ।

प्रतियोगितामा ५ वटा ए डिभिजनसहित १० टिमको सहभागिता रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.