|

-रामचन्द्र तामाङ

पाँचथर : साढे पाँच दशकभन्दा बढी भेंडीगोठ सम्हालेर बसेका फालेलुङ गाउँपालिका–४ गुरुङटारका क्यादरलाल गुरुङले केही वर्ष अघि भेंडीगोठ छाडे। अहिले गुरुङसँग ५० वटा भेंडा मात्र छन्। त्यो पनि अर्काको गोठमा। 

२०२१ सालदेखि भेंडीगोठ बस्न थालेका क्यादरलालका आफ्नो गोठ नभएपछि अहिले उनको भेंडा अर्कै गोठको गोठालाले हेर्छन्। उत्तरपूर्वी पाँचथरको याङवरक गाउँपालिका–१, च्याङथापुका गर्जमान गुरुङले पनि ३५ वर्षदेखि गर्दै आएको भेंडीगोठ गत वर्ष बेचे। अहिले उनी अर्कै पेशामा छन्।

पाँचथरको उत्तरपूर्वी क्षेत्रमा पुस्तौंदेखि गरिंदै आएको भेंडापालन व्यवसाय अहिले संकटमा परेको छ। खर्कको अभावले भेंडीगोठ मासिने अवस्थामा पुगेका छन्। क्यादरलाल र गर्जमानजस्तै अन्यले पनि भेंडीगोठ छाडेका छन्। 

‘१५ वर्षअघि पाँचथरमा मात्र एक दर्जन जति भेंडीगोठ थिए,’ गर्जमानले भने, ‘त्यो संख्या घट्दै आएर अहिले तीनवटामा झरेको छ।’ उनका अनुसार चरिचरन क्षेत्रको अभाव भेंडीगोठ मासिनुको प्रमुख कारण हो। किसानले अलैंची, चिराइतो, अम्लिसोजस्ता बिरुवा लगाएपछि तल्लो क्षेत्रमा खर्कको अभाव हुँदा भेंडीगोठको अस्तित्व संकटमा परेको हो।

एउटा चोकमा कम्तीमा २०० भन्दा बढीको संख्यामा भेंडा हुन्छन्। त्यसैले राम्रो घाँस भएको क्षेत्रमा पनि बढीमा एक सातादेखि दश दिनसम्म मात्र भेंडा राख्न सकिन्छ। घाँस कम भएको क्षेत्रमा बढीमा पाँच दिनसम्म मात्र राख्न सकिन्छ। एउटा खर्कदेखि अर्को खर्कमा सारिरहनु पर्ने भएकाले भेंडाको लागि ठूलो चरन क्षेत्र आवश्यक पर्ने गर्जमान बताउँछन्। तर, विभिन्न बिरुवा र बाली लगाइएपछि चरन क्षेत्र अहिले साँघुरो बनेका छन्। गर्मी याममा लेकको खर्कले धाने पनि जाडोयाममा वेंशी क्षेत्रमा चरन क्षेत्र अभाव हुँदा भेंडीगोठ लोप हुने अवस्थामा पुगेको क्यादरलालले बताए।

नेपाल–भारत सीमावर्ती फालोट क्षेत्रको भारततिरको भू–भागमा कडाइ गरिएपछि अहिले लेक क्षेत्रमा पनि समस्या रहेको भेंडीगोठ व्यवासायीहरु बताउँछन्। त्यस्तै, भेंडालाई जंगली जनावरले आक्रमण गर्ने, विभिन्न रोग लाग्ने र गोठालो नपाइने समस्याले पनि भेंडीगोठ मासिँदै गएका हुन्। दर्जनबाट घटेर तीनवटामा पुगेको भेंडीगोठ अहिले याङवरकको च्याङ्थापुका वीरबहादुर बेघा, फालेलुङ मेमेङका टेकबहादुर गुरुङ र फालेलुङ खुगाका दीपेन्द्र आङ्बोले मात्र अस्तित्व बचाइरहेका छन्। 

भेंडापालन व्यवसायमा मुख्य आम्दानीको स्रोत पाठापाठी, ऊन र घिउ हो। भेंडाको ऊनबाट आकर्षक राडीपाखी बनाइन्छ भने घिउ औषधिको रुपमा प्रयोग हुन्छ। ३०० वटा भेंडासहितको १५ लाख मुल्य बराबरको भेंडीगोठ सञ्चालन गर्दै आएका दीपेन्द्र आङ्बोका अनुसार भेंडाको घिउ आगोले पोलेको, पिल्सेको र हात–खुट्टा मर्केको अवस्थामा औषधिको रुपमा प्रयोग गरिन्छ। उनले भने, ‘अहिले हामीले अढाई महिनासम्मको पाठापाठी प्रतिगोटा दश हजार, घिउ प्रतिकेजी २५ सय र ऊन प्रतिकेजी ४०० रुपैंयाँसम्ममा बिक्री गर्दै आएका छौं।’

तर, अहिले राडीपाखी बनाउने सिप भएकाहरु नै कम भेटिने हुनाले ऊनको बिक्री खासै राम्रो नभएको दीपन्द्रले बताए। ओछ्याउनलाई आधुनिक र आकर्षक किसिमका बजारीया सामग्रीहरुमा मानिसको आकर्षण बढेपछि घरैमा बनाइने राडीपाखी कम बिक्ने गर्दा अत्यन्तै कमले मात्र राडीपाखी व्यवसाय गर्ने गरेको उनीहरुको भनाइ छ। भेंडीगोठ लोप भएर सकिने अवस्थामा पुगेपछि भेंडालापनलाई हराएर जान नदिन केहीले खोरमै कोचेर भेंडा पालिरहे पनि खोरका भेंडा खुला खर्कमा रमाउँदै चर्ने भेंडाजस्तो नहुने दीपेन्द्र बताउँछन्।

राज्यस्तरबाट खर्कको व्यवस्थापन, औषधि उपचारको व्यवस्था, ऊनको बजार व्यवस्थापन त्यस्तै भेंडीगोठलाई प्रवर्द्धन गर्ने किसिमका कार्यक्रम ल्याइए भेंडीगोठ मासिएर जानबाट रोक्न सकिने अर्का भेंडीगोठ सञ्चालक बीरबहादुर बेघाले बताए। विगतको तुलनामा अहिले भेंडीगोठबाट राम्रो आम्दानी गर्न सकिने भए पनि विभिन्न समस्याले भेंडीगोठ राख्नै नसकिने अवस्था सिर्जना हुँदै गएको उनको भनाइ छ। पाँचथरमा मात्र होइन छिमेकी ताप्लेजुङ र इलाम जिल्लामा पनि भेंडीगोठ मासिएर जाने अवस्थामा पुगेको छ।

भेंडीगोठ संरक्षणका लागि के गर्न सकिन्छ भन्ने बिषयमा छलफल भइरहेको र आगामी दिनमा संरक्षणका कार्यक्रम ल्याइने फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्जकुमार केरुङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.