|

डोटी : ग्रामीण क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नुन सहजै पाइन थालेपछि प्रयोगकर्ता बढ्न थालेका छन्। ढिके नुनको प्रयोग गर्दै आएका यहाँका स्थानीयवासीहरु पछिल्लो समय आयोडिनयुक्त नुनको प्रयोगमा बानी पार्न थालेका छन् । 

सहजै सो नुन पाउन थालेपछि ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग घट्दै गएको जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका–५ का लालबहादुर कामीले बताए। उनले भने, ‘पहिला आयोडिन नुन आउँदैनथ्यो, अहिले सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि हामीले ढिके नुन खान छोडेका छौं ।’

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दिपायल शाखाले यहाँका स्थानीय तहसँग मिलेर गाउँगाउँमा आयोडिनयुक्त नुनको गोदामको व्यवस्था गरी नुन किन्न सहज र सजिलो बनाएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा प्रतिकिलो १६ रुपैयाँमै आयोडिनयुक्त नुन वितरण हुन थालेपछि जिल्लाका नौवटा स्थानीय तहका नागरिकलाई मागअनुसारको नुन प्राप्त गर्न सजिलो भएको छ ।

दिपायल पिपल्लामा मात्रै लिमिटेडले शाखा स्थापना गरी सो नुन वितरण गर्दै आएको थियो । विगतमा सो नुन लिनका लागि टाढा जानुपर्ने भएकाले पनि स्थानीयहरु ढिके नुन नै बढी प्रयोग गर्ने गरेको केआईसिंह गाउँपालिका–५ का चेतराज भट्टले जानकारी दिए। उनले भने, ‘नुन लिनका लागि घण्टौँ हिँडेर दिपायल पुग्नुपथ्र्यो, अहिले गाउँमै सुपथ मूल्यमा पाउन थालेपछि हामीलाई सजिलो भएको छ र आयोडिन नुन नै प्रयोग गर्दै आएका छौँ ।’

लिमिटेडले यहाँका गाउँघरमै शाखा कार्यालय स्थापना गरेपछि  आयोडिन नुन किन्नका लागि जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुरलगायतका बजारमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको केआईसिंह–७ सलेनाका स्थानीय तथा शिक्षक जगतबहादुर बलायरले बताए।

लिमिटेड दिपायलका अनुसार गाउँबस्तीमै सरकारी अनुदानको आयोडिन नुन वितरण हुन थालेपछि ढिके नुनको प्रयोग घट्दै गएको छ । आयोडिन नुन उपभोगले बालबालिकामा गलगाड आउने, लाटो लठेब्रो हुने जस्ता शारीरिक समस्यामा कम हुँदै गएको जोरायल गाउँपालिका स्वास्थ्य एकाइ कार्यालयका प्रमुख गोविन्दबहादुर विष्टले बताए।

उनले भने, ‘गाउँमा ढिके नुन विस्थापित गर्दै आयोडिनयुक्त नुनको प्रयोग बढेको छ, जस्ले गर्दा गलगाड आउने, लाटो लठेब्रो हुने जस्ता शारीरिक समस्यामा कमी आएको छ ।’

आयोडिनयुक्त नुनको प्रयोग गर्दा हुने फाइदाका विषयमा व्यापक रुपमा जिल्लाव्यापी जनचेतना फैलाउन सकिएमा यसको प्रयोगदर अझ बढ्ने डोटी प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। उनले भने, ‘आयोडिन नुनको प्रयोगले हुने फाइदाका बारेमा व्यापक रुपमा जनचेतना फैलाउन सके गाउँमा अलिकति बचेको ढिके नुन प्रयोग गर्ने चलनको अन्त हुनेछ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.