फिचर

शिर काटिएकी छिन्‍नमस्ता देवी

दशैँ र नयाँ वर्षमा विशेष मेला

फागुन ४, २०७६

    सप्तरी : नेपालमा रहेका विभिन्‍न देवी मन्दिरहरूभित्र देवीका मूर्तिहरू प्रतिस्थापना गरिएका छन्। सबै ठाउँका देवी मन्दिरहरूमा धूमधामका साथ पूजाआजा हुन्छ। तर, देवी मन्दिरहरूकै भिडमा पनि सप्तरीको छिन्नमस्ता गाउँपालिकामा रहेको छिन्नमस्ता देवीको मन्दिर भने अरूभन्दा फरक छ।

    छिन्नमस्ता मन्दिरमा राखिएको देवीको मूर्तिमा टाउको नै छैन। यही कारण टाउको नभएकी देवीका रूपमा छिन्नमस्ता मन्दिरले नेपाल मात्र नभएर भारतसम्‍मका धेरै धार्मिक पर्यटक तान्ने गरेको छ।

     किन छैन मूर्तिमा टाउको?

    भगवानका सबै मूर्तिहरूमा टाउको हुन्छ। तर, छिन्नमस्ता देवीको मूर्तिमा शरीर छ टाउको छैन। मन्दिरका पूजारी तेजप्रताप ठाकुरले किंवदन्तीमा रहेको कुरा बताएअनुसार, 'छिन्नमस्ता देवी निकै नै दयालु स्वभावकी थिइन्। उनका दुईजना साथीहरू जया र विजयासहित देवीलाई निकै भोक लागेको थियो।

    साथीहरूले भोक खप्न नसकेको बताएपछि दाहिने हातमा रहेको खड्गले आफ्नै घाँटी छिनाइन् र टाउको बायाँ हातमा राखिन्। घाँटीबाट आएका रगतका धाराहरूले तीनै जनाले आफ्नो भोक मेटाए।'

    मूर्तिमा चाँदीको टाउको

    पूजारी ठाकुरका अनुसार यही कारण नै छिन्नमस्ता देवीको मूर्तिमा टाउको छैन। अहिले मन्दिरभित्र रहेको मूर्तिमा चाँदीको टाउको त राखिएको छ तर त्यो मूर्तिभन्दा बाहिरबाट राखिएको छ। ‘देवीको वास्तविक मूर्तिमा टाउको छैन।

    यो बाहिरबाट देखिएको चाँदीको मुकुट हो।’ उनले भने, ‘एउटा वर्तवाल वंशमा एकजना पनि छोराको जन्म भएको थिएन। यही कारण त्यही वंशकी महिला आएर छोरा पाऊँ भनेर वर मागिन् त्यो पूरा भयो।  उहाँ खुसी भएर देवीलाई चाँदीको मुकुट पहिर्‍याइदिनुभयो।’

    देवीको टाउको पोखरीभित्र!

    छिन्नमस्ता देवीको मन्दिरको छेवैमा ठूलो, सुन्दर र आकर्षक पोखरी छ। केही वर्ष पहिलेसम्म त्यो पोखरी निकै सानो भएका कारण त्यसको महत्त्व बाहिर आएको थिएन। तर, पोखरीको अस्तित्व किंवदन्तीसँग जोडिएका कारण पोखरीलाई थप विस्तार गरियो।

    छिन्नमस्ता देवीको काटिएको टाउको सोही पोखरीभित्र रहेको किंवदन्ती रही आएको मन्दिरका अर्को पूजारी नारायण ठाकुरले बताए। मूर्तिमा टाउको नहुनुको कारण भोक मेटाउन शिर छेदन गरिएको मात्रै होइन अर्को पनि किंवदन्ती अस्तित्वमा छ।



    सम्राट्का सेनाले काटे टाउको

    टाउको पोखरीभित्रै कसरी रह्यो? भन्नेबारे उनले यसरी बेलिबिस्तार लगाए, ‘राजा सखडदेवको पालामा पोखरी सानो थियो। बूढापाकाका अनुसार मुगल सम्राट् आफ्ना सेनाहरू लगाएर हिन्दू देवीदेवताका मूर्तिहरू तोडफोड गर्न लगाएका थिए।

    त्यो बेलामा छिन्नमस्ता माताको मूर्तिमाथि पनि आक्रमण गरे। देवीको शरीरको भाग यहीँ रह्यो तर टाउको त्यही पोखरीमा पुग्यो।’ यही कारण नै छिन्नमस्तादेवीमाथि विश्वास गर्नेहरूले देवीको टाउको पोखरीमा रहेको विश्वास गर्दै आएका छन्।

    यसरी सुरु भयो देवीको पूजा

    छिन्नमस्ता देवीको मूर्तिमा टाउको नहुनुमा मुगल सम्राट्को आक्रमण हो भन्ने अर्को किंवदन्ती पनि प्रसिद्ध छ। मुगल सम्राट्को पालामा छिन्नमस्ता देवीको उत्पन्न भयो। सखडदेव सिंह नाम गरेका राजा पारिवारिक जञ्‍जिरबाट मुक्त हुन भन्दै दुई छोरालाई राजगद्दी सुम्पिएर हिँडे।

    सप्तरीको कुनै जंगलमा आइपुगेर थकाई मार्दा निदाए। उनले सपना देखे र त्यो सपनामा छिन्नमस्ता माताले ‘तिम्रो हातमा रहेको त्रिशूल जहाँ नेर खस्छ तिमी त्यहीँ नै शासन गरेर बस’ भन्ने उपदेश दिइन्।

    अहिले मन्दिर रहकै ठाउँमा राजाको त्रिशूल झरेकाले उनले त्यहीँ नै बसेर शासन गर्न थाले, दरबार बनाए। त्यही बेलाबाट नै छिन्नमस्ता देवीको अस्तित्व सुरु भएको हो।

    अहिले विजयादशमी, चैतेदशैँ, नेपाली नयाँ वर्ष र अंग्रेजी नयाँ वर्षमा भक्तजनहरूको सबैभन्दा बढी भिड लाग्ने गरेको छ। पुजारी तेजप्रतापका अनुसार मिथिलाञ्चलमा पुस महिनामा कम पूजा हुन्छ।

    देवीसँग मागे सन्तान पाइन्छ विश्‍वास

    सन्तान नभएका तथा छोरी वा छोरीको चाहना हुनेहरूले देवीसँग वर माग्ने हो भने त्यो पूरा हुन्छ भन्ने विश्वास रही आएका कारण पनि छिन्नमस्ता मन्दिरमा सन्तानको माग गर्दै जानेहरूको सङ्ख्या उत्तिकै रहने गरेको मन्दिरका अर्का पूजारी जगन्नाथ ठाकुर बताउँछन्।

    उनले सन्तान पाउने विधि यसरी सुनाए, ‘महिलाहरूले सन्तान नपाए यहाँ आएर आफ्नो केश खोलेर, साडी वा कुर्थाको आँचड पसारेर माता मलाई छोरा वा छोरी चाहियो भनेर उहाँको अगाडि उभिनुपर्छ। माताले फूल दिनुहुन्छ, त्यो फूललाई हामीले विधिवत रूपमा पूजा गरेर जन्तरमा राखेर दिन्छौँ। ती महिलाले त्यो जन्तर लगाइरहनुपर्छ।’

    कुनै दिन टुट्दैन बलि

    पूजारी तेजप्रतापका अनुसार मन्दिरको निर्माण भएपछि अहिलेसम्म एकदिन पनि बलिपूजा रोकिएको छैन। देवी आफैँले रगत पिएर र अरूलाई पनि पिलाएर भोक मेटाएका कारण एकदिन मात्रै पनि बलि रोकिए देवी भोको रहन्छिन् भन्ने मान्यता छ। हरेक दिनजसो भक्तजनहरूले बलि दिनका लागि बोकाहरू लिएर जाने गरेको र द्वन्द्वकालमा भएका बन्द आह्वानमा समेत बलि नरोकिएको उनले बताए।

    बन्दले रोकेन बलिपूजा

    १५ वर्ष अगाडिको घटना पूजारी ठाकुरले यसरी सम्झिए, ‘माओवादीको कडा बन्द थियो, सवारीहरू ठप्प थिए। आकाशमा चरा त उड्न नपाउने बन्द थियो तल को हिँड्नु? तर, बन्दको ख्यालै नगरी एकजना धरानबाट कारमा बोका हालेर हिँड्नुभएछ।

    त्यस्तो बन्दमा गाडी चलाउँदा पुलिस पनि दंग पर्दै कहाँ हिँडेको भनी सोध्दा यही मन्दिरमा आउने बताएपछि माताको कृपाले होला प्रहरीले नै स्कर्टिङ गरेर त्यो कारलाई यहाँ ल्याएर बलिपूजा गराएर स्कर्टिङ नै गरेर लग्नुभयो। त्यो दिनमा उहाँ नआएको भए बलिपूजा के हुन्थ्यो होला? तर, देवीले बन्दलाई पनि टेर्नुभएन।’ यदि बलिपूजाका लागि भक्तजन नआएमा मन्दिर व्यवस्थापन समिति वा पूजारीले नै बलि दिने गरेको उनले बताए।

    पोखरीको पानीमा कसरी बिलाउँछ बलिको रगत?

    विजयादशमी र चैतेदशैँमा हजारौँ बोकाहरूको बलि मन्दिरमा दिइने गरेको त्यो रगत सबै पोखरीमा जाने गरेको भए पनि पोखरीको पानी भने रातो नदेखिने पूजारीहरू बताउँछन्।

    बलि दिने ठाउँबाट बगेको रगत सिधै पोखरीमा मिसाइएको भए पनि पोखरीमा रगत नदेखिनुले पोखरीभित्र रहेको देवीको टाउकोले त्यो रगत सबै खाने गरेको विश्वास रहेको उनीहरूको भनाइ छ। ‘यति धेरै बलिको रगत सबै पोखरीमा नै जान्छ।’ पूजारी तेजप्रताप भन्छन्, ‘तर तपाईँ पोखरीमा रगत देख्‍न पाउनुहुने छैन किनकि सबै रगत माताले पिउनुहुन्छ, उहाँको टाउको पोखरीमै छ।’

    भारतदेखि भक्तजन, अमेरिकादेखि पर्यटक

    छिन्नमस्ता मन्दिरमा पूजाआजाका लागि जानेहरूको भिड सप्तरी वा पूर्वाञ्चलको मात्रै छैन। भारतको पश्चिम बंगालसम्मका भक्तजनहरू मन्दिरमा निरन्तर आउने गरेको पूजारीहरूको भनाइ छ।

    रङरोगनले चिटिक्क परेको र निकै सफा रहेको मन्दिर हेर्दा स्वर्गको मन्दिर जस्तै लाग्छ। छेवैमा रहेको आकर्षक पोखरीको दृश्यले भक्तजनहरू बाहेक दृश्यावलोकन गर्नेहरूलाई पनि तानिरहेको छ। पूजारी नारायण ठाकुरका अनुसार मन्दिर हिन्दू धर्मावलम्बीहरूको भएको भए पनि अन्य धर्म मान्नेहरू समेत सुन्दरताको आनन्द लिनका लागि आउने गरेका छन्।

    ‘अमेरिका तिरका मान्छेहरू नै त होलान् कपाल, आँखा, अनुहार सबै सेतै भएकाहरू पनि यहाँ आउँछन्।’ उनले भने, ‘उनीहरू धेरैको संख्‍यामा आउँछन्, पूजा गर्छन् अनि फोटो खिच्दै पोखरीको छेउमा बसेर आनन्द लिन्छन्।’

    ठाकुर वंशका मात्र पूजारी

    छिन्नमस्ता मन्दिरमा पूजाआजा गर्ने गराउने पूजारीहरू वंशाणुगत रूपमा हुने गरेका छन्। बाबुको पालापछि छोराले पूजा गर्ने चलन रहेका कारण अहिलेसम्म ठाकुर वंशका सदस्यहरूले नै पूजा गरिरहेको पूजारीहरूले बताए।

    मन्दिरमा एकजना मुख्य पूजारी र अन्य सहायक पूजारीको रूपमा रहने व्यवस्था छ। स्व. भोलानाथ ठाकुरबाट पूजाआजा प्रारम्भ भएपछि स्व. अचक ठाकुर, गिरिजानन्द ठाकुर र स्व. जगदीश ठाकुर पूजारीका रूपमा रहे। अहिले जगन्नाथ ठाकुर, नारायण ठाकुर र तेजप्रताप ठाकुरले पूजारीका रूपमा काम गरिरहेका छन्।

    (सप्तरी जिल्लाको भ्रमणबाट फर्केपछि)

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]