निर्माताबाट निर्देशक बन्दा...

|

काठमाडौं : नेपाली चलचित्रका सफल निर्माता हुन् सन्तोष सेन। प्रेम गीत सिरिजका निर्माता अहिले प्रेम गीत-३ सम्म आइपुग्दा निर्देशक बनेका छन्। सेनले चलचित्रमा लाग्छु भन्‍ने कहिल्यै सोचेका थिएनन्। 

कतिपय कुराहरु काम गर्दै जाँदा संयोगकमा रुपमा जुर्दै जाने रहेछन्। यो चलचित्रबाटै उनले निर्देशनमा डेब्यु गर्दै छन्। चलचित्र निर्देशन गर्न उनी जति उत्साहित छन्। उस्तै चुनौती पनि रहेको बताउँछन्। 

निर्देशनमा उनको काम कस्तो होला, हलसम्म पुगेपछि थाहा हुनेछ। 'चलचित्र निर्माण गर्न आएको थिएँ', उनी भन्छन्, 'कामले काम सिकायो। निर्देशन पनि गर्दै छु।' चलचित्रलाई आवश्यक पर्ने कुनै कुराको कमी हुन नदिएको उनी बताउँछन्। 'यस्तो चलचित्र फेरि बनाउन सक्छु कि सक्दिन मलाई थाहा छैन', उनले भने, 'तर यो चलचित्र हेरेर हाम्रा पुस्ताले गर्व गर्न सक्छन्।'

सेट बनाउनै तीन महिना

राजु पेण्टरले जिम्मा लिएको यो चलचित्रको सेट निर्माणमै तीन महिना लाग्यो। सेट निर्माण सजिलो होला भन्‍ने सोचेका थिए उनले। यसभन्दा अघि सेट निर्माण गरेको अनुभव थियो तर यो चलचित्रको सेट बनाउँदा उनले अनेक कठिनाइ भोगे। 

परापूर्वकालमा मनाङको दरबारलाई दृश्यमा उतार्न कुनै कसुर बाँकी नराखेको उनी बताउँछन्। 'सुरूमा फ्लेक्सबाट प्रिण्ट गरेर हेरेका थियौं। प्लाई पनि प्रयोग गरेँ। तर त्यसले आकर्षक चित्र आउन सकेन', उनले सुनाए, 'अन्त्यमा ह्वाइट सिमेन्ट प्रयोग गर्‍यौ। सिलिकन र जुटको बोराबाट सेट बनाइयो। ४ हजार बोरा ह्वाइट सिमेण्टले सेट बनाएका थियौँ।'

सेटमा आगोको प्रयोग

सेटमा चाहिने ब्याकड्रफ्टमा आगोका दृश्य थिए। सुरुमा तेलबाट आगो निकालिएको थियो। कालो धुवाँले सेट बिगार्न थाल्यो। धुवाँमा काम नहुने देखेर आगो बाल्न बिजुलीको विकल्प पनि खोजियो। तर बिजुलीले कथालाई न्याय गर्न नसक्ने भएपछि निर्माण टिमले मैन र कपासको प्रयोग गर्‍यो। यसले बल्ल कथालाई न्याय गर्‍यो। सेन भन्छन्, 'मैनको डिलरबाट यति धेरै मैन किनिएछ, डिलरवालासमेत सेट हेर्न आएका थिए।'  

हरेक दिन १२ घण्टाको सुटिङमा १ सय केजीको दरले मैन र कपास प्रयोग गरिएको थियो। कपास डिलरले एक दिन भनेछन्, 'मेरोबाट ठूला अस्पतालमा कपास माग हुन्छ। तर तपाईंले यति धेरै लगिदिएपछि चकित परेँ।' सुटिङका लागि सेटमा २५ सय केजी मैन प्रयोग भएको थियो। 

यात्रा मनाङ

काठमाडौंको कीर्तिपुरमा चलचित्रको टिमले इन्डोरको काम सकेपछि टोली अर्को सिन सुटिङका मनाङ गएको थियो। मनाङको ढिकुरपोखरीदेखि टेकी गाउँबीचका ७ गाउँको कथा यो चलचित्रले बोकेको छ।

बिहानदेखि बेलुका १० बजेसम्म सुटिङ चलिरह्‍‍यो। बीचमा हिउँ पर्‍यो। चिसोमा पनि कलाकारहरूले दिएको साथले सन्तुष्ट भएको भन्दै सेनले खुशी पोखे। चलचित्रको टोली बसेको होटलबाट बिहान १ घण्टा पैदल हिँडेर सुटिङमा जानु पर्थ्यो। सुटिङबाट बेलुका लखतरान परेर फर्कनु कलाकारहरुको दैनिकी थियो।

'चलचित्र त मैले बनाएको हुँ। तर यो मेरो मात्रै चलचित्र होइन। कलाकारहरूले धेरै साथ र सहयोग गर्नुभएको छ', उनले भने, 'चलचलित्रको सुटिङ सफल हुनु नै साथीहरूको सहयोगको प्रतिफल हो', उनी भन्छन्। लगभग ५० दिन मनाङको सुटिङ सकेर केही दिनअघि मात्रै निर्माण टोली काठमाडौं आइपुगेको छ। 

दु:ख सुनाएर दर्शकलाई बोझ नथपौँ

अचेल हलसम्म दर्शकलाई तान्‍न कलकारहरू आफ्ना आँसु देखाउँछन्। फिल्म बनाउँदा पाएको दु:ख र पात्रलाई जीवन्त बनाउन पार्न फेरिएको जीवनशैलीबारे बखान गर्छन्। कतिपयले यसलाई फिल्म चलाउने अस्त्र बनाउने गरेका छन्। तर सेन भने यो कुरामा आफूलाई कुनै चासो नभएको बताउँछन्।

फिल्म बनाउन गरेको मिहिनेत, घुमेका ठाउँ र र दु:ख पाएँ भनेकै भरमा दर्शकलाई बाध्य पार्नु हुँदैन भन्‍ने ठान्छन् उनी।  'मैले बनाएको फिल्म कस्तो छ? राम्रो लाग्छ भने मात्रै आउनुहोला', उनले भने, 'म दर्शकलाई मेरा दु:ख सुनाएर हलसम्म डोर्‍याउन बाध्य पार्दिनँ। यदि कथाले तपाईंहरूको मन तान्छ भने मात्रै आउनुहोला। दु:ख सुनाएर दर्शकलाई बोझ थप्न चाहन्‍न।'

चलचित्रमा १ हजार भन्दा धेरैले काम गरे

८० दिनमा सुटिङ चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठलगायतको अभिनय छ। तर पर्दा भित्र र पर्दा बाहिर चलचित्र काम गर्नेहरुको संख्या १ हजार भन्दा बढी रहेको सेनले बताए। 'कोही पर्दामा देखिनुहोला। कोही पर्दा पछाडि हुनुहोला। तर सबै जना चलचीत्र निर्माण गर्न सहयोग गर्ने हातहरु छन्', उनले भने, 'चलचित्रको अंशमा उहाँहरुको भूमिका अहम छ।'

निर्माताबाट निर्देशकमा पुग्दा

यो चलचित्रमा सेन र अर्का निर्देशक छेदेन गुरुङको निर्देशन छ। निर्माता बन्‍नु भनेको चलचित्र निर्माणमा लाग्‍ने लागतको पूर्ण हिस्सेदार मात्र हो। यसअघि निर्देशन भनेको एक्सन कट भन्‍नु मात्र निर्देशक हुनु हो भन्‍ने लाग्थ्यो उनलाई। दृश्यलाई आकर्षक बनाउने काम मात्रै निर्देशकको होला भन्‍ने सोच्थे उनी। 'निर्देशक हुनु भनेको अभिनय सिक्नु पनि हो। फरक फरक क्षमता भएका व्यक्तिलाई एकीकृत गरेर सुन्दर काम निकाल्न सक्ने खुबी हो। सबैभन्दा ठूलो कुरा त निर्देशक हुनु भनेको अभिभावक हुनु रहेछ', उनले भने।

हामीले बजार खोज्‍नुपर्छ

नेपाली चलचित्रको बजार सानो छ । हरेक वर्ष सय भन्दा धेरै चलचित्र बन्छन्। केही दिन हलमा आउँछन्, हराउँछन्। यसका आफ्नै कारण छन्। वर्षेनि बढ्दै गएको चलचित्र निर्माण र यसको विस्तारबीच तारताम्य मिलेको पाइँदैन। नेपाली चलचित्र विदेशी बजारसम्म पुग्‍नेको संख्या ज्यादै न्यून छ।

बजार सानो छ भन्दैमा चलचित्र कमसल बनाउन थालियो भने विस्तारै बचेको बजार पनि विस्थापित हुने अवस्था आउन सक्ने सेन बताउँछन्। 'हामीले चलचित्र निर्माणमा जोखिम पनि उठाउनुपर्छ। हामीले आफ्नो बजार आफैले निर्माण गर्ने हो', उनले भने, 'जोखिम लिन नसक्ने अनि बजार सानो भयो भनेर रुनुकराउनु समाधान होइन। चलचलित्रलाई ठट्टाका रुपमा लिनु हुँदैन। हामी चलचित्रको लगानी र कथामा नखुम्चौं।'

नेपाली चलचित्रमा कृष्टिनाको प्रवेश

यसअघि थुप्रै नायक र नायिकासँग काम गरिसकेका सेनले अहिले नवनायिकाको रुपमा क्रिष्टिना गुरुङलाई प्रवेश गराएका छन्। यसअघिका नायिकाहरूले पनि आफ्नो काममा इमान्दार भएर काम गरेको अनुभव आफूसँग रहेको बताउँछन उनी।

'क्रिस्टिना अनुशासनमा बसेर काम गर्ने नायिकाको रुपमा मैले पाएँ। चलचलित्रको विषयवस्तुको चाहिने पात्रको रुपमा उनले एकदमै राम्रो काम गरिन्। उनको विकल्पमा उनी मात्र हुन्,' उनी थप्छन्, 'नेपाली चलचित्र क्षेत्रको लागि नयाँ कलाकार जन्मेको छ। क्षमताको हिसाबले उनी नायिकाको रुपमा स्थापित हुन्छिन्। यो मेरो दाबी हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.