|

जनकपुरधाम : प्रदेश २ को नामकरणको विषयमा सत्तापक्ष र प्रतिपक्षी दलबीच अझै सहमति हुन सकेका छैन। यद्यपि सत्तारुढ दलका नेताहरू नामकरणको विषयमा प्रतिपक्ष सहमतिनजिक पुगेको दावी गरेको हो।

प्रदेशको राजधानी र नामकरणको विषयमा सहमति जुटाउन सभामुख सरोजकुमार यादबको संयोजकत्वमा विशेष समिति बनेको छ। उक्त समितिको आइतबारको बैठकमा सत्तापक्ष राजपा र समाजवादी पार्टीले प्रदेशको नाम ‘मधेस प्रदेश’ राख्न प्रतिपक्ष नेपाली कांग्रेस र नेकपाका संसदीय दलका नेतासँग कन्भिन्स गरे। तर उनीहरू आफ्नो अडान नत्यागेको बैठकमा सहभागी एक सांसदले बताए।

नेपाली कांग्रेसले मिथिला प्रदेश र नेकपाले जानकी प्रदेश नामकरण गर्नुपर्ने प्रस्ताव प्रदेशसभामा गरेका थिए। तर बैठकमा प्रदेशको नाम जुराउन कांग्रेस र नेकपाले लचकता अपनाएको छ। कांग्रेसले सत्तापक्षले राख्न चाहेको ‘मधेस प्रदेश’ नामको अगाडि मिथिला थप्न र नेकपाले अगाडि जानकी थपेर सहमति गर्न सकिने बताए।

प्रदेशसभामा भने सत्तारुढ राजपा-समाजवादी पार्टीले ‘मधेस प्रदेश’, कांग्रेसले मिथिला-भोजपुरा प्रदेश, नेकपाले जानकी प्रदेश र केही सांसदले ‘मध्य मधेस’ राख्न प्रस्ताव दर्ता गराएका छन्।

मुख्यमन्त्री लालबाबु राउतले नाम टुंग्याउन नसकिए पनि दलहरू सहमतिनजिक पुगेको दावी गरे। समाजवादी पार्टीका संसदीय दलका नेता समेत रहेका उनले बैठकपछि प्रतिक्रिया दिँदै भने, ‘मुलुकमा संघीयता स्थापना गराउने मधेस आन्दोलनको सम्मानका लागि भए पनि मधेस प्रदेश हुनुपर्छ। यसमा प्रतिपक्षी दल पनि सहमत हुन्छ भन्ने विश्वास छ।’

यता राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले नेकपा र नेपाली कांग्रेस समेत मधेसलाई स्वीकार्य गरेको दावी गरे। उनले समितिको आगामी बैठकले नामकरण टुंगो लाग्ने विश्वास व्यक्त गरे।

प्रमुख प्रतिपक्षी नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले ‘जानकी मधेस’ को प्रस्ताव अघि सारेको बताए। उनले भने, ‘नामकरणमा धेरै विवाद गर्नु हुँदैन। त्यसैले हामी लचकता अपनायौं। सत्ता पक्षलाई समेत लचिलो हुन मेरो आग्रह छ।’

कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले भने प्रदेशको नाम ‘मिथिला मधेस’ राख्नुपर्ने जिकिर गरे। ‘प्रदेशको नाम मिथिला भोजपुरा राख्ने सोच थियो’, उनले भने, ‘तर सहमति बनोस् भनेर सत्तापक्षले राखेको प्रस्तावित नामको अगाडि मिथिला थप्दा सहमति बन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.