शरीरमा तार र ब्याट्री जडान गरेर भए पनि जनताका सपना पूरा गर्ने प्रतिबद्धता

|

दमक : प्रधानमन्त्री केपी शर्मा ओलीले कोही नागरिक सुकुम्बासी भए सरकारले जग्गा दिने तर सरकारी जमिन हडप्न नदिने बताएका छन्। सरकारी तथा सार्वजनिक जमिन व्यक्तिको नाममा पार्ने प्रवृतिविरुद्ध पहिलोपटक सरकारले कदम चालेको भन्दै उनले यसमा संलग्न कसैले पनि छुट नपाउने बताएका हुन्।

आइतबार झापाको दमकदेखि पाँचथरको रवी जोड्ने दमक चिसोपानी रवि सडक कालोपत्रे शिलन्यासपछि आयोजित सभामा उनले यसअघि कुनै पनि सरकारले सरकारी तथा सार्वजनिक जमिन अतिक्रमण गर्नेविरुद्ध कार्वाही गर्न नसकेको र पहिलोपटक आफ्नो सरकारले काम थालेको दावी गरे। सो क्रममा उनले आफ्नो सरकारले गरेका कामका केही उदाहरण दिँदै विस्तृत विवरण संसद्‍मार्फत सार्वजनिक भइसकेको पनि बताए।

संवोधनका क्रममा ओलीले विकास र समृद्धि नचाहने शक्तिले सरकारलाई चारैतिरबाट कमजोर बनाउन षड्यन्त्र गरि रहेको भन्दै त्यस्ता चलखेलविरुद्ध वर्तमान सरकार निर्धक्कका साथ जुधिरहेको दावी गरे। कार्यक्रममा उनले भने, ‘चिच्याउनेहरू, कराउनेहरू मनपरी बोल्न पाउनु पर्‍यो भनिरहेका छन्। तर, सरकार त्यसो गर्न दिँदैन किन भने सरकार समृद्ध र अनुशासित लोकतन्त्रका पक्षमा छ, छाडातन्त्रका पक्षमा होइन।’

ओलीले सम्झिए भुटानी शरणार्थी

भुटानी शरणार्थी शिविरनजिकै दमक २ मा भएको सभामा ओलीले भुटानी शरणार्थीको पनि सम्झना गरे। उनले भुटानबाट लखेटिएर करिव तीन दशकअघि नेपाल आएको क्षणदेखि नै आफूले शरणार्थीको जीवनलाई नियालेको भन्दै आफ्नै पहलमा तेश्रो देश पुनस्र्थापना प्रक्रिया थालेको पनि बताए।

तेश्रो देश पुनस्र्थापना प्रकृयालाई कतिपयले आलोचना गरे पनि आफुले अमेरीकामा नेपालबाट पुनस्र्थापित भएर पुगेको शरणार्थीलाई भेटेको र त्यहाँ उनीहरू सुखी र खुसी पाएको पनि बताए। भुटानले आफ्ना नागरिक खेदेको र स्वदेश फर्काउन नचाहेकाले तेश्रो देशको पुस्र्थापनाको प्रकृया अघि सारिएको उनको भनाइ थियो।

व्याट्री जोडेर पनि काम गर्ने दृढता

आफ्नो संवोधनका क्रममा केहीबेर प्रधानमन्त्री ओली भावुक पनि बने। आफ्नो स्वास्थ्य अवस्थाबारे बोल्ने क्रममा आफू पटकपटक शरीर चिरेर पनि बाँचेको बताए। चार पटकसम्म आफ्नो शरीर चिरेको, मिर्गौला फेरेको लगायतका कारण आफूलाई रोगले च्यापे पनि आफू नथाक्ने र बरु शरीरभित्रै तार र व्याट्री जडान गरेर भए पनि जनताका सपना पूरा गर्ने उनले बताए।

पञ्चायत, तानाशाहा, राजतन्त्रलगायतका शक्तिसँगै अनेक रोगसँग समेत एकसाथ लड्दै आए पनि आफू नथाकेको र लड्नु पर्ने क्रम अझै नरोकिएको उनको भनाइ थियो। केही शक्तिले फर्कीफर्की झम्टन खोजे पनि अब सफल हुन नदिने उनले दावी गरे।

पहाड र तराई नजिकियो

कार्यक्रममा संविधानसभाका अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले दमक चिसोपानी-रवी कालोपत्रे निर्माणले पहाड र तराईलाई नजिक पार्ने बताए। सडक निर्माणपछि पहाडका नागरिकले आर्थिक विकास र समृद्धिको अनूभूतिसमेत गर्न पाउने भन्दै उनले अब देशले विकासको फड्को मार्दे गएको बताए।

शिलान्यास समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्बाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईलगायतले समेत सडकको महत्वका बारेमा बोलेका थिए।

सडक तीन ओटा प्याकेजमा निर्माण हुने र ३ वर्षमा पूरा हुने मन्त्रालयका सचिव कार्कीले बताए। सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले दमक नगरपालिकाद्धारा निर्माण भएको दमक १ स्थित एकीकृत नमुना वस्तीको साँचो मनमायाँ भुजेललाई हस्तान्तरण गरी वस्ती उद्घाटनको घोषणा गरे।

नमुना वस्तीमा दमक नगरपालिका, प्रदेश र केन्द्र सरकारको करिव रु ४ करोड लगानीमा २३ वटा घर निर्माण भएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले जनाएका छन्। ओलीले आइतबार नै दमकको कृष्णमन्दिरदेखि बेलडाँगी जोड्ने कालोपत्रे सडक र दमक र मोरङको मिक्लाजुङ्ग जोड्ने मावाँ खोलाको पुलको उद्घाटन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.