|

भक्तपुर : कमलविनायकस्थित लामगाल चौरमा आयोजित तीन दिने पुस्तक प्रदर्शनी आइतबार सकिएको छ। आरम्भ नेपालले आयोजना भएको प्रदर्शनीको तीन दिनको अवधिमा ५० हजारभन्दा बढी दर्शकले अवलोकन गरेको र करिब पाँच लाख रुपैयाँ बराबरको पुस्तक बिक्री भएको आयोजकले जनाएको छ।

स्थानीय युवाहरुलाई स्थानीय स्रोत साधन प्रयोग गरी विभिन्न सीपमुलक तालिमहरु सञ्चालन गर्ने शिक्षा, स्वास्थ्य, संस्कृति र पर्यटनसंग सम्बन्धित विभिन्न कार्यक्रमहरु गरी सामाजिक  विकासमा टेवा पु¥याउने उद्देश्यले स्थापना गरिएको संस्थाले गरेको पुस्तक प्रदर्शनी सफलताका साथ सम्पन्न भएको प्रदर्शनीका सहसंयोजक दिनेश प्रधानले बताए।

आयोजक आरम्भ नेपालका अध्यक्ष बालकृष्ण बनमालाले आगामी दिनमा पनि पुस्तक प्रदर्शनीलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे। ‘अध्ययन गर्ने बानीले हामीभित्र असल मानवको गुण जन्माउँछ । यही कुरालाई  मनन् गर्दै भक्तपुर जिल्ला र वरिपरिका जिल्लाहरुमा बसोबास गर्ने नागरिकहरुमा असल अध्ययनको बानी र पुस्तक संस्कृतिको उत्थान गर्ने उद्देश्यले पुस्तक प्रदर्शनीको आयोजना गरेका हौं,’ उनले भने। 

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले शुक्रबार उद्घाटन गरेको पुस्तक प्रदर्शनीमा कला, संस्कृति, इतिहास, साहित्य, चिकित्सा, पकवान, दर्शन आदि सम्पूर्ण विषयका किताबहरु राखिएका थिए।

तीन दिनसम्म चलेको पुस्तक प्रदर्शनीमा फोटो प्रदर्शनी, नेवारी परिकारका खानाहरुको स्टल, भक्तपुरको कला संस्कृतिसंग सम्बन्धित चित्रकला÷मुर्तिकला प्रदर्शनी, नवदुर्गा जात्रासङ्ग सम्बन्धित मुकुन्डो प्रदर्शनी समेत गरिएको थियो। साथै, कथा वाचन, गजल तथा कविता वाचन, भक्तपुर महोत्सव र पर्यटनबारे अन्तरक्रिया, बाल कविता प्रतियोगिता समेत आयोजना गरिएको थियो।

बाल कवितामा आयुष नेपाल प्रथम

यसैबीच पुस्तक प्रदर्शनीकै अवसरमा आयोजित बाल कविता वाचन प्रतियोगितामा आयुष नेपाल प्रथम भएका छन्। प्रतियोगितामा सृष्टि वन द्वितीय, साजन श्रेष्ठ तृतीय र अञ्जना आचार्यले सान्त्वना स्थान हासिल गरे। 

प्रतियोगी विद्यार्थीहरुले वाचन गरेका कविताको मूल्यांकन कवि दामोदर सुवाल, नेपाल भाषा साहित्य तः मुंज्याका संस्थापक अध्यक्ष कान्छा बासुकला र स्रष्टा एवम् पत्रकार हरिसुन्दर छुकांले गरेका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.