'१३४ दिन हिरासत र जेल बस्दा राम्रो व्यवहार भयो'

|

काठमाडौं : संसद सचिवालयकै महिला कर्मचारीमाथि करणी उद्योगको मुद्दामा सफाइ पाएपछि पूर्वसभामुख कृष्णबहादुर महराले मुख खोलेका छन्। 

डिल्ली बजार कारागारमा १०३ दिनसम्म बसेर रिहा भएपछि दाङ क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यको हैसियतमा सोमबार साँझ प्रेस वक्त्ब्य निकाल्दै उनले आफूमाथि तथाकथित आरोप लागेको बताएका छन्। 

महराले प्रहरी हिरासतमा ३० दिन र डिल्ली बजार कारागारमा १०३ दिनसम्म बसेर तथाकथित आरोप खेपेको उल्लेख गरेका छन्। 'म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु', उनले भनेका छन्, 'यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तक, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु।'

महराले अब एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनता रक्षाका लागि लड्ने उल्लेख गरेका छन्। 'एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो', उनले भनेका छन्, 'अहिले पनि छ र सदैव रहिरहनेछ। नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ।'

उनलले आफूमाथि लगाइएको आरोप काठमाडौं जिल्ला अदालतले गलत सावित गरिदिएको बताएका छन्। 'अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ', उनले भनेका छन्, 'सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ। म सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु।'

आफूमाथि आइपरेको गम्भीर आरोपका समसयमा साथ सहयोग दिनेलाई पनि उनले सम्झिएका छन्। 'मेरो पक्षमा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु', उनले भनेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.