|

भद्रपुर (झापा) : नेपालबाट भारत लैजान लागेको ठूलो परिणामको चाँदी र तामाका भाँडाकुँडासहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार सोमबार मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित मेचीखोला नजिकैबाट करिब १० लाख रुपैयाँ बराबरको चाँदी र तामाका भाडाँकुडा बरामद गरिएको छ। उक्त सामग्रीसहित काठमाडौं महानगरपालिका–६ का ३४ वर्षीय अजित नगरकोटी र ३८ वर्षीय श्याम सुनुवार पक्राउ परेका छन्।

उनीहरुले झोलामा चाँदीका कुङ्गा पाँच थान, तिङ्ग ठूलो ६२ थान, स्टेनवाला तिङ्ग २६ थान, सानो तिङ्ग २१ थान, सेरगेम चार थान र फेकुम चार थान गरी जम्मा १४ किलो र तामाको विभिन्न प्रकारको भाँडाकुँडा २१ किलो गरी नौ लाख ९८ हजार २०० रुपैयाँको सामान रहेको प्रहरीले जनाएको छ।

‘उनीहरू चाँदी र तामाका भाँडाकुँडा भारतको सिलुगढी पठाउन काठमाडौंबाट झापा आएका हुन्,’ प्रहरी नायब उपरीक्षक पोखरेलले भने,  ‘काठमाडौंबाटै बिल काटेर ल्याएको छ, सिलगुढीका मान्छे काँकडभिट्टा लिन आउन उनीहरूले बयान दिएका छन्।’ 

बरामद गरिएको चाँदी र तामाका भाँडाकुँडासहित दुवै जनालाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइदिएको प्रहरीले जनाएको छ। 

त्यसैगरी इलाका प्रहरी कार्यालयले  मेचीनगर–६ स्थित विभिन्न स्थानबाट भन्सार छलेर भारतबाट नेपाल तथा नेपालबाट भारततर्फ पठाउँदै गरेको सुपारी मोटर, लत्ताकपडा बरामद गरेको छ। बरामद सामान चार लाख ९२ हजार रुपैयाँको रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.